
मंगलवार , मंसिर ४, २०८१
गौतमबुद्ध, एक यस्तो महान आत्मा, जसको जीवन, शिक्षाहरू र मार्गदर्शनले सारा मानव जातिलाई सदाका लागि उज्यालो दियो । तर, प्रश्न उठ्छ– बुद्ध कसका हुन् ? नेपालको ? भारतको ? वा कुनै निश्चित देशको ? यो प्रश्न समयसमयमा उठिरहन्छ र यसले कहिलेकाहीं विवादको स्वरूप पनि लिन्छ ।
नेपाल भन्छ, ‘बुद्ध मेरा हुन्, ‘किनकि उनले लुम्बिनी भन्ने ठाउँमा जन्म लिए । यही लुम्बिनीमा सिद्धार्थ गौतमले आफ्ना बाल्यकालदेखि लगभग २९ वर्षहरू दरबारमा बिताए । यही लुम्बिनी नै इतिहासमा बुद्धत्व प्राप्त गर्नुअघि पहिलो पाइला रहेको तथ्यलाई नेपालले गर्वका साथ प्रस्तुत गर्छ । यसकारण नेपालका लागि बुद्ध एउटा विशेष सम्मानका पात्र हुन् ।
भारत, अर्को तर्फ, भन्छ, ‘बुद्ध मेरा हुन्, किनकि बुद्धत्व प्राप्त गरेपछि बुद्धको जीवनका सबैजसो महत्वपूर्ण क्षणहरू भारतमा नै बिते । बोधगयामा उनले ज्ञान प्राप्त गरे, सारनाथमा पहिलो पटक उपदेश दिए, श्रावस्तीमा धेरै वर्ष बिताए, र कुशीनगरमा महानिर्वाण प्राप्त गरे । भारतका सम्राट अशोकले बुद्ध र बौद्ध धर्मलाई विश्वभर फैलाउन असीम योगदान दिए । यसैले भारत पनि बुद्धलाई आफ्नो गौरव ठान्छ ।
तर, यी दुवै पक्षका दावीहरू भन्दा बाहिर जाँदा, अर्को प्रश्न आउँछ– के बुद्धको योगदानलाई कुनै एक देशको सीमामा बाँध्न सकिन्छ ? बुद्धको जीवनको महत्व केवल लुम्बिनीको जन्मस्थानमा सीमित छ ? वा बोधगया र सारनाथको भूमिमा मात्रै ?
बुद्ध जस्ता महान आत्माहरूलाई कुनै भूगोल, राष्ट्र, वा सीमाले बाँध्न सक्दैन । उनी एक यस्ता व्यक्तित्व हुन्, जसको ज्ञान र उपदेश सम्पूर्ण मानव जातिका लागि थिए । उनले सबैको मनको बिणालाई एकदम मधुरमय तरिकाले बजाए । जो जोडिए त्यो कहिले पनि बुद्धलाई छोड्न सकेनन् ।
नेपालले बुद्धलाई आफ्नो भन्न पाउनु स्वाभाविक हो, किनभने उनी लुम्बिनीमा जन्मिए । तर, नेपालमा बौद्ध धर्मको अनुपालन भने धेरै न्यून छ । बुद्ध जन्मिएका ठाउँमा बुद्धका उपदेशलाई आजको दिनसम्ममा पर्याप्त रूपमा नअपनाइएको देखिन्छ ।
त्यस्तै, भारतले बुद्धलाई आफ्नो भन्न सक्छ, किनकि बुद्धले आफ्नो अधिकांश समय त्यहीँ बिताए । तर, यो तर्क मात्र पनि पर्याप्त छैन । बुद्धको जीवन र शिक्षाहरूको महत्वले भारतको सीमा भन्दा पर संसारभरी पुगेको छ ।
बौद्ध धर्मको सबैभन्दा ठूलो अनुपालन नेपाल वा भारत भन्दा पर छ । थाइल्याण्ड, म्यानमार, श्रीलंका, जापान, चीन लगायत जस्ता देशहरूमा बुद्धको शिक्षाले आज करोडौं मानिसको जीवनलाई प्रेरित गरिरहेको छ। यिनीहरूका लागि बुद्ध केवल एउटा देशको प्रतीक होइनन्, उनी सम्पूर्ण मानव सभ्यताका शिक्षक हुन् ।
बुद्ध केवल ‘लाईट अफ एसिया’ वा ‘लाईट अफ वल्र्ड’ मात्र होइनन्, उनी ‘लाईट अफ ह्युम्यानिटी’ हुन् । उनी सबैका हुन्, किनभने उनले दिने शिक्षाहरू समय, देश, जात, र धर्म भन्दा माथि छन् ।
बुद्धको योगदानलाई कुनै भूगोल वा सीमामा बाँध्नु भनेको उनको शिक्षाको सारलाई खुम्च्याउनु हो । बुद्धका उपदेशहरूले सारा मानव जातिलाई सत्यको मार्गमा हिँड्न प्रेरित गर्छ । उनका विचारले मानिसहरूलाई शान्ति, करुणा, र अहिंसाको बाटो देखाउँछ ।
बुद्ध न नेपालका मात्र हुन्, न भारतका मात्र । उनी सबैका हुन् । उनले कुनै सीमाको विचार गरेनन्, बरु संसारका सबै पीडित र अज्ञानी प्राणीलाई ज्ञानको उज्यालो बाँडे । उनी अध्यात्मिकताको वैज्ञानिक हुन् ।
बुद्धको योगदानलाई कुनै देश, जात, वा धर्मको घेरामा राख्न सकिँदैन । उनी एउटा यस्तो ज्योति हुन्, जसले सारा मानव जातिलाई उज्यालो पथ देखाए । ‘नमो बुद्धाय’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij