२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

पर्यटन पुनरउत्थानका लागि भैरहवामा सिद्धार्थ सडक खाना महोत्सव

आइतवार , चैत्र १, २०७७

भैरहवा, १ चैत । पर्यटन प्रबद्र्धन तथा पुनरउत्थान गर्ने उद्देश्य सहित भैरहवामा सिद्धार्थ सडक खाना महोत्सव तथा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ। नयाँ वर्ष २०७८ को अवसर पारेर उद्योग व्यापार संगठन रुपन्देहीको आयोजनामा चैत ३१ गते मंगलबार महोत्सव हुने भएको हो। 

संगठनले आज आईतबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवबारे जानकारी दिएको हो। सिद्धार्थनगर नगरपालिका देवकोटाचोकदेखि बसपार्कसम्म सांझ ५ बजेदेखि राती १२ बजेसम्म महोत्सव हुने उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताए।

महोत्सवमा ५० देखि १ सय वटा स्टल रहने र ५० हजार दर्शकको उपस्थिति रहने गरी तयारी शुरु गरिएको भण्डारीले जानकारी दिए। महोत्सवमा करिब एक करोडको कारोबारको लक्ष्य लिईएको उनले बताए। सांस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारका साथै स्थानीय कलाकारको प्रस्तुती रहने बताईएको छ। 

गत वर्ष कोभिड–१९ को कारण सबै कार्यक्रम स्थगित भए, लामो समयसम्म महोत्सवहरु हुन पाएनन्, पर्यटन क्षेत्र चलायमान हुन सकेन, त्यसैले सडक खाना महोत्सवलाई निरन्तरता दिन यस वर्ष महोत्सव आयोजना गर्दैछौं, भण्डारीले भने।

अब पर्यटन क्षेत्रलाई चलायमान बनाउनुपर्ने र विशेष गरी आन्तरिकका साथै भारतीय पर्यटकलाई जोड दिनुपर्ने उनको भनाइ छ। पर्यटन क्षेत्रको विकास अब भैरहवादेखि सुरु गर्नुपर्ने भण्डारीले बताए। 
महोत्सवको सह–आयोजकमा सिद्धार्थनगर नगरपालिक, र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशलाई प्रस्ताव गरिएको उनले बताए।

त्यस्तै होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देही, सिद्धार्थ होटल एशोसिएशन (सान), नाटा लुम्बिनी प्रदेश र सोटो सिद्धार्थनगरलाई सहयोगी संस्थाको रुपमा प्रस्ताव गरिएको छ। पर्यटन क्षेत्रलाई अगाडी बढाउने लक्ष्य अनुरुप सडक खाना महोत्सवको आयोजना गरिएको महोत्सवका संयोजक तथा उद्योग व्यापार संगठन रुपन्देहीका कोषाध्यक्ष सचिन रोक्काले बताए।

भैरहवा क्षेत्रको सबै संघ–संस्थाहरु, प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, सम्पूर्ण सरकारी कार्यालय लगायत राजनीतिक दल, पत्रकारहरुको सहयोगको अपेक्षा राखिएको उनले बताए ।

संगठनका महासचिव अनिल कुमार ज्ञवालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष खिम बहादुर खत्री, उद्योग उपाध्यक्ष रामचन्द्र रेग्मी, वाणिज्य उपाध्यक्ष दर्पण श्रेष्ठ, सचिवालय सदस्य लक्ष्मण भण्डारी, कृष्ण बहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो।