२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

‘पवित्र ठाउँमा अपवित्र काम गर्ने छुट छैन भनेर काम गरे’

सोमवार , कार्तिक १२, २०८१

भैरहवा, १२ कार्तिक । जिल्ला प्रशासन कार्यालय पर्सामा सरुवा भएका रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले बुद्ध जन्मस्थल लुम्बिनी जस्तो पवित्र ठाउँमा अपवित्र काम गर्ने छुट छैन भनेर आफूले काम गरेको बताएका छन् । उनले सरकारले त्यसको मूल्यांकन पनि गरेको बताए ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले सोमबार बिहान आयोजना गरेको फेरी भेटौंला कार्यक्रममा प्रजिअ अर्यालले भने, ‘इमान्दारिताको जगमा काम गरियो भने काम गर्ने उर्जा मिल्छ र आत्मबल बढ्छ । उनले जिल्लामा रहदा उद्योगी–व्यवसायी र आम नागरिकले साथ, सहयोग, समन्वय र खबरदारी गर्नुभएको बताए । 

उनले भने, ‘१३ महिनाको रुपन्देहीको बसाईमा साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु ।’ उनले सुरुको स्वागत भन्दा जाँदाको सम्झना दमदार हुने र यसले अर्थ राख्ने बताए । उनले रुपन्देहीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्दा गृह प्रशासनमा काम गरेको पहिलो अनुभव भएको बताए ।  

त्यस्तै सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले प्रमुख जिल्ला अधिकारी अर्यालसँगको पहिलो भेटमै आफू प्रभावित भएको बताए र त्यतिबेला नै रुपन्देही कार्यसम्पादनमा उत्कृष्ट जिल्ला बन्नेमा आफू ढुक्क भएको बताए । उनले अर्याल सफल सिडिओ भएको उल्लेख गरे । अध्यक्ष श्रेष्ठले भने, ‘प्रजिअ अर्यालको बसाई रुपन्देहीबासीका लागि अविस्मरणीय रहनेछ । सकारात्मक कार्यमा उद्योगी–व्यवसायीलाई सहयोग गर्नुभयो । उद्योगी–व्यवसायीले उठाएका कुराहरु सम्बोधन गर्नुभयो । आर्थिक मन्दी र जटिल अवस्थामा छौं, यो बेलामा उद्योग-व्यवसाय सञ्चालन गर्न सहयोग गर्नुभयो । यहाँको कार्यकालमा संघले उठाएका उद्योग, व्यवसाय, पर्यटन, विकास निर्माण कार्यमा हरसम्भव प्रयास गर्नुभयो । यसप्रति आभार व्यक्त गर्दछौं ।’

IMG_3442.JPG

संघका वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद आचार्यले सिडिओ अर्यालले नागरिकको पक्षमा काम गर्नुभएको बताए । उनले भने, ‘जनताको मनमा बस्न सफल हुनुभएको छ । पर्सामा पनि उत्कृष्ट कार्य गर्नुहुनेछ भन्ने शुभकामना दिन चाहन्छौं ।’

संघका महासचिव कृष्ण प्रसाद घिमिरेले एउटा प्रशासकले चाहयो भने धेरै काम गर्न सक्छ भन्ने सिडिओ अर्यालले उदाहरण प्रस्तुत गर्नुभएको बताए ।