२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

डेडिकेटेड तथा ट्रंक लाइन विवाद : रुपन्देहीका १८ उद्योगको लाईन काटियो

शनिवार , कार्तिक १०, २०८१

भैरहवा, १० कार्तिक । डेडिकेटेड तथा ट्रंक लाइन विवादमा रहेका रुपन्देहीका सबै उद्योगहरुको लाईन काटिएको छ । डेडिकेटेड तथा ट्रंक लाइन विवादमा रहेका उद्योगहरुले विद्युत महशुल भुक्तानी नगरेको भन्दै नेपाल विद्युत प्राधिकरणले लाइन काटिदिएको हो । प्राधिकरणले बुटवल भैरहवाको पञ्चकन्या करिडोरमा रहेका ११ उद्योगसहित १८ उद्योगको लाईन काटिएको छ । 

बुटवलस्थित नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय मातहतमा रहेका विद्युत वितरण केन्द्रहरुबाट खटिएका कर्मचारीको टोलीले ती उद्योगको लाईन काटिदिएका हुन् ।
प्राधिकरणका लुम्बिनी प्रदेश कार्यालय प्रमुख हरिप्रसाद पाण्डेले मुलुकभरी लाइन काटिएका ३४ वटा उद्योगमध्ये २३ वटा लुम्बिनी प्रदेशका रहेको बताए । उनका अनुसार विद्युत लाइन काटिनेमा रुपन्देही जिल्लाका १८ वटा छन् ।

प्राधिकरणलाई भुक्तानी गर्न बाँकी रहेको बक्यौता भुक्तानीका लागि सबै वितरण केन्द्रबाट पत्राचार भइरहेको र तोकिएको अन्तिम दिन बिहीवारसम्म पनि भुक्तानी नगरिएका ती उद्योगको विद्युत लाइन काटिएको उनले बताए ।

विद्युत लाइन काटिएका उद्योगहरुमा परासी वितरण केन्द्र अन्तर्गतका सर्वोत्तम सिमेन्ट, बुटवल सिमेन्ट र लक्ष्मी स्टिल छन् । बुटवल वितरण केन्द्र अन्तर्गतका २ वटा जि.बि. टेक्सटाइल उद्योग छन् । अमुवा वितरण केन्द्र अन्तर्गतका अर्घार्खाची सिमेन्ट लि. र विशाल सिमेन्ट छन् । 

त्यस्तै भैरहवा वितरण केन्द्र अन्तर्गतका एभरेष्ट रोलिङ मिल, बिनायक स्पात प्रा.लि., जगदम्बा सिन्थेटिक्स, एसआर फुड्स, घराना फुड्स र सिद्धार्थ पेट प्लाष्ट उद्योग छन् । नयाँमिल वितरण केन्द्र अन्तर्गतका गोयनका फुड्स रुपन्देही, भलवारी स्वचालित चामल कारखाना, श्याम प्लाष्टिक उद्योग, पञ्चकन्या प्लाष्टिक इण्डष्ट्रिज, पञ्चकन्या स्टिल इण्डष्ट्रिज र शुभ लक्ष्मी पोलिमर्श उद्योग छन् । दाङमा सोना सिमेन्ट र घोराही सिमेन्टको लाइन काटिएको छ ।

‘प्रयोग नै नगरेको विद्युतको महशुल तिर्न सक्दैनौ’

विद्युत लाईन काटिएकामध्ये बुटवल–भैरहवास्थित पञ्चकन्या करिडोरका ११ वटा उद्योगले विद्युत महशुल नबुझाउने अडान राखेका छन् । आफूहरुले माग पनि नगरेको र प्रयोग पनि नगरेको डेडिकेटेड तथा ट्रंक लाइनको नाममा बिल पठाइएको विद्युत महशुलको रकम नतिर्ने उनीहरुले बताएका छन् । 

पञ्चकन्या प्लाष्टिक इण्डष्ट्रिज तथा पञ्चकन्या स्टिल इण्डष्ट्रिजका महाप्रबन्धक देवेन्द्र साहुले ११ उद्योगले डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग नगरिएको हुदाँ विद्युत महशुल नबुझाउने बताए । उनले विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रले आन्तरिक भार मिलान गर्ने क्रममा बुटवल–भैरहवा करिडोरका उद्योगलाई माग नगरिकनै ट्रंक बलाइनमा समावेश गरेको भन्दै महशुल तिर्न नसकिने बताए ।