२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

भैंसीपालक किसानको घरआँगनमा प्रदेश सरकार, दुधको बजारीकरण गर्न पहल

शनिवार , पौष ६, २०८१

दाङ, ६ पुस । लुम्बिनी प्रदेश सरकारले भैंसीपालक किसानसँग छलफल गरेको छ । दाङ जिल्लाको राजपुर र गढवा गाउँपालिकाका भैंसीपालक किसानसँग कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीसहित मन्त्रालयको एक प्रतिनिधि मण्डलले घरदैलोमा पुगेर किसानसँग छलफल र अन्तरक्रिया गरेको हो । किसानले भोग्दै आएको दुधको बजारीकरण गर्न प्रदेश सरकारले पहल लिने मन्त्री पन्थीले प्रतिवद्धता व्यक्त गरेका छन् । ‘उत्पादनमा आधारित प्रदेश सरकारले दिदै आएको अनुदान किसानकै हातमा पुग्छ । पुर्‍याएका पनि छौं’मन्त्री पन्थीले भने,‘अब दुध उत्पादन बढाउन नश्ल सुधार र उत्पादित दुधको बजारीकरणका लागि सरकारले योजना बनाउँछ ।’ 

राजपुर भैँसीपालनका लागि राम्रो ठाउँ भएको भन्दै मन्त्री पन्थीले किसानले दुधको उत्पादनलाई बढाउन परम्परागत रूपमा रहेको भैँसीपालनलाई आधुनिकीकरणसँगै नश्ल सुधारमा ध्यान दिनुपर्ने बताए । ‘परम्परागत रुपमा भैँसीपालन गर्दा किसानको लगानी धेरै, नाफा कम भइरहेको छ’, मन्त्री पन्थीले भने, ‘परम्परागत रूपमा गरिएको भैँसीपालनले किसानको अवस्थामा सुधार आउँदैन । किसानले थोरै लगानीबाट धेरै आम्दानी गर्नेतर्फ सोच्नुपर्छ ।’ त्यसका लागि किसानले गोठ सुधार, पौष्टिक आधार, नश्ल सुधारदेखि उत्पादन भएको दुधको विक्रीमा ध्यान दिनुपर्ने बताए । 

परम्परागत रहेको भैँसीपालनलाई व्यवस्थित गर्दै अघि बढ्न सके प्रशस्त आम्दानीसँगै रोजगारीका अवसर समेत सिर्जना गर्न सकिने मन्त्री पन्थीको भनाइ छ । दुध उत्पादक किसानले भोग्दै आएका समस्या समाधानका लागि लुम्बिनी प्रदेश सरकार गम्भिर रहेको भन्दै मन्त्री पन्थीले भने, ‘व्यवसायिक रूपमा उत्पादन गरेको दुध टाउकोमा बोकेर विक्री गर्न साध्य छैन, घरबाटै दुध विक्री हुन सक्नुपर्छ । किसानले भोग्दै आएको दुध विक्रीको समस्या समाधानका लागि प्रदेश सरकारले सहजीकरण गर्नेछ ।’

यादव सेवा समाज दाङ देउखुरीले भैँसीपालक किसानले भोग्दै आएका समस्या समाधानका लागि अन्तरक्रिया कार्यक्रम गरेको छ । जनप्रतिनिधिसहित भैँसीपालक किसानको सहभागितामा राजपुर गाउँपालिका–३ खरदरियामा अन्तरक्रिया कार्यक्रम भएको थियो । 

कार्यक्रममा सहभागीले परम्परागत रूपमा पाल्दै आएको व्यवसायलाई आधुनिकीकरण गर्नेदेखि उत्पादन भएको दुधको उचित मूल्यसँगै बजारीकरणमा सरकारले सहयोग गर्नुपर्ने माग गरेका थिए । 

यादव समाज सेवा संघका केन्द्रीय अध्यक्ष हिरालाल यादवको अध्यक्षता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

किसानको चाहना गाउँबाटै दुध विक्री होस्

राजपुर गाउँपालिका–३ खरदरिया निवासी रामधिरज यादव भैँसीपालक किसान हुन् । उनीसँग अहिले ३५ जिउ भैँसी रहेका छन् । पुख्र्याैली पेसाका रूपमा भैँसीपालन गर्दै आएका यादवका १४ वटा भैँसीले दुध दिने गरेका छन् । तर, गाउँमा दुध विक्रीका लागि डेरी वा दुध संकलन केन्द्रको व्यवस्था नहुँदा प्रत्येक दिन करिब ३५ किलोमिटर टाढा रहेको घोराही बजारसम्म आउनुपर्ने बाध्यता रहेको बताए । 

‘गाउँमै दुध विक्री गर्ने व्यवस्था भइदिए सहज हुने थियो’, राजपुर गाउँपालिका–३ खरदरिया पुगेका लुम्बिनी प्रदेशका कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीसँग समस्या राख्दै ७० वर्षिय यादवले भने, ‘भैंसीपालक किसानका लागि पानी र घाँसको अत्यन्त आवश्यक छ । तर, गाउँमा पानी नै नहुँदा समस्या भइरहेको छ । पानीको व्यवस्थासँगै दुध विक्रीका लागि सहज व्यवस्था गरिदिए प्रत्येक दिन घोराहीसम्म जानुपर्ने थिएन ।’ 

गाउँमा दुध खरिद गर्न आउने व्यवसायीले अत्यन्त कम मूल्य दिँदा किसान आफै दुध विक्रीका लागि लमही, घोराही, भालुबाङ बजारसम्म जाने गरेको बताए । आफै दही, दुध विक्रीका लागि बजारसम्म जाँदा थोरै भए पनि आम्दानी हुने र घरव्यवहार चलाउन सहज भएको बताए । उनका अनुसार बजार १०० रुपैयाँ लिटर विक्री हुने दुध गाउँमा व्यवसायीले प्रतिलिटर ५०÷६० रुपैयाँ मात्र दिने गरेको बताए । 

गाउँमा व्यवसायीलाई दुध दिँदा भैँसीपालनमा गरेको लगानी नै नउठ्ने अवस्था रहेको अर्का किसान सीताराम यादव बताउँछन् । गाउँमा दुधको मूल्य नहुँदा किसान आफँले बोकेर बजारसम्म लैजानुपर्ने बाध्यता रहेको उनले बताए । दुध विक्रीदेखि भैंसीलाई खुवाउनका लागि पानीको गाउँमा अत्यन्त समस्या रहेको भन्दै यादवले भने, ‘भैंसीपालन नै हाम्रो मुख्य पेशा हो । दुध, दही विक्री गरेर घरपरिवार चलाउने गरेका छौं । तर, उत्पादन भएको दही, दुध विक्री गर्नै समस्या छ । गर्मी मौसममा भैंसीलाई खानेपानी नै हुँदैन । जसले गर्दा घाँसखेती गर्नै समस्या छ, यसतर्फ सरकारले ध्यान दिए हामीलाई सहज हुने थियो ।’ 

Krishi News (2).jpeg

परम्परागत रूपमा रहेको भैंसीपालनलाई आधुनिकीकरण गर्न किसान उत्सुक रहे पनि आर्थिक अभावका कारण नसकेको भन्दै यादवले प्रदेश तथा स्थानीय सरकारले अनुदानको व्यवस्था गरेर गोठ तथा नश्ल सुधारमा सहयोग गर्नुपर्ने मन्त्री पन्थीसँग माग गरे । खरदरियाका सीताराम र रामधिरज जस्तै बेला, मटेरिया, प्रतापपुरलगायतका गाउँका किसानले दुधको उचित मूल्यसँगै बजारीकरणमा सहयोग गरिदिन सरकारसँग माग गरेका हुन् ।