२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री पौडेल

आइतवार , कार्तिक ११, २०८१

अमेरिका, ११ कार्तिक । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै आर्थिक समृद्धिलाई अघि बढाउन दुई ठूला जिम्मेवार राजनीतिक दल मिलेर वर्तमान सरकार निर्माण भएको बताएका छन् । संयुक्त राज्य अमेरिकाका विभिन्न राज्यमा रहि विभिन्न पेशा व्यावसाय गर्दै आएका नेपाली समुदायलाई शनिबार नेपाली दुतावासद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पौडेलले जनतामा रहेको निराशा चिर्दै, आशा जगाउने र सुन्दर भविष्य निर्माण गर्ने दिशामा वर्तमान सरकार क्रियाशील रहेको बताए ।

उक्त अवसरमा उनले गैरआवासीय नेपालीहरूलाई नेपालमा उर्जा, पर्यटन, सूचना प्रविधि लगायत उच्च सम्भावनाका क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

उपप्रधानमन्त्री पौडेलले गैरआवासीय नेपाली नागरिकहरूलाई मुलुकमा आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार प्रयोग गर्नमा आवश्यक कानूनी व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । उनले गैरआवासीय नेपालीको लगानी रहने एनआरएनए डेभलपमेन्ट फन्ड कार्यान्यनमा जाने अन्तिम चरणमा रहेको पनि जानकारी दिए ।
‘नेपालमा लगानीको आकर्षक प्रतिफल प्राप्त गर्ने अवसर छ, सरकारले तपाईंहरूको लगानी सुरक्षाको ग्यारेण्टी गर्दछ, तपाईंहरूले गरेको लगानीको प्रतिफल सहजै लैजान सक्ने गरी कानूनी एवं प्रक्रियागत प्रबन्ध मिलाउँदैछ, उपप्रधानमन्त्री पौडेलले भने ‘व्यक्तिगत रुपमा प्रतिफल प्राप्त गर्न र नेपालको आर्थिक समृद्धिमा योगदान गर्न पनि म साथीहरूलाई आग्रह गर्दछु ।’

गैरआवासीय नेपालीहरूले नेपालको भाषा, संस्कृति, सभ्यता र जीवनशैलीलाई अवैतनिक वाणिज्य दुतको रुपमा विश्वभर फैलाउन योगदान गरेको उल्लेख गर्दै उनले आफ्नो मातृभूमिप्रतिको आस्था, विश्वास र सम्मानप्रति गैरआवासीय नेपालीहरूलाई धन्यवाद दिए ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालमा लगानी सम्बद्ध कानूनहरूलाई समसामयिक परिमार्जन गरी उपयुक्त वातावरण निर्माण भएको उल्लेख गरे । उनले नेपालमा लगानीका लागि प्रशस्त अवसर र संभावना भएकाले गैरआवासीय नेपालीहरूलाई विदेशमा रहँदा आर्जन गरेको ज्ञान, सीप, पूँजी र प्रविधिलाई मुलुकको विकासमा उपयोग गर्न आग्रह गरे । नेपालमा लगानीका लागि उच्च सम्भावना र प्रतिफलको अवसर रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले नेपालको निजी क्षेत्र गैरआवासीय नेपालीसँग सहकार्य र साझेदारी गर्न तत्पर रहेको बताए ।

कार्यक्रममा अमेरिकामा रहेर विभिन्न पेशा व्यावसाय गर्दै आएका गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने सम्बन्धमा आफ्ना अनुभव तथा सुझावहरू राखेका थिए।  
उपप्रधानमन्त्री पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुने क्रममा संयुक्त राज्य अमेरिकामा रहेको अवसर पारेर नेपाली राजदुतावासले आयोजना गरेको उक्त कार्यक्रममा अर्थ सचिव डा. राम प्रसाद घिमिरे, कार्यवाहक राजदुत कुमार खरेल लगायतको उपस्थिति रहेको थियो ।

WhatsApp Image 2024-10-27 at 12.24.55 PM.jpeg