
शनिवार , फाल्गुण २९, २०७७
बुटवल, २९ फागुन ।
बुटवल ९ मा रहेको गरिमा बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यहरुका लागि आधारभूत सहकारी शिक्षा तालिम प्रदान गरेको छ । सहकारीमा रहेका शेयर सदस्यलाई सहकारीको ज्ञान प्रदान गर्ने उद्देश्यले वार्षिक कार्ययोजना अनुसार नै तालिम प्रदान गरेको सहकारीले जनाएको छ ।
तालिमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका–९ का अध्यक्ष एवं सहकारीका संरक्षक तथा निर्वतमान अध्यक्ष बिष्णु बहादुर थापाले शेयर सदस्य मात्रै बनेर बस्ने परम्परा हाटाउनको लागि यस्ता किसिमका तालिमहरु प्रभावकारी हुने बताए । उनले सहकारीका सदस्यहरुलाई तालिमले शेयर सदस्य अझै जिम्मेवार हुनको लागि प्रेरणा पुग्ने विश्वास व्यक्त गरेका थिए । उनले सहकारीको विकासका लागि आवश्यक छलफल तथा सहयोग गर्न वडा नम्बर ९ र समग्र बुटवल उपमहानगरपालिका नै तयार रहेको बताए ।
तालिमको उद्घाटन सत्र सहकारीका अध्यक्ष कृष्ण प्रसाद देवकोटाको अध्यक्षता तथा सहकारीको शिक्षा उपसमिति सदस्य यमकुमारी थापाको स्वागत र समितिका सदस्य बासुदेव पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
तालिममा सहकारी सम्बन्धी जानकार एव पल्लवी सहकारी संस्था देवदहका व्यवस्थापक केशव आचार्यले प्रशिक्षण दिएका थिए । आचार्यले सहकारीको अर्थ, शेयर सदस्यका काम, कर्तव्य र अधिकार, सहकारीको इतिहास, भविष्य तथा पाइरहेका सेवा सुविधाको बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।
२०६७ सालमा स्थापना भएको सहकारीका ७५ जनाको सहभागितामा तालिम प्रदान गरिएको सहकारीका सचिव पुरुषोत्तम आचार्यले जानकारी दिए । सहकारीमा ९ सय ३५ शेयर सदस्यहरु रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij