२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भ्रष्टाचार निवारण गर्न प्रदेश सरकार दृढ छ : मुख्यमन्त्री आचार्य

आइतवार , मंसिर ९, २०८१

दाङ, ९ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले जारी गरेको आचारसंहिता र निर्देशन कार्यान्वयन भए÷नभएको बारेमा नागरिकस्तरबाट खबरदारी गर्नुपर्ने बताएका छन् । भ्रष्टाचारविरुद्धको स्वतन्त्र नागरिक समाज मन्च प्यूठानको एक प्रतिनिधि मण्डलसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा आइतबार भएको छलफलमा मुख्यमन्त्री आचार्यले भ्रष्टाचार निवारण गर्न प्रदेश सरकार दृढ रहेको बताएका हुन् ।

प्रदेश सरकाले भ्रष्टाचार नियन्त्रण गर्न पाँचवर्षे रणनीतिक योजना कार्यान्वयनमा लगेको, मुख्यमन्त्री तथा मन्त्रीहरुलाई आचारसंहिता लागू गरेको, मन्त्रालय र निकायका लागि जारी १४ बँुदे निर्देशन जारी गरिसकेको छ । नागरिक तहमा बढ्दो निराशालाई आशामा बदल्ने गरी सरकारले योजनाबद्ध काम अघि बढाएको र त्यसको सफल कार्यान्वयनको लागि नागरिक तहको साथ आवश्यक परेको उनले बताए ।

‘भ्रष्टाचार निवारण गर्ने काम सरकारको एकल प्रयासले मात्रै सम्भव हुँदैन, त्यसमा नागरिकको खबरदारी जरुरी पर्छ’उनले भने,‘म मुख्यमन्त्री भएर पहिलो निर्णय भ्रष्टाचार निवारण गर्न पाँचवर्षे रणनीतिक योजना बनाउने प्रस्ताव स्वीकृत गरेको थिएँ । पाँच वर्षभित्र भ्रष्टाचार निवारणका लागि प्रदेश सरकारले रणनीतिक योजना बनाइसकेको छ । सरकारले बनाएका योजनाहरु कार्यान्वयन गर्न नागरिक सहभागीता जरुरी छ ।’ 

प्रदेश सरकारले योजना कार्यान्वयनमा देखिएको बेथिति नियन्त्रण गर्न पाँच लाख भन्दा माथिका योजना प्रतिष्पर्धाबाट कार्यान्वयन गरेको, जसबाट योजना कार्यान्वयनमा हुने चलखेल रोकिने अवस्थामा पुगेको समेत उनले बताए ।

भ्रष्टाचारविरुद्धको स्वतन्त्र नागरिक मञ्च प्यूठानका संयोजक कर्णध्वज केसीको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले मुख्यमन्त्री आचार्यलाई ज्ञापनपत्र बुझाउँदै भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न अनुरोध गरेको छ । सेवाको नाममा घुस र विकासको नाममा भ्रष्टाचार हुने गरेको भन्दै त्यसलाई रोक्ने गरी उच्चस्तरीय अनुगमन संयन्त्र बनाउन जोड दिइएको छ।

भ्रष्टाचार नियन्त्रणका लागि लागू भएको पाँचवर्षे रणनीतिक योजनामा मुख्यमन्त्री कार्यालयमा उच्चस्तरीय अनुगमन संयन्त्र बनाउने प्रावधान समेटेको छ । भ्रष्टाचारविरुद्धको स्वतन्त्र नागरिक मन्चका सदस्य ओमभक्त पण्डितले भ्रष्टाचार नियन्त्रण गर्न सरकारले थाल्ने अभियानहरु प्रभावकारी बनाउन जरुरी रहेको, नागरिक तहबाट प्राप्त गुनासाहरुको सम्बोधन छिटोछरितो हुनुपर्ने बताए ।

साथै प्रतिनिधि मण्डलले प्यूठान जिल्लामा दुईवटा चिस्यान केन्द्र बनेको तर, प्रयोगमा आउन नसकेको बारेमा मुख्यमन्त्री आचार्यलाई जानकारी गराएको छ । मुख्यमन्त्री आचार्यले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री र सचिवसँग यस बारेमा आफुले जानकारी लिने र प्रयोगका लागि उपयुक्त विकल्पहरु छानिने प्रतिवद्धता जनाए ।