२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाले पाउने आर्थिक लाभ

आइतवार , पौष १४, २०८१

विश्वशान्तिका अग्रदूत भगवान गौतमबुद्घको पवित्र जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवा देशको औद्योगिक, कृृषि, व्यापारिक र पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण र स्थापित केन्द्रबिन्दू हो । नेपालकै प्रमुख आवागमनको प्रवेशद्वार भएकोले यस नगर पर्यटकीय, औद्योगिक, कृषि, तथा व्यवसायिक दृष्टिले अत्यन्तै सम्भावनायुक्त नगरको रूपमा परिचित रहेको छ ।

स्थलमार्गबाट सबैभन्दा धेरै बाह्य पर्यटक भित्रिने भैरहवास्थित बेलहिया नाको पर्यटकीय महत्वसँगसँगै शिलन्यास भएको करिबकरिब तीन वर्षपछि अलि भरपर्दो र दिगो रुपमा सञ्चालन हुने आशाका साथ सञ्चालनमा आएको गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले भैरहवा, रुपन्देहीले मात्र नभइनेपालकै पर्यटन प्रवद्र्धनमा विशेष महत्व राख्ने विश्वास लिइएको छ । वि.सं. २०२३ फागुन १७गते तत्कालीन युवराज वीरेन्द्र शाहबाट उद्घाटन भएको भैरहवा विमानघाट ५८ वर्षपछि अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा आफ्नो अस्तित्व कायम गर्न सफल भएको छ र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी र दिगो सञ्चालनले पवित्र लुम्बिनी मात्र नभइ समग्र लुम्बिनी प्रदेशको पर्यटकीय विकासमा मात्र नभएर देशकै  आर्थिक विकासमा महत्वपूर्ण योगदान लिने कुरामा दुईमत हुन सक्दैन । यो विमानस्थल नेपालका लागि महत्वपूर्ण पूर्वाधार हो ।

यो विमानस्थलले नेपालको पर्यटन, व्यापार र स्थानीय तथा राष्ट्रिय आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान पु¥याउने यसको दिगो र निरन्तर सञ्चालनले विभिन्न आर्थिक लाभहरू निम्त्याउनेछ, जसले देशको समग्र विकासलाई तीव्रता प्रदान गर्नेछ भन्ने विषयले आम नागरिकको आशाको किरण देखा पर्दैछ । नेपालको प्रमुख मध्ये एक रहेको पर्यटनको विकासकालागि शान्तिभूमि तथा गौतमबुद्धको जन्मस्थलको काखैमा निर्माण सम्पन्न भइ ढिलै भएपनि यहाँबाट अन्तर्राष्ट्रिय उडानहरुको सुरुवात रहोस् भन्ने हामी सबैको चाहना थियो । यसको सफलतासँगै विशेष गरी पर्यटन उद्योगतर्फ यस क्षेत्रका लगानीका थप अवसरहरु आउनुका साथै थपिदै गएका छन् ।

नेपाल विश्वभर बुद्धको जन्मस्थलको रूपमा परिचित लुम्बिनी जो युनेस्कोको विश्वसम्पदा सूचीमा सूचीकृत छ, विशेष गरी बौद्ध धर्मावलम्बीहरूका लागि पवित्र गन्तव्यको रुपमा रहेको लुम्बिनीका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनले लुम्बिनी लगायत नेपालका अन्य धार्मिक तथा साँस्कृतिक गन्तव्यहरूमा पर्यटक आगमनलाई सहज बनाउने, त्यसमार्फत  हुने पर्यटकहरूको आगमनले होटल, रेष्टुरेण्ट, यातायात सेवा र अन्य स्थानीय व्यवसायहरूलाई उकास्ने, विद्यमान अवस्थामा अािर्थक चलायमानमा वृद्धिसहित विदेशी मुद्रा आर्जन हुनेछ, जसले विद्यमाना रहेको नेपालको व्यापार घाटालाई कम गर्न मद्दत पु¥याउन महत्वपूर्ण हने देखिन्छ । त्यसको साथसाथै उल्लेख्य मात्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीका अवसरहरू सिर्जना हुनजाने अप्रत्यक्ष रूपमा, होटल व्यवसाय, यातायात सेवा, टुर गाईड र अन्य सहायक क्षेत्रहरूमा रोजगारी सिर्जना हुनेछ ।

रुपन्देही भैरहवा नेपालको औद्योगिक क्षेत्र समेत रहेकोले  पर्छ यहाँका औद्योगिक प्रतिष्ठानहरू मार्फत नविनतम उत्पादनमूलक उत्पादनहरु  जुन अन्तर्राष्ट्रिय बजारमा माग हुन सक्छ सो को विमानस्थलमार्फत उत्पादनहरूको निर्यात गर्न सक्ने सम्भावना देखिन्छ भने उच्चमूल्यका कृषि उत्पादन अदुवा, अलैंची,  विश्वबजारमा र विशेष गरी यहाँबाट सजिलै उडान हुने खाडी मुलुकहरुमा नजिकका जिल्लाहरुबाट अर्गानिक कृषि उत्पादनहरु उत्पादन गरी बिहानको उत्पादन साँझ उक्त गन्तव्यमा पुग्ने सक्ने अवसरलाई सदुपयोग गर्न निजी उद्यमीहरुको ध्यान जानुपर्छ । त्यसप्रकारका उत्पादनलाई प्रोत्साहन गने नीति सरकारले तत्काले निर्माण गर्नुपर्छ । साथै लुम्बिनी क्षेत्रका रैथाने उत्पादनहरु विदेशी बजारमा पु¥याउने अवसरहरु विमानस्थलले जुटाइदिएको छ । यसको लागि कार्गो विमान सञ्चालनका लागि पनि थप पहलको आवश्यकता देखिन्छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सिधा अन्तर्राष्ट्रिय सम्पर्कसहित ट्रान्जिट हबको रूपमा पनि विकास गर्न सकेको खण्डमा थप एयरलाइन्सहरुले आफ्नो सेवा विस्तार गर्न सक्नेछन्, जसले विदेशी विमान सेवाहरूसँग साझेदारीलाई बढावा दिनेछ जुन दीर्घकालीन रुपमा फाइदा जनक हुने देखिन्छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो र निरन्तरको सञ्चालनको लागि राष्ट्रिय ध्वजाबाहक विमान वा कुनै निजीविमानमात्र विमानस्थल आउनुले सञ्चालनको निरन्तरताको र दिगोपनाको सुनिश्चितता हुन सक्दैन । यसको लगि विमानसहित उडानको लागि चाहिने पूर्वाधार वा नागरिकको लागि चाहिने आधारभूत पूर्वाधार सेवाहरु पूर्व क्षमतासहित अधिकार सम्पन्न श्रम स्वीकृति कार्यालय, श्रम गन्तव्य भएका मुलुक र मुख्य बौद्धधर्मालम्बीहरुको बाहुल्यता भएका राष्ट्रहरुका भिषा सेन्टर कार्यालय, श्रम गन्तव्य भएका मुलुक र मुख्य बौद्धधर्मालम्बीहरुको बाहुल्यता भएका राष्ट्रहरुका भिषा सेन्टर कार्यालय, मेनपावर कम्पनीहरुलाई स्थापनाका लागि प्रोत्साहन र स्थापनाको सुनिश्चितता सहित सरकारी ध्वजाबाहक नेपाल वायुसेवाबाट भैरहवा–दिल्ली बौद्ध धर्मालम्बीहरुको बाहुल्यता भएका मुख्य राष्ट्रमा गौतमुबद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानको व्यवस्था गरिनुपर्छ भने आमनागरिकलाई त्रिभुवन विमानस्थलबाट यात्रा गर्ने टिकट शुल्कको तुलनामा गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थल भैरहवाबाट यात्रा गर्ने टिकट शुल्कमा उल्लेख्य कमी गरेर आर्कषण गर्ने नीतिनिर्माण गर्दै क्रमशः भैरहवा विमानस्थलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरुको संख्या वृद्धि गर्दैजाने र निजी सेवाप्रदायक संस्थाहरुले पनि गुणस्तरीय सेवाको प्रत्याभूतिको सुनिश्चितता प्रदान गर्नुपर्ने देखिन्छ ।

करिब करिब सडक पूर्वाधार र पर्यटन क्षेत्रसँग सम्बन्धित सबै पूर्वाधारहरु रहेको नेपालको करिब मध्यभागमा रुपन्देहीको भैरहवास्थित राष्ट्रको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनले लुम्बिनी प्रदेशको आर्थिक विकासमा अहम योगदान दिने सुनिश्चित छ । यसका लागि सरकार र निजी क्षेत्रसँगै अगाडि बढ्नुपर्छ । यो विमानस्थलको दिगो सञ्चालनको लागि विशेष गरी पर्यटन उद्योगसँग सम्बन्धित निजी क्षेत्रले सरकारसँग गुनासो मात्र गर्नुभन्दा आफ्ना तर्फबाट गौतबुद्ध विमानस्थलबाट यात्रा गर्ने यात्रुहरुलाई के–कस्ता सेवा सुविधा दिने भन्ने सकिन्छ, पर्यटकहरुको बसाई लम्ब्याउने खालका प्याकेजहरु बनाउने र त्यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका प्रचारप्रसार गर्ने गरी कार्य थाल्नुपर्छ ।

गौतमबुद्ध अन्तर्र्रािष्ट्रय विमानस्थलको दिगो र निरन्तर सञ्चालनले नेपालको अर्थतन्त्रमा दीर्घकालीन लाभ पुर्‍याउनेछ । यसले पर्यटन, व्यापार, रोजगारी र पूर्वाधार विकासलाई तीव्रता प्रदान गर्ने मात्र नभइ नेपाललाई क्षेत्रीय उडड्यन हबको रूपमा स्थापित गर्ने सम्भावना पनि देखाउँछ । विमानस्थलको निरन्तरको सञ्चालनसहित त्यसको पर्यटकीय लाभ लिनको लागि आउने आन्तरिक यात्रु, भैरहवामा पर्यटकहको बसाई लम्ब्याउने पर्यटकीय पूर्वाधारहरुको निर्माण, भैरहवा–लुम्बिनी सडकखण्डलाई आकर्षक पर्यटकमैत्री बनाउने तर्फ पर्यटन व्यवसायी, उद्योगी, स्थानीय सरकारहरुले आवश्यक रणनीतिक योजना र सहकार्य मार्फत यो विमानस्थल नेपालको आर्थिक परिवर्तनको आधार स्तम्भ बन्न सक्ने देखिएकोले रुपन्देही भैरहवाको लाागि मात्र नभइ समग्र राष्ट्रको आर्थिक विकासकालागि आशाको किरणको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो र निरन्तर सञ्चालनसहित स्थलमार्ग भएर सबैभन्दा बढी बाह्य पर्यटक भित्रिने सडकमार्गको लाभ लिने गरी योजनाबद्ध रुपमा अगाडी बढ्न सबैको हातेमालो जरुरी देखिन्छ । किनभने यसको आर्थिक लाभप्राप्त गर्ने पहिलो अवसर रुपन्देही, भैरहवाले नै पाउने हो भन्ने विषयलाई सबैले मनन् गर्नुपर्ने देखिन्छ ।