
बुधवार , पौष १७, २०८१
भैरहवा, १७ पुस । पहाडी जिल्ला बाग्लुङमा पर्ने ‘ढोरपाटन’ मुलुकको एक मात्र शिकार आरक्ष क्षेत्र हो । बागलुङ, म्याग्दी र रुकुममा फैलिएको शिकार आरक्षको उपत्यका र अधिकांश क्षेत्रफल बागलुङ जिल्लामा पर्दछ । चाफेरो अग्लाअग्ला पहाड । बीचमा समथर उपत्यका । उपत्यकामा चरण गर्दै गरेका घोडा र खच्चड । उपत्यकाको आसपासमा उत्तरतर्फ कलकल बग्ने उत्तरगंगा नदी । यो सुन्दर दृश्य ढोरपाटन सिकार आरक्षको उपत्यकाको हो । यहाँ पुग्ने जोकोही पनि यहाँको प्राकृतिक सुन्दरतामा मोहित हुन्छन् । यो सुन्दरतामा नरमाउने सायद कोही पनि हुँदैनन् होला । पुगेपछि ढोरपाटन जति सुन्दरता र रमाइलो छ, पुग्नका लागि उत्तिकै कठिन पनि छ ।
आन्तरिक र बाह्य पर्यटक मात्र होइन, विश्वका सौखिन सिकारी पनि यहाँ शिकार खेल्न आउने गर्छन् । पश्चिम नेपालमा धौलागिरी हिमश्रृङ्लाभित्र पर्ने ढोरपाटन समुन्द्री सतहबाट २ हजार ८ सय ५० मिटरदेखि ५ हजार ५ सय मिटर उचाईमा अवस्थित छ । सिकार आरक्षको केन्द्र रहेको ढोरपाटन बागलुङको मुख्य पर्यटकीय गन्तव्य हो ।
त्यही उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा रहेको ढोरपाटनमा घुम्न जाने सोच अनुसार त्यसतर्फ लाग्यौं । भैरहवादेखि बाग्लुङको बुर्तिवाङसम्म पुग्दासम्म खासै समय लागेन । खबरपात्रो मिडिया प्रा.लि.को टीम बिहान ६ बजे रुपन्देहीको भैरहवाबाट त्यसतर्फ प्रस्थान गरेको थियो । दिउँसो २÷३ बजे बुर्तिबाङ पुगेका हामी ढोरपाटन पुग्दा भने साँझ ७ बजेको थियो । पर्यटकीय क्षेत्रको रुपमा फराकिलो सम्भावना बोकेको ढोरपाटन दुरीका हिसाबले नजिकै देखिए पनि सडक पूर्वाधारको अभावका दुर्गम जस्तै रहेछ ।
बाग्लुङको बुर्तिबाङबाट ढोरपाटनसम्मको दुरी २२ किलोमिटर मात्र छ । हाम्रो अनुमानमा १ घण्टामा पुगिन्छ होला भन्ने थियो । गाडी बुर्तिबाङबाट अगाडि लाग्यो । कच्ची बाटो अग्लाअग्ला र ठूलाठूला पहाड पहाडको मुनीतिरबाट ठूलाठूला ढुंगाहरुसँग ठोक्किदै छङछङ गर्दै बगेका खोला, छहराहरुले हाम्रो मनलाई निकै आनन्दित तुल्याएको थियो । खोलाको बाटो, ठूलाठुला ढुंगाहरु, घुमाउरा घुम्तीहरु पार गर्दै सजिलो बाटो र गन्तव्यस्थलको पर्खाइमा आतुर मनहरुलाई भूलाउन फोटो भिडियो क्यामरामा कैद गर्दै चार घण्टाको यात्रापछि ७ बजे ढोरपाटन होमस्टे पुगियो ।
बिहान ६ बजेदेखि गरिएको यात्रा साँझको ७ बजे मात्र रोकियो । गन्तव्यमा पुग्दा अध्यारो भइसकेको थियो । साँझ छिप्पदै जाँदा चिसो पनि आफ्नै तालमा बढिरहेको थियो । होमस्टेमा मरिच राखेको रातोपिरो चियाको चुस्कीसँगै हामीमध्ये केही साथीहरु समाचारको खेतीमा लाग्यौं भने केही भने खानाको प्रबन्ध मिलाउनतर्फ जुट्यौ ।
ढोरपाटनको प्रसिद्ध साधेको आलु, भुटेको मकै, लोकल कुखुराको मासु खादै हाम्रो टोली रमाइलो गर्नतर्फ लाग्यौं । केही समयको रमाइलो र खाना खाएपछि हामी आ–आफ्नो कोठामा सुत्न गयौं । चिसो ठाउँ, बिस्तारा फेरिएर होला रातभरी निद्रा भने परेन । बिहान उठ्न बित्तिकै मनमा खुलदुली लाग्यो, यहाँको वातावरण कस्तो होला ? कहाँकहाँ घुम्ने होला ? बाहिर निस्कदा चारैतिर पहाडले घेरेको बीचमा आँखाले नथामिने समथर उपत्यका मात्र देखिन्छ ।
बिहानै चियाको सुर्किसँगै घोडा सवार गराउनेहरुको भिड लाग्यो । सबैजना आ–आफ्नो घोडा समाएर मेरो घोडा चढ्नुस भन्दै घुमन्तेहरुलाई आग्रह गरिरहे । घुम्न गएकामध्ये हामी केही घोडा चढ्न थाल्यौं । वरिपरी घुमाएर समथर जमिन, पाखा पखेरामा ढुंगाले छाएका घरहरु, समथर जमिनमा सेता ढुंगासँगै मितेरी लाउँदै बगेको निश्चल खोलाको पानी, पाखापखेरामा फूलेका रंगीन फूलहरु । सम्झदा पनि आहा कति आनन्दको ठाउँ हो ।
साच्चै स्वर्ग जस्तै ठाँउ प्रकृतिले दिएको अनुपम उपहार जस्तो लाग्ने चौरको थोरैमाथि बराहा मन्दिर छेउमा २२ धारा, त्यसको तल पोखरी, संग्राहलय, अलि तल कलकल बगेको खोला, खोलाको छेउमा चरिरहेका घोडाको बथान थियो । त्यहाको दृष्य साँच्चिकै रमाइलो थियो । ढोरपाटन प्राकृतिक रुपमा मात्र धनी छैन् धार्मिक रुपमा पनि उत्तिकै धनी रहेको छ । ढोरपाटनको वरपर घुमेपछि हामी अर्को बिहान सवा १२ बजे ढोरपाटनबाट बाग्लुङतर्फ लाग्यौ । ढोरपाटनबाट सवा १२ बजेबाट हिडेका हामीहरु ४ बजे मात्र बुर्तिबाङ पुग्यौं । निकै अप्ठ्यारो सडकका कारण हामीलाई २५ किलोमिटर सडक पार गर्न ४ घण्टा लाग्यो । कच्ची सडक र त्यसमाथि तिखो ढुंगाले गर्दा गाडीको टायर पन्चर भयो ।
ओरालो बाटो, ठूलाठूला ढुंगा, बाटोको छेउछेउमा ढुंगाले छाएका घरहरु हेर्दा र देख्दा जति रमाइलो लाग्थ्यो, त्यत्तिकै कठिन पनि थियो यात्रा । सडक र अन्य पूर्वाधारका कारण ढोरपाटन कुनै विकट र दुर्गम ठाउँभन्दा कमी थिएन । ढोरपाटन भनेर जुन कल्पना गरेर पर्यटकहरु घुम्न जान्छ, खासमा त्यो सोचे भन्दा अलि फरक रहेछ । बुर्तिबाङबाट २४ किलो मिटर देखाएको दुरी भौगोलिक रुपमा धेरै टाढा रहेछ । प्रकृतिक सुन्दरताले भरिपूर्ण ढोरपाटन बाटो र प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको छ । पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको ढोरपाटनमा पर्यटकको रुची अनुसारका होेटल तथा होमस्टे पनि छैनन् । जसले गर्दा पर्यटकलाई केही असहज भएको छ । यसलाई बढावा दिन जरुरी छ । गएका पर्यटकहरुको खाने बस्ने साधारण व्यवस्था भएपनि पर्यटकको रुचीबारे त्यति ध्यान दिन सकिरहेको छैन ।
आफ्नो देशको स्वर्गजस्तो हिरा फल्ने गाउँ ठाउ छोडेर प्रदेशमा तातो घाम खाएका छन् नेपालीहरुरु । हामी नेपालीहरुले यस्ता पर्यटकीय क्षेत्रको विकास नगरी गाउँदेखि शहरका यूवालाई धनको आशामा विदेश पलाएन बनाउनुभन्दा पर्यटकीय सम्भावना बोकेका यस्ता ठाउँको विकास गर्नतर्फ प्रेरित गर्नुपर्छ ।
नेपालको एक मात्र शिकार आरक्षमा शिकार गर्नका लागि आरक्ष खुलेपछि स्वदेशी तथा विदेशी पर्यटकहरु शिकार गर्न आउँदा रहेछन् । तर, सडकको कारण ढोरपाटन नै नपुगी कतिपय त बाटोबाटै फर्कनुपरेको थाहा पाउँदा निकै नरमाइलो महसुस समेत भएको छ ।
निर्माण सुरु भएको १६ वर्ष पुग्दा पनि ढोरपाटनको बाटोले अझै पूर्णता पाउन सकेको छैन् । संघीयतापछि विकासले गति लिन्छ भन्नेहरुका लागि यो सडकले गिज्याइरहेको छ । समयमै सडक नबन्दा ढोरपाटनका गर्भवती, सुत्केरी र अपरझट पर्ने बिरामीहरुले अकालमै ज्यान गुमाउनुपरेको स्थानीयको गुनासो छ । सडककै कारण किसानले लगाएको बालीले राम्रोसँग मूल्य पाउन सकेको छैन् । यसतर्फ स्थानीय सरकारको खासै ध्यान जाने नसकेको स्थानीयहरुले उल्लेख गरेका छन् ।
पर्यटकीय हिसावले निकै सम्भावना बोकेको गण्डकी प्रदेशको बागलुङ जिल्लास्थित ढोरपाटनलाई लुम्बिनीसँग जोडेर विकास गर्नुपर्ने देखिन्छ । लुम्बिनी आउने स्वदेशी तथा विदेशी पर्यटकहरुलाई ढोरपाटन पु¥याउनुपर्ने देखिन्छ । तर, त्यसका लागि सबैभन्दा पहिला सडक निर्माणमा जुट्नुपर्ने आवश्यकता छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij