भैरहवा, २६ फागुन ।
भैरहवास्थित होटल गोदावरी प्लाजामा ‘हेमन्त शर्मा एकल सांझ’–२०७७ हुने भएको छ । गणतान्त्रिक सभा गृहको छेउमा रहेको गोदावरी प्लाजामा आधुनिक गायक हेमन्त शर्माको प्रस्तुती रहने आयोजकले भैरहवामा बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।
यही फागुन २८ गते शुक्रबार कार्यक्रम हुने गोदावरी प्लाजाका सञ्चालक अभिजित भुसालले बताए । सांझ ५ बजेदेखि सुरु हुने कार्यक्रममा सहभागि हुन प्रवेश शुल्क वापत रु. १ हजार ५ सय र एकजोडी अथवा दुई जनालाई रु. २ हजार ५ सय लाग्ने भुसालले जानकारी दिए । सांगितिक कार्यक्रममा सहभागि हुने दर्शकलाई खानाको समेत व्यवस्था गरिएको उनले बताए । कार्यक्रममा करिब १५० जोडीलाई सहभागिता गराउने लक्ष्य रहेको गोदावरी प्लाजाले जनाएको छ ।
‘भैरहवावासी गायक हेमन्त शर्माको प्रस्तुती रहने कार्यक्रम गरेर मनोरञ्जन प्रदान गराउने जमर्को गरेको छौं, ’सञ्चालक भुसालले भने । कोभिड–१९ ले गर्दा विशेष गरी होटल व्यवसाय धरासायी हुँदै गएको बेला होटल सञ्चालनको लागि आफ्नो अभिभावकले प्रेरित गरेको उनको भनाइ छ ।
१० वर्षसम्म खाडी मुलुकका रेष्टुरेष्टमा काम गरेर अनुभव बटुलेर आफ्नै माटोमा केही गर्नुपर्छ भन्ने उद्देश्यले अभिजित भुसाल स्वदेश फर्कि गोदावरी प्लाजा सञ्चालन गर्नुभएको हेमन्त शर्मा एकल सांझ कार्यक्रमका संयोजक हरि प्रसाद आचार्यले बताए । २०१७ सालमा विदामा घर आए पनि यतै बसेर केही गर्ने सोच बनाएर भुसालले गोदावारी प्लाजा सञ्चालनमा ल्याउनुभएको आचार्यको भनाइ छ । प्लाजामा चिकेन चिल्ली, खाना, चिकेन विरयानी लगायतका परिकारहरु उपलब्ध रहेको छ ।
लुम्बिनी प्रेस क्लब रुपन्देहीका अध्यक्ष नरेश के.सी.ले विशेष गरी भारतीय पर्यटकलाई लक्षित गर्दै गोदावरी प्लाजाले खानाका परिकारहरु बनाउनुपर्ने बताए । १ करोड २७ लाख लगानीमा ५ कठ्ठा ५ धुर क्षेत्रफलमा सञ्चालित उक्त होटलमा ६ जनाले रोजगारी पाएका छन् । प्लाजाले आगामी दिनमा बस्ने सुविधासहित ६–७ वटा कोठाहरुका साथै कटेज पनि निर्माण गर्ने लक्ष्य राखेको छ ।