
शुक्रवार , पौष १२, २०८१
भैरहवा, १२ पुस । लक्ष्मी सनराईज बैंकले शुक्रबार रुपन्देहीको भैरहवामा डिजिटल वित्तीय संवाद कार्यक्रम आयोजना गरेको छ । बैंकले अंग्रेजी महिना डिसेम्बरलाई डिजिटल डिसेम्बर घोषणा गर्दै सातैवटा प्रदेशमा डिजिटल संवाद कार्यक्रममार्फत वित्तीय सचेतना दिने उद्देश्यले लुम्बिनी प्रदेशको भैरहवामा डिजिटल सम्वाद कार्यक्रम आयोजना भएको हो ।
बैंकले डिजिटल डिसेम्बर पहल अन्तर्गत भैरहवामा आयोजित कार्यक्रममा यस क्षेत्रका व्यवसायी, विद्यार्थी, प्राध्यापक, कर्मचारी, सुरक्षा निकाय लगायतका सरोकारवालासँग सम्वाद कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा डिजिटल भुक्तानी लगायतका विषयमा जानकारी दिदै यसका फाइदासँगै नकारात्मक पक्षका बारेमा चर्चा सहभागीले गरेका थिए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक एवं सिद्धार्थनगर शाखाका प्रमुख विज्ञान राज सुवेदीले राष्ट्र बैंकको पछिल्लो समय डिजिटल भुक्तानीको प्रयोग बढिरहेको भन्दै जति बढी जनतामा वित्तीय साक्षरता प्रदान गर्न सकियो त्यति बढी डिजिटल भुक्तानीको ब्यापकता बढने बताए । उनले नेपाल राष्ट्र बैंकको मुख्य एजेण्डाका रुपमा वित्तीय साक्षरता रहेको जनाए । ‘त्यसैले हामीले सबै स्टेकहोल्डरहरुलाई वित्तीय साक्षरता अनिवार्य गर्न लगाउने गरेका छांै, ’उनले भने ।
डिजिटल भुक्तानी या डिजिटल बैंकिङ्गका क्रममा सेवाग्राहीमा प्राविधिक समस्या आउने गरेको मात्र नभइ ठगिएको गुनासो समेत आउने गरेकाले त्यस्ता प्राविधिक पक्षको समाधानमा सेवा प्रदायक सस्था लाग्नुपर्नेमा जोड दिए । निर्देशक सुवेदीले लुम्बिनी प्रदेशमा मोबाइल बैंकिङ प्रयोगकर्ता र इन्टरनेट बैंकिङ प्रयोगकर्ता बढिरहेको जनाए ।
कार्यक्रममा रुपन्देही जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी (डीएसपी) सुरज कार्कीले डिजिटल भुक्तानीले आम सर्वसाधारणलाई धेरै सजिलो बनाइदिएको बताउँदै समस्या पनि रहेको जनाए । डिजिटल पेमेन्टका माध्यमबाट ठगी, बैंकको कर्मचारी भन्दै ओटिपी माग गरी ठग्ने, फेक अनलाइन पसल खोली अनलाइन पेमेन्ट माग गरी ठगी, स्पाम मेसेज गरी डिजिटल पेमेन्टमार्फत सर्वसाधारण ठगिने गरेको भन्दै यस्ताबाट सबै सचेत हुने गरी डिजिटल भुक्तानी अझ प्रभावकारी, भरपर्दो र सुरक्षित बनाउनुपर्नेमा जोड दिए ।
सर्वसाधारणले चेक बाउन्स, साइबर अपराध, अनलाइन ठगी लगायतका समस्या लिएर कार्यालयमा आउने गरेका छन्, डिजिटल पेमेन्ट होस या साइबर वा अनलाइन ठगीको अनुसन्धान केन्द्रबाट हुने र सीमित स्रोतसाधनका कारण समय लाग्ने डीएसपी कार्कीले बताए ।
डिजिटल भुक्तानी भएको देखिने तर, उता अर्को संस्था वा व्यक्तिको खातामा भुक्तानी नहुने समस्या पनि आउने भएकाले त्यस्ता विषयमा अटो रिफन्ड हुने व्यवस्था भए सेवाग्राहीलाई सुविधा पुग्ने उनले बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बैंकिङ कारोबारमा डिजिटल भुक्तानीले सबैलाई फाइदा पुर्याएको बताए । ‘अहिले पैसा मात्र होइन, संसार नै मोबाइलमा रहेको छ, नविन प्रविधिले व्यवसाय अघि बढाउन मद्दत गरेको छ, उद्योग–व्यवसाय क्षेत्रमा अझ बढी फाइदा पुगेको छ, क्यासलेस मात्र होइन, फेसलेस कारोबार हो डिजिटल भुक्तानी, ’अध्यक्ष श्रेष्ठले भने ।
उनले थपे, ‘अनलाईन बिजिनेशसँगै अनलाइन पेमेन्ट बढेको छ साथै नकारात्मक कुराहरु पनि छन, व्यक्तिगत खातामा पेमेन्ट गर्दा १० रुपैयाँमा पनि ११ रुपैयाँ भन्दा बढी शुल्क लाग्ने रहेकोमा न्यूनतम भुक्तानी तोक्ने र चेक क्लियरिङमा लगाउन थालिएको मुल्य अभिवृद्धि कर खारेज गरी डिजिटल भुक्तानीलाई अझ बढी लोकप्रिय बनाउन सकिनेछ ।’
रुपन्देही क्याम्पसका क्याम्पस प्रमुख पार्थिवेन्द्र उपाध्यायले डिजिटल साक्षरता र भुक्तानी कोरोना महामारीपछि एकदम व्यापक भएको र युवा विद्यार्थीहरुले बढी फाइदा लिएको जनाए । यसको गलत प्रयोग पनि सुनिएको छ, त्यस्तालाई निरुत्साहित गर्नुपर्छ, भुक्तानी गर्ने स्थानमा इन्टरनेट सुविधा हँुदैन, त्यस्ता स्थानमा सेवाग्राहीले डाटा प्रयोग गरी भुक्तान गरेको पाइन्छ, त्यसैले सेवाग्राहीलाई सेवा प्रदायकले यो सेवा लिएसँगै वार्षिकरुपमा न्यूनतम डाटाको सुविधा पनि उपलब्ध गराउनुपर्छ, ’उपाध्यायले भने । डिजिटल भुक्तानीमा अतिरिक्त सेवा रोग भएकोले लिन नहुने उनको तर्क छ । पेमेन्ट तत्काल हुने तर सेटलमेन्ट तत्काल नहुँदा देखिने अर्को समस्या रहेको उपाध्यायको भनाइ छ ।
महिला उद्यमी एवं काशी सिनेप्लेक्सकी सञ्चालक अञ्जु जैसीले महिलाहरुमा वित्तीय साक्षरता मात्र नभइ डिजिटल भुक्तानी गर्ने क्रम समेत विस्तारै बढ्दै गएको बताइन् । यसलाई व्यापक बनाउन अझ बढी बैंकिङ शिक्षा आवश्यक रहेको उनको तर्क छ । उनले
डिजिटल बैंकिङ समयको माग रहेको र यसलाई पछ्याउन सकिएन भने अर्थ बजारबाट पछि परिने जैसीले बताइन् । डिजिटल बैंकिङकै कारण कतिपय महिला दिदीबहिनीहरु अनलाईन बिजिनेश गर्दै स्वरोजगार भइरहेको र आफनो काशी सिनेप्लेक्समा पनि अनलाईन बुकिङ र पेमेन्ट सुरु गरिएको बताईन । डिजिटल पेमेन्टले सम्बन्ध नबिग्रने र वादविवाद नहुने उनको भनाइ छ ।
श्री रण अम्बिका शाह आँखा अस्पतालका वित्त प्रमुख भेष विक्रम थापाले डिजिटल भुक्तानीले सबै पक्षलाई फाइदा पुगेको जनाउँदै नकारात्मक पक्षलाई समाधान गर्दै अघि बढनुपर्नेमा जोड दिए । उन्ले अस्पतालमा आउने भारतीय सेवाग्राहीले समेत डिजिटल पेमेन्ट गर्ने गरेको बताए ।
कार्यक्रममा भुक्तानी प्रदायक संस्था आइएमई पे का लुम्बिनी प्रमुख सुवास गैरेले भुक्तानी प्रदायक सस्था आइएमई पे ले दिदै आएको सबैखाले सेवासुविधाका साथै डिजिटल बैंकिङबारे जानकारी दिएका थिए ।
बैंकका डिजिटल च्यानल अपरेसन्स विभाग प्रमुख सुमन प्रसाद गेलालले डिजिटल भुक्तानीमा सेवाग्राहीलाई थाहा हँुदाहुँदै पनि समस्या देखिने गरेको भन्दै वित्तिय साक्षर छु भन्नेहरुबाट बढी समस्या हुने गरेको र चेक बाउन्स त्यसको उदाहरण रहेको बताए । गेलालले डिजिटल भुक्तानीका कारण लिने र दिनेबीचको भौतिक उपस्थितलाई विस्थापित गरेको भन्दै यो भुक्तानी प्रणालीलाई देश–विदेशका सीमानाले नरोक्ने र बिदाको दिन मात्र नभइ चाहेको बेलामा गर्न सकिने भएकाले सबैलाई सहज र सजिलो बन्दै गएको बताए ।
लक्ष्मी सनराइज बैंकका लुम्बिनी प्रदेश प्रमुख ओम प्रकाश कण्डेलले डिजिटल बैंकिङले दैनिक जीवनलाई कसरी प्रभावकारी बनाएको छ र यसका महत्व, फाइदा के–के छन, वित्तीय साक्षरताको अहिलेसम्मको प्रयास लगायतका बिषयमा सरोकारवालासँग सम्बाद गर्ने उद्देश्यले केन्द्रिय कार्यालयको नीति अनुसार कार्यक्रम भएको बताए ।
बैंकले चालु डिसेम्बर महिनामा डिजिटल कारोबारलाई प्रवद्र्वन गर्ने उद्देश्यले विभिन्न अफर, अभियान तथा अन्तरक्रियाहरु गरी डिजिटल डिसेम्बरका रुपमा मनाइरहेको लक्ष्मी सनराइज बैंक भैरहवा शाखा प्रबन्धक सन्तोष सापकोटाले बताए । यसै सन्दर्भमा बैंंकले यस क्षेत्रका विभिन्न व्यवसायी, शिक्षक, विद्यार्थी, प्राध्यापक, कर्मचारी, सुरक्षा निकाय लगायतको उपस्थितिमा डिजिटल भुक्तानी लगायतका विायमा डिजिटल सम्बाद कार्यक्रम गरेको सापकोटाले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij