
सोमवार , चैत्र २, २०७७
बुटवल, २ चैत ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा सल्लाहकार र कार्यसमिति सदस्य मनोनित गरिएको छ । नवनिर्वाचित कार्यसमितिको सोमबार बसेको पहिलो बैठकले सल्लाहकार र कार्यसमिति सदस्य मनोनित गरेको हो ।
संघका नवनिर्वाचित अध्यक्ष उज्ज्वलप्रसाद कसजुको अध्यक्षतामा बसेको बैठकले संघको सल्लाहकारमा पूर्व अध्यक्षहरु अर्जुनमान सैंजु, निर्मलप्रसाद लाकौल, नवराज श्रेष्ठ, सुरेन्द्रप्रसाद श्रेष्ठ र महेशमान सिंहलाई मनोनित गरिएको हो ।
त्यस्तै कार्यसमिति सदस्यमा उद्योगबाट अनिलप्रसाद श्रेष्ठ, वाणिज्यबाट सुरज भट्टराई र कृषिबाट बसन्तप्रसाद ढकाललाई मनोनित गरिएको महासचिव बिमलराज भट्टराईले जानकारी लिए ।
त्यस्तै बैठकले वस्तुगत समिति गठनको लागि उद्योग क्षेत्रका वस्तुगत समितिको लागि उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे र वाणिज्यतर्फका वस्तुगत समिति गठनको लागि वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेल संयोजनको जिम्मेवारी प्रदान गर्दै सहकार्यको लागि वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको आसन्न वार्षिक साधारणसभाको लागि संघका अध्यक्ष कसजुलाई विशेष प्रतिनिधि तथा निवर्तमान अध्यक्ष खिमबहादुर हमाल र वरिष्ठ उपाध्यक्ष दिनेश प्रसाद श्रेष्ठलाई प्रतिनिधि चयन गरिएको छ ।
महासंघको महिला उद्यमी विशेष समितिको आमन्त्रित सदस्यको लागि संघको कार्यसमिति सदस्य मीना प्रधानलाई सिफारिस गर्ने निर्णय भएको छ । त्यसै गरी आगामी नयाँ वर्ष २०७८ को क्यालेण्डर प्रकाशनको लागि कार्यसमिति सदस्य प्रकाश श्रेष्ठलाई संयोजनको जिम्मेवारी प्रदान गरिएको छ ।
बैठकले संघको ६७ औं वार्षिक साधारणसभा तथा २४ औं अधिवेशनमा खटिने निर्वाचन समिति, निवर्तमान अध्यक्ष, पदाधिकारी तथा कार्यसमिति सदस्यहरु, सचिवालयका कर्मचारीहरु, पूर्व अध्यक्ष तथा सल्लाहकारहरु, सुरक्षा निकाय, साधारणसभा तथा अधिवेशनमा सहभागि हुने संघका सदस्य उद्योगी व्यवसायी, पत्रकार लगायत सबैलाई धन्यवाद ज्ञापन गरेको छ । संघको आगामी बैठकको लागि आचारसंहिता, बैंक खाता सञ्चालक परिवर्तन लगायतका निर्णय समेत गरेको छ ।
बैठकमा अध्यक्ष कसजुले उद्यमशिलता विकासको लागि तीन तहका सरकारसंग समन्वय गरेर अगाडि बढ्ने बताउँदै उद्यमशिलता विकास, व्यबसाय प्रवद्र्धनको लागि रचनात्मक कार्यक्रमको सोंच बनाउन समेत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई आग्रह गरे । त्यस्तै निवर्तमान अध्यक्ष हमालले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संघले अगाडि सारेका कार्यक्रममा आफ्नो पूर्ण साथ र समर्थन रहने प्रतिवद्धता व्यक्त गरे । वरिष्ठ उपाध्यक्ष दिनेश प्रसाद श्रेष्ठले बैठकमा सहभागि सबैलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा हुने बैठक लगायतका कार्यक्रमहरुमा पनि सक्रिय सहभागिताको लागि आग्रह गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij