२०८३, आषाढ १८ गते

Jul 02 2026 | २०८३, आषाढ १८ गते

सूचना प्रविधिका क्षेत्रमा लगानी गर्न अमेरिकी व्यवसायीलाई अर्थमन्त्री पौडेलको आग्रह

शुक्रवार , कार्तिक ९, २०८१

  • 664
    Shares
  • 664
    Shares
  • अमेरिका, ९ कार्तिक । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नेपालको सूचना प्रविधि उद्योगमा लगानी गर्न अमेरिका चेम्बर अफ कमर्सका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । विश्व बैंक समूह र अन्तर्राष्ट्रय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुने क्रममा हाल संयुक्त राज्य अमेरिकाको वासिङटन डिसीमा रहेका अर्थमन्त्री पौडेलले कमर्सका प्रतिनिधिहरुसँग भएको राउण्डटेवल बैठकमा उक्त आग्रह गरेका हुन् ।

    नेपालमा अन्य मुलुकको तुलनामा लगानीकर्ताको लागि सस्तो र गुणस्तरीय सूचना प्रविधि सम्वद्ध जनशक्ति उपलब्ध रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले कानूनी र प्रक्रियागत सुधार गरी लगानीको वातावरण तयार गरिएकाले सोको लाभ उठाउन अमेरिकी व्यवसायीलाई आग्रह गरे ।

    सूचना प्रवधिको क्षेत्रमा एक डलरमै कम्पनी स्थापना गर्न सक्ने र पाँच वर्षसम्म आयकरमा ५० प्रतिशत छुट दिने सरकारको नीतिबारे जानकारी दिदै अर्थमन्त्री पौडेलले नेपालको सूचना प्रविधि उद्योगमा लगानी बढाउन आग्रह गरे ।

    कार्यक्रममा युएस चेम्बर अफ कमर्स दक्षिण एसिया उपक्षेत्रका वरिष्ठ उपाध्यक्ष अतुल केशपले दर्जनौ अमेरिकी कम्पनी नेपालमा लगानी गर्न चासो र उत्सुक रहेको बताए । उनले हालै नेपाल सरकारले गरेको लगानीसँग सम्बन्धित दर्जन हाराहारी कानूनको सुधार एवं परिमार्जन, सार्वभौम क्रेडिट रेटिङ र उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको गठनले व्यवसायिक वातावरण बनाउनमा योगदान गरेको उल्लेख गर्दै नेपालले गरेको सुरधार प्रयासको प्रशंसा पनि गरे ।

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालमा लगानीको लागि प्रशस्त संभावना र उपयुक्त वातावरण बनेको उल्लेख गर्दै अमेरिकी उद्यमी व्यावसायीलाई नेपालमा लगानी विस्तार गरी लाभ लिन आग्रह गरे । 

    कार्यक्रममा उपस्थित युएस चेम्बर अफ कमर्सका प्रतिनिधिहरुले नेपालमा सूचना प्रविधि लगायत विभिन्न क्षेत्रमा लगानी गर्नका लागि उत्सुक रहेको धारणा राखेका थिए ।

    यसैबीच अर्थमन्त्री पौडेलसँग अन्तर्राष्ट्रिय मुद्रा कोषका उप प्रबन्ध निर्देशक बो लिको भेटवार्ता भएको छ । भेटका क्रममा अर्थमन्त्री  पौडेलले सहुलियतपूर्ण कर्जा सुविधा, नीतिगत सल्लाह सुझाव र क्षमता विकास लगायतका विभिन्न कार्यक्रममार्फत नेपालको आर्थिक विकासमा कोषले पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा कोषले थप योगदान गर्ने अपेक्षा समेत राखेका थिए ।

    भेटका क्रममा अर्थमन्त्री पौडेलले अन्तर्राष्ट्रिय मुद्रा कोष जस्ता संस्थाको मूल्यांकनले नेपालको अर्थतन्त्रमा सुधार भइरहेको देखाएको तथ्य उल्लेख गर्दै आगामी दिनमा कोषका सुझावहरुलाई समेत ध्यानमा राखि आर्थिक सुधारका कार्य अगाडी बढाउने जानकारी दिए । 

    अर्थमन्त्री पौडेलसँग मिलेनियम च्यालेन्ज कर्पोरेशन–एमसिसिका सिईओ एलिस अलब्राईट र उपाध्यक्ष क्यामरन अल्फर्डको समेत भेटवार्ता भएको थियो । भेटका क्रममा नेपालमा एमसिसि परियोजना कार्यान्वयनको पछिल्लो प्रगति अवस्था र थप वित्तीय सहायता परिचालनका सम्बन्धमा छलफल भएको थियो ।

    WhatsApp Image 2024-10-25 at 6.33.12 AM.jpeg