
बुधवार , माघ ९, २०८१
बुटवल, ९ माघ । संघीय प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिसहितको सदस्यहरुले रुपन्देहीको बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालय अवलोकन गरेका छन् ।
सरकारले ल्याउन लागेको शिक्षा बिधेयक उपर सुझाव संकलनको लागि लुम्बिनी प्रदेश आएको समितिका सभापति अम्मबर बहादुरथापा सहितका संघीय सांसदहरुको टोलीले बुटवल उपमहानगरपालिका–१० कालिकानगरमा रहेको कालिका मानवज्ञान माविको अध्ययन, अवलोकन तथा सुझाव संकलन गरेका हुन ।
विद्यालयमा आयोजित कार्यक्रममा आफ्नो कार्यपत्र प्रस्तुत गर्दैै विद्यालयका प्रधानाध्यापक दिनेश थापाले अबको शिक्षा सम्बन्धी ऐनमा विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दी कायम गर्ने गरी व्यवस्था गर्नको लागि आग्रह गरे । अहिले ७ हजार ७ सय ५० जना विद्यार्थी रहेको यो विद्यालयमा सरकारी दरबन्दीको ज्यादै न्यून भएको बताए । उनले हाल विद्यालयमा स्वीकृत दरबन्दी ४६ जना, राहत ८ जना, प्राविधिक ८ जना गरी जम्मा ६२ जानको मात्रै शिक्षक दरबन्दी रहेकोमा विद्यालय स्रोतबाट मात्रै २ सय ८५ जना शिक्षक कर्मचारीको व्यवस्थापन गरिएको जानकारी दिए ।
प्रधानाध्यापक थापाले भने–‘शिक्षाको गुणस्तर सुधारको लागि व्यवहारिक, प्राविधिक सीपसहितको शिक्षामा हामी जोड दिएका छौं । अभिभावकको सहयोगबाट कहिलेसम्म शिक्षक धान्ने हो, यो चिन्ताको विषय छ ।’
कार्यक्रममा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले अबको शिक्षा प्रविधिक, सीपयुक्त बनाउनुपर्ने र यसको विकल्प नभएको बताए । उनले अहिलेको वर्तमान परिवेश अनुसार विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दीसहितका योजना ल्याउनुपर्नेमा आफ्नो दुईमत नभएको बताए । उनले भने–‘समान्य छलफलबाट समस्या समाधान गर्न सकिन्थ्यो । तर, हामी यस्तो गरेका छैनौं । यो रोजगारमुलक शिक्षा कसरी बनाउने भन्नेमा हामी छौ । विधेयकलाई समृद्धि बनाउनको लागि यो शिक्षा विधेयक चाहिन्छ । ’ अहिलेको शिक्षाबाट देश पार नलाग्ने भन्दै उनले कि त संविधान नै नमान्नुपर्ने, की त शिक्षा सुधार गर्नुको विकल्प नभएको बताए ।
कार्यक्रममा बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेयले अबको शिक्षा प्रणाली, व्यवहारिक सीप, संस्कारसहितको आवश्यक रहेको भन्दै विद्यालय लगायतका अस्पताल निर्माणको लागि वनको जग्गा ९९ वर्षको लागि लिजमा दिने गरी सोही प्रकृतिको शिक्षा, स्वाथ्य, ऐन आनुपर्नेमा जोड दिए । उनले विद्यार्थीको संख्याको आधारमा विद्यालयमा दरबन्दी कायम गर्नुपर्ने भन्दै सोही अनुसार नभएमा अवको शिक्षा सुधार हुन नसक्ने बताए । उनले भने–‘कसैका छोरा, बुहारीलाई जागिर घरपायक मिलाउनको लागि विद्यार्थी संख्या नै नभएको स्थानमा शिक्षक दरबन्दी कायम गरिएको छ, जुन सरासर गलत छ, जहाँ विद्यार्थीको माग बढी छ, संख्या बढी छ, त्यहाँ दरबन्दी नै छैनन, जसको कारण शिक्षाको विकास परिकल्पना गर्न सकिदैन ।’
नगरप्रमुख पाण्डेले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति सहितका सदस्यहरुलाई अविलम्ब शिक्षा विधेयकमा संशोधन गरी दरबन्दी विद्यार्थीको संख्याको आधारमा मिलान गर्नुपर्ने, विद्यार्थी नभएको स्थानबाट दरबन्दी कटौती गर्ने गरी ल्याउनको विकल्प नभएको बताए । उनले बुटवलको शिक्षाका पूर्वाधार विकासको लागि १ अर्ब रुपैयाँ आवश्यक रहेको भन्दै त्यसको व्यवस्थापनको लागि संघीय सरकारसँग माग समेत गरे । उनले भने–‘१ अर्ब भौतिक पूर्वाधारको लागि आवश्यक छ, जस भयो भने हामी २५ हजार विद्यार्थी यहाँ पढाउन सक्छौं, विद्यार्थी टिकाउने अवस्था भएमा मात्रै विदेश पलायन रोक्न सकिन्छ ।’
कार्यक्रममा कालिका मानवज्ञान माविका पूर्व प्रधानाध्यापक तथा शैक्षिक सल्लाहकार घनश्याम पाठकले अबको शिक्षा ऐनले शिक्षकको हरेक माग सम्बोधन गर्ने गरी विद्यालय व्यवस्थापन समितिबाट नियुक्ति भएका सबै शिक्षकहरुको भविष्य ग्यारेण्टी हुने खालको आउनुपर्नेमा जोड दिए । उनले विधेयक बनाउँदा, ऐन निर्माण गर्दा विज्ञहरु भन्दा पनि शिक्षक, विद्यार्थीहरुको बीचमा, शिक्षकहरुको सहभागीतामा बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा विद्यालयका अध्यक्ष नित्यान्द ज्ञवालीले शिक्षा विधेयकमाथि सबैको साझा हुने गरी छलफल गरेर साझा ऐन आनुपर्नेमा जोड दिए । समितिका सदस्यहरु डा. तोसीमा कार्की, छविलाल विश्वकर्मा, रेखा शर्मा, ईश्वरी घर्ती, उर्मिला थेबे, कालुराम राई, डा. चन्द्रकान्त भण्डारी, डिग बहादुर लिम्बु, दिपा शर्मा, नोरमा शेरचन, सरिता भुसाल, सुमना श्रेष्ठसहित २३ जनाको समिति छ । जसमा प्रतिनिधिमूलक रुपमा प्रदेशमा समितिका सदस्यहरु सुझाव संकलनको लागि आएका हुन । सोही कार्यक्रममा विद्यालयका शिक्षक युवराज कंडेल, कृष्ण प्रसाद गौतमसहित विद्यार्थीहरुले समेत लिखित रुपमा शिक्षा सुधारको लागि पत्र प्रदान गरेका थिए । विद्यार्थीहरुले पूर्वमन्त्री तथा समितिका सदस्य डा. तोशीमा कार्कीलाई सुझावसहितको चिठ्ठी समेत दिएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij