
बुधवार , फाल्गुण २६, २०७७
भैरहवा, २६ फागुन ।
नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (सीएडब्लुयूयन) नगर समिति, भैरहवाको १२ औं साधारणसभा तथा चौथो अधिवेशन बुधबार भैरहवामा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघका केन्द्रीय अध्यक्ष जे.बी. गुरुङले निर्माण क्षेत्रमा काम गर्ने मजदूर संगठित गर्ने संस्थाको मुख्य उद्देश्य रहेको बताए । उनले निर्माण क्षेत्रमा काम गर्ने श्रमिकहरुको समस्या समाधान हुन नसकेको बताए ।
त्यस्तै निर्माण तथा सम्बद्ध श्रमिक संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ओमप्रकाश चौधरीले श्रमिकहरु संगठित हुनुपर्ने आवश्यकता रहेकोमा जोड दिए । संघका रुपन्देही जिल्ला अध्यक्ष वीर बहादुर लामाले नगर समिति भैरहवाले श्रमिकको बीमा गराउनु राम्रो कार्य भएको बताए ।
नेपाल ट्रेड युनियन कांग्रेस रुपन्देहीका कोषाध्यक्ष सुर्यदेव दासले पदमा बस्नु ठूलो कुरा नभइ समस्या समाधान गर्नु ठूलो कुरा भएको बताए । ट्रेड युनियन कांग्रेस सिद्धार्थनगर समितिका अध्यक्ष राम बहादुर गुरुङले श्रमिकका समस्या समाधान गर्न सहजीकरण गर्ने वातावरण बन्नुपर्ने बताए ।
अधिवेशनका प्रमुख निर्वाचन अधिकृत प्रख्यात बञ्जाडेले विभिन्न आरोह अवरोहकाबीच संघ यहाँसम्म आइपुगेको बताए ।
लुम्बिनी प्रेस क्लब रुपन्देहीका अध्यक्ष नरेश के.सी.ले नेपाली श्रमिकहरुले खाडी मुलुकमा काम गरिरहँदा नेपालमा भारतीय श्रमिकहरुमार्फत निर्माण क्षेत्रका कामहरु भइरहेको बताए ।
नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ नगर समिति भैरहवाका अध्यक्ष रामविद्या विश्वकर्माको अध्यक्षता, उपाध्यक्ष विदुर सहानीको स्वागत तथा सचिव चन्द्रिका प्रसाद धवलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा संघका कोषाध्यक्ष राम प्रसाद पासवानले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा श्रमिकहरुलाई सम्मान समेत गरिएको थियो ।
सिद्धार्थनगर नगरपालिका–७ मा डेढ कठ्ठामा ३३ लाखको लागतमा निर्माण भएको भवनको नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघका केन्द्रीय अध्यक्ष जे.बी. गुरुङले उद्घाटन गरेका हुन् । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ । नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ नगर समिति, भैरहवामा १ हजार ३ सय २१ जना सदस्य आबद्ध रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij