२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सारस संरक्षणका लागि हातेमालो गरेर अघि बढ्ने प्रतिवद्धता

शनिवार , माघ १९, २०८१

भैरहवा, १९ माघ ।  सीमावर्ती दुई देशका चराविद्, प्राणीशास्त्री, संरक्षणकर्मी र सरकारी अधिकारीहरुले विश्व दुुर्लभ पन्छी सारस संरक्षणमा हातेमालो गरेर अघि बढ्ने प्रतिवद्धता गरेका छन् । सीमा क्षेत्रमा सचेतना कार्यक्रम सञ्चालन गर्ने, सारस संरक्षणको सफल अभ्यासहरु आदानप्रदान गर्ने र सीमा क्षेत्रमा सारसका जोखिमहरु कम गर्न सहकार्य गरेर अघि बढने प्रतिवद्धता गरिएको छ । त्यस्तै दुर्घटना र समस्यामा परेको सारसको उद्वार गर्ने तथा सीमा क्षेत्रमा भएका त्यस्ता घटनाको सूचना आदानप्रदान गर्ने बताइएको छ ।

डब्लुडब्लुएफ नेपाल र ईन्टरनेशनल क्रेन फाउण्डेशनको सहयोगमा त्रिभुवन विश्वविद्यालय, प्राणीशास्त्र केन्द्रिय विभाग र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागद्वारा लुम्बिनीमा आयोजित तीनदिने सारस संरक्षण ईण्डो नेपाल ट्रान्सबर्डर डाईलगका सहभागीले सहकार्य गरेर अघि बढने बताएका हुन् ।

कार्यक्रममा ईन्टरनेशनल क्रेन फाउण्डेशन दक्षिण एशिया कार्यक्रम निर्देशक डा. ट्रिप्ट ट्रान, डब्लुडब्लुएफ नेपालका पाटनरसीप प्रोग्राम प्रमुख राजेन्द्र सुवाल, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका ईकोलोजिष्ट हरिभद्र आचार्य र भारतको गुजरातमा सञ्चालित सारस विशेष संरक्षण कार्यक्रमकी निर्देशक डा. जीतेन्द्रर नौरले कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यस्तै दुई देशमा भइरहेका सारसको अध्ययन अनुसन्धान र अनुगमनका टेक्निक, संरक्षणका अभ्यासहरु, तराई आर्क स्लाण्डस्कयापमा सारस संरक्षणमा कसरी काम गर्न सकिन्छ तथा मानव बाहुल्य रहेको गैरसंरक्षित क्षेत्रमा सारस संरक्षणका कार्यक्रम कसरी सञ्चालन गर्न सकिन्छ भन्ने चार समूहमा विभाजन गरी समूहगत छलफल गरिएको थियो । 

त्यस्तै कार्यक्रममा ईन्टरनेशनल क्रेन फाउण्डेशनका एशिया कार्यक्रम उपाध्यक्ष डा. महेन्द्र श्रेष्ठले प्यानल डिस्कसन गरेका थिए । प्यानल डिस्कसनमा नेपालका तर्फबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका उपमहानिर्देशक बेदकुमार ढकाल र वरिष्ठ चराविद् डा. हेमसागर बराल तथा भारतका तर्फबाट युनिर्भसिटी अफ लखनउका प्रोफेसर डा. अमृता कनौजिया र डब्लुडब्लुएफ भारत सिनियर ल्याण्डसक्याप कोअडिनेटर डा. मुदीत गुप्ता सहभागी थिए । 

अहिलेसम्म नेपाल भारतले बाघ, हात्ती र गैडाका विषयमा छलफल र संरक्षणका कार्यक्रम गर्दै आएकामा पहिलोपटक चराका विषयमा छलफल थालिएर सकारात्मक परिणाम निस्किएको त्रिभुवन विश्वविद्यालय, प्राणीशास्त्र केन्द्रिय विभागका सह–प्राध्यापक हरि शर्माले बताए ।  

कार्यक्रममा नेपालका कञ्चनपुरदेखि चितवनसम्म सारस पाइने जिल्लाका डिएफओ, वार्डेन, संरक्षणकर्मी, अनुसन्धानकर्मी र स्वयंसेवी सहभागी थिए । त्यस्तै भारतको उत्तर प्रदेश र गुजरातका सरकारी अधिकारी, प्राणीशास्त्री, ईकोलोजिस्ट, प्राध्यापक, संरक्षणकर्मी र कृषक सहभागी थिए । नेपालका ९० जना र भारतका १० जना सहभागी थिए ।

2P7A9856.JPG

उड्न सक्नेमध्ये सबैभन्दा ठूलो चरा सारस हो । यो निकै मनमोहक र सुन्दर हुन्छ । वन्यजन्तु संरक्षण ऐन ०२९ ले संरक्षित गरेको ९ पन्छी प्रजातिमध्ये एक हो । नेपालमा करिब ७ सयको संख्यामा सारस रहेका छन् । सारस रुपन्देहीको नगर पन्छी हो भने भारतको उत्तर प्रदेशको राज्य पन्छी हो ।