
शुक्रवार , फाल्गुण २८, २०७७
परासी, २८ फागुन ।
सुस्ताको झोलुङ्गे पुल निर्माणमा ढिलाई हुँदा सुस्ताबासीहरु अझै पनि जोखिमपूर्ण डुङ्गा यात्रा गर्दै आएका छन् । पुल निर्माण कार्य समयमै सम्पन्न नहुँदा सुस्तावासीहरु भारतीय बाटो प्रयोग गर्दा एसएसबीबाट विभिन्न यातना पनि खेप्दै आएका छन् । नारायणी नदी (गण्डक) ले घेरिएको सुस्ता भुमिबाट आफनै वडा एवं गाउँपालिका र त्रिवेणी बजार आउन जोखिमपुर्ण डुङ्गा यात्रा गर्नुपर्ने बाध्यता छ रहेको छ भने वर्षाको समयमा विभिन्न समस्याकाबीच पनि भारतीय बाटो नै प्रयोग गर्न बाध्यात्मक अवस्था रहेको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खानले जानकारी दिए ।
नारायणी नदी पारी भारतको विहारसंग जोडिएको सुस्ताभुमी जिल्लाको सुस्ता गाउँपालिका वडा ५ को एक गाउँ हो । उक्त गाउँलाई वडा कार्यालाय, गाउँपालिका र सदरमुकाम संग जोडने गरि सरकारले ५ वर्ष अगाडी २०७२ सालमा झोलुङ्गे पुलको आयोजना दिए पनि ठेकेदारको चरम लापरवाहीले उक्त पुल निर्माण हुन सकेको छैन ।
वर्षाैदेखि भारतीय यातना खेप्दै र जोखिम पूर्ण डुङ्गाबाट यात्रा गर्दै आएका सुस्ताबासीको समस्या सामाधान गर्न सरकारले सुस्ता र पक्लिहवा गाउँ जोडन एसियाकै दोस्रो ठुलो झोलुङ्गे पुलको आयोजना दिएको थियो ।
त्रिसुली आश्रय जे.भी कन्सट्रक्शन कम्पनीले २०७४ सालमा (२९ महिनामा) सम्पन्न गर्ने गरी २७ करोड रुपैयाँमा उक्त ठेक्का लिएको छ । उक्त पुलको १ हजार ५ सय ७१ मिटर लम्बाई र डेढ (१.६) मिटर चौडाई रहेको छ । उक्त झोलुङ्गे पुल निर्माणमा ठेकदार कम्पनीले ढिलाइ गर्दै ५ वर्षमा पनि अन्डर ग्राउण्डकै कार्यमा सीमित रहेको छ । ठेकदारले पुलको जग बनाउन कुल २ सय २० वटा पाईल धाँसिनुपर्नेमा ५ वर्ष लगाएर जम्मा २०० पाईल मात्र धाँसेको छ । यस्तो कछुवा तालको कार्यले यो पुल बन्न अझै ३÷४ वर्ष लाग्छ ।
झोलुङ्गे पुलका लागि नदीमा धाँसिने पाईलिङ्गमा ४ वटा ठुलो अग्लो पिलर ठढयाईने छ भने १० वटा सानो पिलर ठडयाई झोलुङ्गे पुल बाँधिने कार्य हुने छ । २ वर्षमा सम्पन्न गर्नुपर्ने योजना ठेकेदारले म्याद थप्ने काम मात्र गर्ने र ५ वर्षसम्म पनि पाईलिङ्गकै काममा अल्झि अरु अरु कुनै काम नगरेको सुस्ता बचाउ अभियानका प्रवक्ता रबिन्द्र जयसवालले आरोप लगाए ।
ठेकेदार कम्पनी वर्षमा २÷३ महिना काम गर्ने अनि वर्षभरी विभिन्न बहाना गर्दै गायब हुने गरेको मछ । ठेकेदार कम्पनीले कहिले लेबरको अभाव त कहिले पानीको उच्च बहाव देखाउँदै काममा ढिलाई सुस्ती गर्दै आएको छ ।
यता पुललाई छिटोछरितो सम्पन्न गराउन सुस्ता गाउँपालिकाले चासो देखाएको छ । पुलको काम छोडी एक वर्ष फरार रहेको ठेकेदार कम्पनीलाई सुस्ता गाउँपालिकाले सम्बन्धित निकायबाट दबाब दिलाई पुन ः पुलको निर्माण कार्यमा लगाएको गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेले जानकारी लिए । गाउँपालिकाले पुलको नियमित निरीक्षण र आइपर्ने समस्याहरुको सामाधान गर्दै पुल निर्माणको कार्य छिटै सम्पन्न गराउन ठेकेदार कम्पनीलाई ताकेदा गर्दै आएको अध्यक्ष पाण्डेले बताए ।
सुस्ता पुग्न एक मात्र नेपाली बाटो जोखिमपुर्ण डुङ्गा यात्रा हो । सुस्ताभुमी पुग्न नदीमा करिब ढाई (२.५) किलोमिटरको दुरी डुङ्गाले यात्रा तय गर्नुपर्दछ । उक्त यात्रा बाढीको समयमा २ घण्टा र सुख्खा समयमा करिब १ घण्टा लाग्ने गर्दछ । वर्षाको बेला नदीमा उच्च बाढीका कारण नदीमा डुङ्गा चलाइँदैन उता भारतको विहार बाटो हुँदै आवतजावत गर्दा बाध्यता रहेको सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङ्गले दुःखेसो पोखे ।
सुस्ताबासीहरुको मुख्य पेशा खेती र माछा मार्ने हो । ३ सय घरधुरी रहेको सुस्तामा खासगरि विपन्न परिवारका समुदायहरुको बसोबास बढी छ । करिब ४० हजार ९ सय ८० हेक्टेयर क्षेत्रफलमा फैलिएको उक्त सुस्ता भुमि वर्षौ देखिनै भारतीय पक्षद्धारा अतिक्रमण हँुदै हाल १४ हजार ४ हेक्टर क्षेत्रफल अतिक्रमण भइसकेको छ र १९ हजार ५८० हेक्टर क्षेत्रफल भारतीय पक्षले विवादित भन्दै जोतभोगबाट रोक लगाएको छ ।
हाल सुस्ताबासीहरुको जोतभोगमा जम्मा ७ हजार हेक्टर क्षेत्रफल मात्र रहेको उनीहरु बताउँछन् । सुस्तामा बाटोघाटो, खानेपानी, शिक्षा, स्वास्थ्य भौतिक पुर्वाधार समेतको समस्या वर्षौदेखि नै यस्तै छ । यस वर्षबाट सुस्तामा सोलारबाट बिजुलीको पहुँच भएको छ भने अरु समस्या यथावत नै छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij