२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

जनवादी गणतन्त्र चीनको यात्रा उत्साहप्रद सिकाइ

बिहिवार , मंसिर ६, २०८१

डा.राम बहादुर राउत
सिचुवान इन्टरनेशनल सिटीज कोअपरेसन एण्ड डेभलपमेन्ट कन्फ्रेन्स २०२४ नोवेम्बर ११ देखि १३ सम्म सिचवान प्रान्तको छेन्दुमा भाग लिन नोवेम्बर ११ तारिख लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य आचार्यको नेतृत्वमा ७ सदस्यीय प्रतिनिधिमण्डल चीन गयौं । सो प्रतिनिधि मण्डलको सदस्यको हैसियतले सो कार्यक्रममा भाग लिदाका केही अनुभूति तथा सो भ्रमणको उपलब्धी तथा सिकाइलाई यस आलेखमा विचारको रुपमा प्रस्तुत गरिएको छ ।

dddddd.jpg

यसको सन्दर्भका बारेमा अलिकित चर्चा गर्दा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले यस प्रदेशबासीलाई सुख, शान्ति र समृद्धिका साथ विकसित गर्नका लागि एउटा संकल्प अगाडि सार्नुभएको थियो । सो संकल्प थियो ‘समृद्ध प्रदेश खुसी जनता’ । त्यसका लागि बिभिन्न योजनाहरु बनाएर अगाडि बढने सन्दर्भमा जनवादी गणतन्त्र चीनको सिचवान प्रान्तसँग सन् २०१९ मा प्रान्त र प्रदेशबीच, सिकाइ, संस्कृति, प्रविधि तथा सहयोग आदानप्रदान गरी एक–अर्काको सुखदुःखमा साथ दिने उद्देश्यका साथ भगिनी सम्बन्ध स्थापना गर्नुभएको थियो । सो सम्बन्ध स्थापना पश्चात कोभिड–१९ को महामारीका कारण यसका कामकारवाही अगाडि बढन सकेनन् । तत्पश्चात सरकारका फेरबदलले लुम्बिनी प्रदेशको संकल्पमा पनि फेरबदल ल्याइरह्यो । यसको कारण यसले तय गरेका कार्यहरु ठोसमा रुपमा अगाडि बढन सकिरहेका थिएनन् । वर्तमान सरकार गठन भएपश्चात जनतालाई सुशासन, सामाजिक न्याय र जनमुखी विकासको माध्यमबाट समृद्ध लुम्बिनी प्रदेश बनाउन विभिन्न कार्यक्रम अगाडि सारेको छ ।

भ्रष्टाचार न्यूनीकरण सुशासन प्रवद्र्धन गर्ने पाँचवर्षे रणनैतिक योजना तय गरेर पारित गर्दै कार्य अगाडि बढाएको छ । विगतका सरकारहरुले अगाडि सारेका राम्रा कार्यहरुको निरन्तरताका लागि विभिन्न प्रयास सुरु गरेको सन्दर्भमा सिचवानसँग भएको सम्बन्धलाइ जीवन्त पार्नु पनि एक थियो । लुम्बिनीको विकास र निर्माणमा सिचवान सरकार र यससँग जोडिएका विभिन्न लगानीकर्ताहरुको लगानी समेत आकर्षित गर्नुपर्ने आजको आवश्यकता भएको छ । त्यसका लागि सम्बन्ध स्थापित गरिएको औपचारिक पत्र खोजेर सिचवान सरकारलाई पुनःस्मरण गराउने काम भए लगत्तै छेन्दुमा सिचवान प्रान्तसँग जोडिएका विभिन्न देशका विभिन्न प्रान्तको सहभागीतामा सिचुवान इन्टरनेशनल सिटीज कोअपरेसन एण्ड डेभलपमेन्ट कन्फ्रेन्स २०२४ आयोजना गर्न लागिएको र सो कार्यक्रममा सहभागीता जनाउन सक्ने आसयको जानकारी आयो । त्यसपछि हामीले यो महत्वपूर्ण कार्यक्रममा मुख्यमन्त्री, अर्थ तथा योजना मन्त्री, सरकारकाका प्रमुख सचिव, मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डा. राम बहादुर राउत र मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव जाने तय भयो । जसमा प्रचलन अनुसार मुख्यमन्त्रीको धर्मपत्नी र हामी सबैलाई भाषामा सहजीकरण गर्ने तथा नेपालका १२ भन्दा बढी नगरसँग चीनका नगरहरुलाई जोडन भूमिका खेल्ने लुम्बिनी बौद्ध विश्वविद्यालयका सह–प्राध्यापक डा. सागर न्यौपाने समेत गरेर ७ सदस्यीय प्रतिमण्डल जाने निर्णय भयो । यो भ्रमणको मुख्य उद्देश्य सो कार्यशालामा भाग लिने रहेको भएता पनि त्यससँग जोडिएका उद्देश्यहरु निम्न थिए :

१. सन् २०१९ सालमा स्थापित लुम्बिनी प्रदेश र सिचवान प्रान्तको भगिनी सम्बन्धलाइ पुनव्यवस्थित गर्ने ।
२. लुम्बिनी प्रदेशको विकासका लागि लगानीकर्तासँग छलफल र लगानीका लागि आह्वान गर्ने ।
३. भगवान गौतमबुद्ध स्थल लुम्बिनीमा सिचवान लगायत कार्यशालामा सहभागी देश तथा प्रदेशहरुलाई भ्रमण गर्नका लागि आमन्त्रण गर्ने ।
४. लुम्बिनी सरकारले हाल प्राथमिकताका साथ अगाडि सारेका केही परियोजनाका बारेमा जानकारी दिने ।

कार्यशाला ११ देखि १३ सम्म तोकिएता पनि त्यसको कार्यक्रम तालिका हेर्दा कार्यक्रम १२ र १३ मात्र रहेको र ११ तारिखमा प्रतिनिधि मण्डलहरुको स्वागत तथा उनीहरुको व्यवस्थापन मात्र देखिएको हुनाले साथै मुख्यमन्त्रीको कार्यमा असर नपरोस् भनेर ११ तारिख मा जाने गरी भ्रमण तय गर्याैं । १० तारेखमा जाने कार्यतालिकालाई छोटयाएर हामीले ११ तारिख पनि ५ बजेर ४० मिनेट जादाँको विमानमा टिकट व्यवस्थापन गर्न आयोजक पक्षलाई अनुरोध गरेका थियौं । हामी सोही दिन रातीको ११.४५ बजे राती छेन्दु पुगेका थियौं ।

१२ तारिख बिहान ८ बजे देखि निरन्तर राती ९ बजेसम्म कार्यशालामा सहभागीता, दुईपक्षीय, बहुपक्षीय कुराकानी लगानीकर्ताहरुसँगको छलफल निकै व्यस्तता रह्यो । १३ तारिखमा सिचुवान सरकारले गरेका केही महत्वपूर्ण आयोजनाको भ्रमण गर्ने काम बिहान ८ बजेबाट सुरु भयो । चीनले लोपोन्मुख अवस्थामा रहेको पाण्डाको संरक्षण, विभिन्न पोषणले युक्त च्याउ उत्पादन उद्योग जसले दिनमा ६० टन च्याउ उत्पादन गर्दछ अनि उत्पादित वस्तु ६० प्रतिशत विश्व बजारमा बेच्दछ, त्यसको अवलोकन । संसारलाइ चकित पार्ने बुलेट रेल त्यसका सँगै रहेका नेपाल तथा युरोपीयन देशका पेभिलियनहरु, मानव विकास इतिहाससँग जोडिएको म्यूजियम, तथा दयाङ्ग नगर योजना अवलोकन गर्ने कार्यपश्चात दयाङ्ग नगरले आयेजना गरेको स्वागत तथा रात्रीभोजमा सिरक हुने कार्य गरियो । रात्रीभोजका सन्दर्भसँगै औपचारिक कार्यक्रम आयोजना गरिएको थियो । जसको अध्यक्षता त्यहाँको कार्यकारी उपमेयर र प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई बनाइएको थियो । सो समारोहमा जर्मनी, मोरोक्को, श्रीलंका, इजिप्ट लगायत देशका विभिन्न प्रान्तका प्रमुख उपप्रमुखले विभिन्न विचार राख्नुभएको थियो ।

हाम्रो प्रतिनिधि मण्डल मुख्यमन्त्री, अर्थ तथा योजनामन्त्री हामी सबै लुम्बिनीलाई विश्व सामु पस्किने कुरामा तल्लिन थियौं । चिनिया संस्कार अनुसारको रात्रीभोज त्यसमा हरेकले हरेकसँग गएर व्यक्तिगत रुपमा चिनजान गर्ने आफ्ना विषयहरु राख्ने त्यसलाई एक–अर्काले स्विकार गर्ने कुरा वास्तवमा सिक्नपर्ने अनुकरणीय चिज थियो ।

हामीले सो रात्रीभोजको समयलाई पनि भ्रमणको उद्देश्यबाट वेष्ठित गरिरह्यौं । हरेक सहभागीलाइ लुम्बिनीको परिचय, त्यसलाई साझा बनाउने प्रयत्न, शान्ति दीपले सबैलाई उज्यालो छर्ने कुरा र सो उज्यालोलाई कुनै भौगोलिक सिमाना, धर्म–संस्कृति, राजनीति वा जातजातीका सीमाले नछेक्ने कुरा पस्किरहेका थियौं । सो दीपलाई अझ उज्यालो बनाउने दायित्व उज्यालो चाहने सबैको हो भन्ने दायीत्व बोध गराउनु हाम्रो महत्वपूर्ण उद्देश्य थियो ।

भाषा फरक थिए मोरोक्कोमा बोलिने फ्रेन्च भाषीले अंग्रेजी नबुझ्ने न त चिनीया न त नेपाली । तर, लुम्बिनीका मुख्यमन्त्री र मोरोक्कोका कुनै प्रान्तका मुख्यमन्त्रीले आ आफ्ना भाषामा कुरा गरिरहेका थिए । तर, एकले अर्काको भावना र मर्म बुझेको महसुस हुन्थ्यो । यो कार्यक्रमले विश्वसामु हाम्रो सामथ्र्यको रुपमा रहेको हाम्रो गौरव बिश्वशान्तीको ज्योती बुद्धको बारेमा लुम्बिनीको बारेमा सगौरव प्रस्तुत गरिरहेका थियौं । हाम्रा मुख्यमन्त्रीले सो समारोहमा राख्नुभएको विचारले सबैलाई सम्मोहित पारिरहेको थियो र चर्चाको विषय बनिरहेको थियो ।

यस परिदृश्यले हाम्रो सो कार्यक्रममा सहभागीता जनाउनुको उद्देश्य पुष्टि गरेको महसुस गरियो । हाम्रा मुख्यमन्त्रीले सो कार्यक्रममा राख्नुभएको भएको विचार जस्ताको तस्तै आम पाठक समक्ष प्रस्तुत गर्दछु :

‘सिचुवान प्रादेशिक कमिटीका सचिव श्री वाङ स्याओहोइ,
सिचुवान प्रादेशिक जनसरकारका गभर्नर श्री स्ही स्याओलिन 
अन्य उपस्थित समआदरणीय व्यक्तित्व ज्यूहरु ।

सम्मानित व्यक्तित्वहरु, आज यस सिचुवान प्रदेश सरकारले आयोजना गरेको सिचुवान इन्टरनेशनल सिटीज कोअपरेसन एण्ड डेभलपमेन्ट कन्फ्रेन्स २०२४ मा भाग लिन तपाईहरुको सुन्दर यो प्रदेशमा आउन पाउँदा गौरव महसुस गर्दै अत्यन्तै खुसी व्यक्त गर्दछु । साथै यस कार्यक्रममा हामीलाई आमन्त्रण गरेर यस प्रकारको न्यानो आतिथ्यता प्रदान गर्नुभएकोमा म, मेरो प्रतिनिधि मण्डल, मेरो प्रदेश तथा सिंगो मेरो देश नेपालको तर्फबाट आभार व्यक्त गर्न चाहन्छु ।

आज म यस गरिमामय कार्यक्रममा उपस्थित भइरहँदा, मैले आज भन्दा हजारौं वर्ष पहिला यस सुन्दर धर्तीमा आएर नेपालको तर्फबाट कला प्रस्तुत गर्दै हाम्रो मित्रतालाइ अगाडि बढाउने कलाकार अरनिको र नेपाली चेलीसँग वैवाहिक सम्बन्ध कायम गर्ने राजा स्रङचङगम्पो र बौद्ध शिक्षाको प्रचारक साम्राज्ञी भृकुटीलाइ सम्झना गर्दै हाम्रो देश नेपाल र मित्र राष्ट्र चीनको मितेरी सम्बन्धको बारेमा स्मरण गर्न चाहान्छु ।

sssssss.jpg

म भन्न चाहन्छु; हाम्रो देश नेपाल र मित्रराष्ट्र चीनलाई भगवान बुद्धको पञ्चशिलले जोडेको छ । उहाँको शिक्षाले जोडेको छ । भगवान गौतमबुद्धको जन्मस्थानको नामबाट परिचित प्रदेश लुम्बिनीबाट आज म यहाँ उपस्थित भएको छु । हामीले अनुभूति गरिरहेका छौं कि; हाम्रो मित्रताको पहेलुलाई, हाम्रो अर्थतन्त्र, हाम्रो साँधसिमाना, हाम्रो सस्कृंति र हाम्रो इतिहासले कसिलो बनाएको छ ।

हाम्रो छिमेकी मित्रराष्ट्रले आज आफूलाई विश्वको अब्बल अर्थतन्त्र भएको मुलुकको रुपमा उभ्याएको छ । आज चीनको अर्थतन्त्र, चीनको विकास मोडेल, चीनको प्रविधि विश्वका सबै देशले अनुकरण गर्ने खालको छ । यो कुराप्रति हामी एउटा असल मित्र राष्ट्रका हैसियतले गर्व गर्दछौं । यसको श्रेय यस देशका वर्तमान महामहिम राष्ट्रपति तथा विश्व कम्यूनिष्ट आन्दोलका नेता श्री सि जिङ पिङको नेतृत्वलाइ जाने कुरा हाम्रो ठम्याइ हो । यो प्रगति र यसप्रकारका कार्यले संसारलाई नै चकित पारिरहेको छ । चिनिया विकास मोडेल, प्रविधि तथा समृद्धिबाट हामीले सिक्न चाहन्छौं र हामीहरु पनि सँगै यात्रा गर्न चाहान्छौं । किनभने हाम्रो देश नेपाल र हाम्रो प्रदेश नमूना काम गर्नका लागि आतुर छ जनतालाई विकास र समृद्धि प्रदान गर्न प्रतिबद्ध छ ।

हामी र हाम्रो केन्द्र सरकार चीनका हरेक सकारात्मक कामको सह्राना गर्दछ । हामी र हाम्रो केन्द्र सरकार एक चीन सिद्धान्तप्रति प्रतिबद्ध छ र आफ्नो भूमिमा छिमेकी विरोधी गतिविधिका लागि प्रयोग गर्ने नदिने कुरामा समेत दृढ रहेको छ । हामी विश्वास गर्दछौं यस प्रकारको प्रतिवद्धताले हाम्रो मित्रतालाई अझ खँदिलो र बलियो बनाइरहेको छ ।
हामी आभारी छौ किनभने नेपालको विकासका हरेक आयाम, बाटोघाटो, पुलपुलेशा, उद्योग कलकारखाना, प्रविधि जस्ता विषयमा चीनको अत्यन्तै महत्वपूर्ण सहयोग रहेको छ । यसको नमुनाको रुपमा हामीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवालाई लिने गरेका छौं । हामीले अझ गर्वका साथ भन्ने गरेका छौं कि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हाम्रो प्रदेशमा पर्दछ र यो भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट केवल १४ किलोमिटरको दुरीमा छ ।

यो विमानस्थलले चीन लगायत विश्वभरका बुद्धका अनुयायीहरुलाई बुद्धको जन्मस्थल पुग्नका लागि मद्दत गर्नेछ । यो परियोजना विश्वभरका बौद्धमार्गीहरुका लागि गौरवको विषय हो । चिनिया जनता र नेपाली जनताबीचको अन्तरसम्बन्ध विकासमा भगवान गौतमबुद्ध र उहाँको जन्मस्थल लुम्बिनीले हामी र हाम्रो भावनालाई सुदृढ गर्न महत्वपूर्ण भूमिका खेलेको छ किनभने हामी नेपालीहरुले लाखौलाख चिनिया तिर्थयात्रीहरुलाई सो पवित्र स्थानमा स्वागत गर्न पाइरहेका छौं ।

यसै अवसरमा म सिचुवान सरकारसँग अनुरोध गर्न चाहन्छु कि हाम्रो भगिनी सम्बन्धलाई प्रगाढ बनाउन छेन्दु र भैरहवाबीच सिधा हवाइ सेवा सञ्चालन गरौं । जसले गर्दा हामी दुई मितेरी प्रदेशका जनताको मित्रता अझ बढी प्रगाढ होस ।

त्यस्तै गरी हाम्रो प्रदेशमा रहेको लुम्बिनी बौद्ध विश्वविद्यालयमा चिनिया सरकारको महत्वपूर्ण सहयोग रहेको छ ।  चिनिया भाषा, संस्कृतिको जानकारी गराउन र हामीलाइ भाषा शिक्षाका लागि सो विश्वविद्यालयमा स्थापना गरिएको भाषा परिक्षण केन्द्रले सबै नेपाली जनताको चिनिया भाषा संस्कृतिमा पहुँच वृद्धि गरेको छ तसर्थ म यस महान कार्यका लागि चिनिया सरकार र यसमा लगानी गर्ने लगानीकर्ताहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दै यस प्रकारको कार्यको हार्दिक प्रशंसा गर्दछुु ।

हाम्रो प्रदेशका संस्थापक मुख्यमन्त्री माननीय शंकर पोखरेलले सन् २०१९ मा तपाईहरुको यो सुन्दर प्रदेश सिचुवानसँग भगिनी सम्बन्धको विषय अगाडि बढाउनु भएको हो । यस महान कार्यका लागि उहाँ र तत्कालिन यो प्रदेशको नेतृत्वलाई धन्यवाद व्यक्त गर्न चाहन्छु । त्यसपश्चात यसलाई अगाडि बढाएर हाम्रो उद्देश्य पूर्ण गर्न धेरै कामहरु गर्नुपथ्र्यो।  तर, विश्व महामारीको रुपमा आएको कोभिडका कारणले हाम्रा साझा जिम्मेवारी हामीले अगाडि बढाउन सकेनौ । अब हामी सोही भावनालाई आत्मसात गर्दै हाम्रो मितेरी सम्बन्ध अगाडि बढाउन चाहन्छौं । हामी हाम्रा सिकाइ, अनुभव तथा विकासका सम्भावनालाई आदानप्रदान गर्न प्रतिबद्ध छौं र तपाईहरुको प्रतिवद्धताको अपेक्षा गर्दछौं ।

तत्कालिन अवस्थामा हाम्रो प्रदेश सरकारले सिचवानसँग सम्बन्ध स्थापित गरे प्रश्चात हाम्रो प्रदेशका केही नगरहरुले पनि यस्तै प्रकारको कार्य अगाडि बढाएका छन् जसमा तानसेन लशान, ठाकुरबाबा लशान लगायतका नगरहरु पर्दछन ।

यसरी हाम्रा निकायबीचमा यस किसिमका सम्बन्ध हाम्रा प्रदेशका धेरै नगरहरुसँग विकास गर्दै लैजाने कुरामा लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध छ ।

यस महत्वपूर्ण कार्यक्रममा म लुम्बिनी प्रदेश सरकारको तर्फबाट उपस्थित महानुभावहरुलाई आह्वान गर्न चाहन्छु  
१. लुम्बिनी, गौतमबुद्धको जन्मस्थललाई समृद्ध बनाउन,े यसलाई विश्वको एक महत्वपूर्ण र नमूना स्थल बनाउने दायित्व हामी सबैको साझा हो । तसर्थ यससँग जोडिएका बिकास निर्माणका कार्यहरुमा साझा लगानी गरौं । साझा प्रतिफल हासिल गरौं विश्वको शान्ति दीपलाइ थप प्रज्वल्लित गरौं ।

२. म हार्दिक आमन्त्रण गर्दछु कि, हामी अब छिटै लुम्बिनीमा लगानी सम्मेलन गर्दैछौं । त्यसको लागि यहाँहरुको उपयुक्त समयका बारेमा छलफल गर्दै सो समयको किटान पश्चात हाम्रो कुटनैतिक नियोग मार्फत पत्राचार गर्नेछौं । त्यसमा यहाँको प्रदेश सरकार, विभिन्न लगानीकर्ताहरु, कम्पनीहरु, संघ–संस्था सबैको उत्साहपूर्ण उपस्थिति हुनेछ ।

३.लुम्बिनी प्रदेशभित्र कुनै पनि क्षेत्रमा सिचुवान प्रान्त लगायत कुनै पनि प्रान्तबाट इच्छुक लगानीकर्ताको लगानी भित्राउन र लगानी सुरक्षित गर्न आवस्यक सहयोग गर्न प्रतिबद्ध रहेको समेत जानकारी गराउन चाहन्छु । तसर्थ यस प्रदेशमा खुलेर लगानी गर्नुहुनेछ । हामीलाई जानकारी छ नेपाल चीनबीचको कुल व्यापारको एकतिहाइ सिचुवान प्रान्तबाट हुने गरेको छ । तसर्थ यो परिमाण अझ वृद्धि गर्न प्रदेश सरकारले जुनसुकै कदम चाल्न पनि तयार रहेको जानकारी गराउन चाहन्छु ।

४.बौद्ध पर्यटनको विविधिकृत विकासका लागि स्थानीय जनता, पर्यटन व्यवसायी र पथप्रदर्शकहरु, हाम्रो सरकार अन्तरगतका बुद्ध सर्किटमा पर्ने नगरपालिकाहरु, लुम्बिनी बौद्ध विश्वविद्यालय, साँस्कृतिक सम्पदास्थलहरु आदिसँग घनिष्ट सहकार्यका लागि समेत आह्वान गर्न चाहन्छु ।

५. लुम्बिनी प्रदेशभित्रका गरिएका वस्तुको उत्पादनहरुको विकास र ब्राण्डिङ गर्दै हाम्रा जनताको रोजगारी र जीवनयापनसँग जोड्न तपाईहरुको अनुभव प्रविधि मात्र नभइ उत्पादित वस्तुको बजार सृजना गर्न, नियमित व्यापार मेला आयोजना गर्न वा लुम्बिनी प्रदर्शनी केन्द्र स्थापना गर्नका लागि पहल गर्न समेत यहाँहरु समक्ष अनुरोध गर्दछु ।

६.पवित्र स्थल लुम्बिनी भ्रमण गर्न यहाँको सरकार, सिचुवानबासी समुदाय तथा आम चिनीया जनतालाई हार्दिक आमन्त्रण गर्दछु ।
अन्त्यमा

यो महत्वपूर्ण कार्यक्रममा आमन्त्रण गरेर, अविस्मरणीय र ओझपूर्ण आतिथ्यताका लागि हार्दिक आभार तथा कृतज्ञता प्रकट गर्दै सिचुवानबासी जनताको सुख, शान्ति र निरन्तर समृद्धिका लागि सफलताको कामना गर्दछु । यसै प्रकारको आतिथ्यताको अवसर हामीलाई पनि प्रदान गर्नुहुनेछ भन्ने विश्वासका साथ मेरो भनाइ अन्त्य गर्दछु ।’

यसका अलावा राउण्ड टेबल छलफलमा समेत एजेण्डागत रुपमा छलफल चलाउने कार्य भएको छ जुन एजेण्डा यस प्रकार थिए : 
– प्रदेश राजधानी शहर निर्माण आयोजना देउखुरी दाङ
– भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी र प्रदेश राजधानी शहर राप्ती देउखुरी जोड्न आवश्यक पर्ने सुरुङमार्ग (शिवपुर कालकाटे)
– बुद्ध सर्किटमा पर्ने विभिन्न स्थलमा पर्यटन भौतिक पूर्वाधार निर्माण (मोनोरेल सञ्चालन समेत)
– लुम्बिनी प्राविधिक बिश्वबिद्यालयका लागि चिनिया प्राविधिक विश्वविद्यालयको आवश्यक सहयोग ।
– लुम्बिनी प्रदेश सभाका सभासदहरुको क्षमता अभिवृद्धिका लागि आवस्यक सहयोग (चिनिया धिायन पद्दति र सिकाइ)
– कृषक, पशुपालकहरुको लागि क्षमता अभिवृद्धि उत्पादित वस्तु बजारीकरण तथा जडीबुटी उत्पादकहरुको लागि क्षमता विकासमा सहयोग तथा बजारीकरणमा सहयोग ।
– पर्यटनस्थल व्यवस्थापन र पथपर्दशन सम्बन्धि विशिष्ट तालिम एवं भाषा प्रशिक्षणको लागि अनुरोध गर्ने विषय ।
समग्रमा मुख्यमन्त्रीको सिचुवान भ्रमण उपलब्धीमूलक, सिकाइमुलक तथा प्रभावकारी रहेको निष्कर्ष छ ।
(लेखक मुख्यमन्त्रीको कार्यालय, देउखुरी दाङका जनसम्पर्क सल्लाहकार हुन् ।)