
बिहिवार , माघ ३, २०८१
भैरहवा, ३ माघ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० मा ज्येष्ठ नागरिक, एकल महिला, असहाय तथा अपांगता भएका व्यक्तिहरुलाई सम्मान गरिएको छ । माघे संक्रान्तिको अवसरमा वडा नम्बर १० को कार्यालयको आयोजनामा सम्मानका साथै प्रसाद वितरण गरिएको थियो । सम्मान कार्यक्रममा २८८ जनालाई चादर र सल वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले वडा नम्बर १० मा जनप्रतिनिधिको नयाँ टीम आएपछि धेरै विकासका कामहरु अघि बढेको बताइन् । उनले यो टीमले शिक्षा, सडक, नाला लगायत विकास पूर्वाधारमा ध्यान दिदै जनतालाई सम्मान समेत गरेको बताइन् । ‘वडा नम्बर १० को टीमले राम्रो काम गरेको छ, सबै कुरा समेट्न खोजेको छ’उपप्रमुख अधिकारीले भनिन्, ‘विगतमा नभएका कामहरु भइरहेको छ । जनताको चाहना अनुसार अघि बढेका छौं ।’
नगर प्रवक्ता तथा सिद्धार्थनगर–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले वडा नम्बर १० मा धर्मशाला बन्ने दावी गरे । ‘चुनाव जितेर जनप्रतिनिधि भइसकेपछि सबैको हुनुपर्छ’उनले भने, ‘म नगरपालिकाको प्रवक्ता भएकोले १३ वटै वडा हेर्ने मेरो जिम्मेवारी हो ।’
सिद्धार्थनगर–१० का वडाअध्यक्ष सुर्जमन यादवले सम्मानका कार्यक्रमलाई सम्मानका रुपमा हेर्न र पैसाको दृष्टिकोणले नहेर्न आग्रह गरे । ‘यो पदमा म रहुञ्जेल यो कार्यक्रमलाई निरन्तरता दिन्छु’वडाअध्यक्ष यादवले भने, ‘निर्वाचन जितेपछि शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर अघि बढेको छौं । उनले वडाको विकास र जनताको पक्षमा निरन्तर काम गर्दै आएको दावी गरे ।
समाजसेवी भोला कोइरीको स्वागत तथा सुखेन्द्र कुमार शाक्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij