२०८२, आषाढ २५ गते

Jul 09 2025 | २०८२, आषाढ २५ गते

छपियाका माछापालक कृषक भन्छन् : भारतीय अवैध माछाले समस्या भयो

मंगलवार , फाल्गुण ६, २०८१

भैरहवा, ६ फागुन । रुपन्देहीको सियारी गाउँपालिकाको छपिया क्षेत्र माछा गाउँको रुपमा परिचित छ । छपिया क्षेत्रमा रहेका सबैजसोका घरमा माछा पोखरी छन् । व्यवसायिक रुपमा त्यहाँका नागरिक माछा उत्पादनमा लागेपछि छपियासहित अन्य विभिन्न पालिकालाई जोडेर माछा सुपरजोनको रुपमा विकास गरिएको छ । 

माछापालन क्षेत्रफल १ हजार हेक्टर नाघेपछि ०७५/७६ मा सियारीसहित ७ पालिका र ४४ वडा सुपरजोनमा परिणत भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई रुपन्देहीका प्रमुख नारायण काफ्लेले जानकारी दिए । माछा सुपरजोनमा सियारी, शुद्धोधन, गैडहवा र मायादेवी गाउँपालिकाका साथै बुटवल उपमहानगरपालिका, तिलोत्तमा, लुम्बिनी साँस्कृतिक र सिद्धार्थनगर नगरपालिकाका वडा समावेश छन् ।

रुपन्देहीको माछा सुपरजोन प्रभाव क्षेत्रमा हाल १ हजार १ सय १२ हेक्टर जलाशय क्षेत्र छ । त्यस क्षेत्रबाट ६ हजार ८ सय ९५ मेट्रिक टन माछा उत्पादन भइरहेको परियोजनाले जनाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई रुपन्देहीका अनुसार सियारीको ४ सय १५ हेक्टरमा २ हजार ५ सय २६ मेट्रिक टन माछा उत्पादन हुने गरेको छ ।

Fish  (2).jpeg

माछा उत्पादनका हिसाबले रुपन्देहीको छपिया नेपालमै अग्रस्थानमा रहेको छ । माछामा समृद्धि देखेका यहाँका अधिकांश किसानले धान र गहुँको परम्परागत उत्पादन छाडेर माछापालनमा जुटेका छन् । 
माछापालनको व्यवसायिक रुपमा लागेका यस क्षेत्रका किसानले महंगो दानादेखि भारतीय अवैध माछाले बजारीकरणमा ठूलो समस्या पुगेको गुनासो गरेका छन् । गुणस्तरका हिसाबले समेत रुपन्देहीको सियारीस्थित छपिया क्षेत्रको माछा अत्यन्तै गुणस्तरीय रहेको माछाका पारखीहरु बताउँछन् । बाह्रै महिना पोखरीको चिसो माछामा हुर्किएका माछा अन्य क्षेत्रका माछा भन्दा स्वादिष्ट समेत रहेको उनीहरुको भनाइ छ । 

माछाको व्यवसायिक विस्तारमा लागेका माछा कृषकका लागि भारतीय अवैध माछाले ठूलो समस्यामा पारेको कृषकहरु बताउँछन् । रुपन्देही माछा व्यवसायी संघका अध्यक्ष दीपु भुसालले व्यवसायिक रुपमा माछा पालनमा लागेका कृषकका लागि महंगो दानादेखि भारतीय अवैध माछा बाधक रहेको बताए । उनले भने–‘हामी माछा किसानहरुका लागि सबैभन्दा ठूलो समस्या भनेको दाना महंगो हुनु हो, अर्कोतर्फ खुल्ला सीमा नाकाका कारण भारतीय अवैध माछा बजारमा छ्यापछ्याप्ती पाइनु हो, यसले गर्दा हामीलाई सोचेअनुसार छपियाको माछा बजारीकरण गर्न पाएका छैनौं ।’ 

अध्यक्ष भुसालले दाना महंगो भएका कारण कृषकले माछालाई सानो साईजमै पोखरीबाट निकालेर विक्री गर्ने गरेकाले पनि सोचे अनुरुप बजार नपाएको बताए । बजारमा ठुलो साईजको माछा बढी मात्रामा रुचाउने भएकाले पनि कृषकहरुलाई समस्या परेको उनको भनाइ छ । सियारीका हरेकजसो नागरिकको घरमा पोखरी छ । अधिकांशले पोखरीलाई व्यवसायिक प्रयोजनका लागि प्रयोग गरेका छन् भने कहिले घरायसी प्रयोजनका लागि प्रयोग गर्दै आएका छन् । 

सियारी–५ छपियाकी माछापालक कृषक तारा पाण्डेले भारतबाट अवैध रुपमा भित्रिने अवैध माछाले छपियाको माछाको बजारीकरणमा निकै समस्या परेको बताइन् । उनले एकातर्फ महंगो दाना खुवाएर बल्लतल्ल तयार पारेका माछालाई विक्रीका लागि बजारमा लैजादा भारतीय माछाको मूल्य कम हुँदा नेपाली कृषक मर्कामा पर्ने गरेको बताइन् । ‘नेपाली माछाको साइज सानो हुन्छ, भारतीय माछा ठूलो हुन्छन्’उनले भनिन्–‘ठूलो माछामा काडा पनि कम हुन्छ उपभोक्ताले पनि ठूलै माछा खरिद गर्छन् । माछाको साइज बढाउन दाना महंगो छ, राज्यले नेपाली माछा कृषकलाई दानामा अनुदान दिएर सहज तरिकाले माछाको थप व्यवसायीकरणमा लाग्नेथिए ।’ 

माछाको बजारीकरणका लागि भन्दै छपियाको जिउँदो माछा पनि विक्रीका लागि रुपन्देहीका विभिन्न बजारसहित छिमेकी जिल्लामा पनि लगिएको थियो । बाटो लगायतका कारण जिउँदो माछा विक्रीका लागि समस्या भएपछि अहिले त्यस क्षेत्रका कृषक फ्रोजन यूनिट स्थापना गरी बजारीकरणमा लागेका छन् । फ्रोजन माछाको बजारीकरणका लागि सियारी–५ छपियामा रहेको श्री जलदेवी मत्स्य सहकारी संस्थाले प्रबन्ध मिलाइरहेको छ । 

जलदेवी मत्स्य सहकारीका अध्यक्ष थमनबहादुर थापाले पहिलो चरणमा ६ क्वीन्टल फ्रोजन माछा बजारमा पठाइएको बताए । उनले छपिया क्षेत्रको माछा रुपन्देहीसहित पाल्पा, स्याङ्जा लगायतका स्थानमा पठाइएको बताए । फ्रोजन माछाप्रति उपभोक्ताको चासो बढ्दै गएको उनको भनाइ छ । छपिया क्षेत्रको माछाको बजार विस्तार तथा प्रवर्द्धनका लागि तीनै तहका सरकारले आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिए।