२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनीको नाम र लोगो ब्राण्डिङ्ग गरिदै 

मंगलवार , फाल्गुण २५, २०७७

बुटवल, २५ फागुन । 
अन्तर्राष्ट्रिय महत्वको सम्पदाका रुपमा परिचित एवं विश्व सम्पदा सूचीमा सुचीकृत लुम्बिनीको महत्वलाई थप गरिमामय बनाउन यसको नाम र लोगो ब्राण्डिङ्ग गर्ने कार्यको सुरुवात भएको छ । लुम्बिनीको नाम र लोगोको लेखाई, रंग र ढाँचा एकै प्रकारको बनाई अन्तर्राष्ट्रिय रुपमा परिचित गराउने उद्देश्यले ब्राडिण्ङ्ग गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । 

राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा आएका सल्लाह र सुझावलाई समेटेर सरोकारवाला सबै पक्षसंग सहकार्य गर्ने उद्देश्यले लुम्बिनीको ब्राण्डिङ्ग गर्ने कार्यलाई अघि बढाइएको पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले बताए । पर्यटन बोर्डद्वारा तिलोत्तमामा आयोजित सरोकारवालासंगको छलफल कार्यक्रममा बोल्दै प्रमुख रेग्मीले लुम्बिनीलाई विश्व समुदायमा सहजै पहिचान बढाउन र यसको बिकासमा थप प्रभावकारी भुमिका खेल्न ब्राण्डिङ्गको आवश्यकता रहेको बताए। 

सो अवसरमा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले लुम्बिनी प्रभावकारी विकास र प्रचारप्रसारका लागि पर्यटन बोर्डले शुरु गरेको लुम्बिनी ब्राण्डिङ्ग उपलब्धीमुलुक हुने विश्वास व्यक्त गरे । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्र केसीले लुम्बिनीको ब्राण्डिङ्ग पश्चात यसको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्व थप वृद्धि भइ पर्यटन प्रबद्र्धनमा सफलता मिल्ने बताए । 

कार्यक्रममा अन्य सहभागिहरुले लुम्बिनीको ब्राण्डिङ्ग गर्दा शान्तिका अग्रदुत भगवान गौतम बुद्धको दर्शन, बौद्ध शिक्षा र स्थानीय अवस्था, विषयगत, क्षेत्रगत एवं भाषागत हिसाबले पनि उत्कृष्ट देखिने गरी ब्राण्डिङ्ग गर्न सुझाव दिएका थिए ।