
शनिवार , फाल्गुण १०, २०८१
विश्वका अधिकांश देशहरुलाई नियालेर हेर्ने हो भने पत्रकारिता स्वतन्त्र रुपमा सञ्चालन भएको देखिन्छ र हरेक देशले यसलाई देशको चौथो अंगको रुपमा नै व्याख्या गरेका पनि पाइन्छ । सञ्चार क्षेत्र जसले जनताका कुरा सरकार वा सरोकारवाला निकायसँग र सरकार वा सरोकारवालाहरुको कुरा जनतासम्म पुर्याउने महत्वपूर्ण माध्यम हो । सञ्चार क्षेत्रबाट आएका सूचनाहरुलाई जनताले अत्यन्तै विश्वासका साथ हेरेका, सुनिरहेका र विश्वास गरिरहेका हुन्छन् ।
नेपालमा भएका ठूलाठूला राजनीतिक परिवर्तनको समयमा सञ्चार क्षेत्रले गरेको योगदानको जति नै तारिफ गरे पनि पुग्दैन । वि.सं. १९५५ मा सुधासागर नामको साहित्यिक पत्रिका प्रकाशनसँगै नेपालको पत्रकारिता क्षेत्रको बारेमा सुनिन थाले पनि वि.सं. १९५८ सालमा राणा प्रधानमन्त्री देव शमशेरले गोरखापत्र नामक पत्रिका प्रकाशन गरेसँगै नेपालमा आम सञ्चार क्षेत्रप्रति जनचासो देखिन थालेको अनुभुति हुन्छ । २००७ सालको परिवर्तनपश्चात सञ्चारको क्षेत्रमा निजी क्षेत्र पनि सहभागी हुँदै आवाज नामको पत्रिकाको सुरुवात भएसँगै साँच्चै नेपालको सञ्चार क्षेत्र विकास हुन थालेको देखिन्छ ।
नेपालमा विभिन्न सञ्चार सामग्रीहरु प्रकाशन हुनभन्दा पहिले पनि नेपाली भाषामा भारतमा विभिन्न पत्रिकाहरु प्रकाशन हुने गरेको पनि पाइन्छ । त्यसमा मोतीराम भट्ट लगायतले प्रकाशन गरेको गोर्खा भारत जीवन नाम पत्रिकाको इतिहास पनि पाउने गरिन्छ । गाउँघरका स–साना आवश्यकता र सूचनादेखि शहर बजारको विस्तार, विश्व बजारको जानकारीका साथै राजनैतिक घटनाक्रमहरुको निश्पक्ष र स्वतन्त्र रुपमा जानकारी गराउने माध्यम भनेको नै सञ्चार क्षेत्र वा भनौ पत्रकारिता हो ।
नागरिकको आधारभूत अधिकार, विचार तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र सम्वद्र्धनका निम्ति सधै सत्यतथ्य सूचनाहरु प्रकाशन र प्रसारण गर्नु सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हो । सञ्चार क्षेत्रमा लागेका जो कोही पनि पेशागत व्यवहार र मर्यादा, मानवअधिकार, सामाजिक दायित्व, स्वतन्त्रता र निष्पक्षता आदि विषयमा महत्वपूर्ण तरिकाले जिम्मेवार हुनुपर्छ । हुन त हाम्रो देशमा १९५८ देखि नै पत्रकारिताको सुरुवात भए पनि वि.सं. २०४७ सालको जनआन्दोलनपश्चात सञ्चारको क्षेत्रका आमूल परिवर्तन भएको देखिन्छ भने यो पेशालाई आफ्नो प्रमुख पेशाको रुपमा अंगाल्नेको संख्या पनि बढी देखिन्छ । त्यो भन्दा अगाडि धेरै चुनौतिहरुको बाबजुद केही पत्रिकाहरु प्रकाशन हुने रेडियो टेलिभिजनहरुको सुरुवात नभएको पनि होइन र पनि जे जति विकास हुनुपर्ने हो सो हुन सकिरहेको थिएन ।
विश्व बजारमा सञ्चारको क्षेत्रले ठूलै फड्को मार्दै गर्दा नेपालमा पनि यसको छायाँ परिरहेको थियो । जसअनुसार यस क्षेत्रमा व्यक्तिहरुको चासो बढ्दै जान थालेको देखिन्छ भने पत्रपत्रिका, रेडियोहरुको खुल्ने क्रम अध्याधिक हुन थाल्यो भने पत्रकारहरुको संख्यामा पनि उल्लेख्य वृद्धि हुन थाल्यो । नेपाली पत्रकारहरुलाई संगठित गर्दै व्यवसायिक नेतृत्व प्रदान गर्ने र उनीहरुको हकहितलाई रक्षा र पेशागत सुरक्षा गर्ने उद्देश्यका साथ खोलिएको नेपाल पत्रकार महासंघले सबै जिल्लाहरुमा आफ्नो संगठन विस्तार गरिसकेको अवस्थामा पनि यो क्षेत्रले त्यति फड्को मार्न नसकिरहेको देखिन्छ । संख्यात्मक र संगठनात्मक रुपमा ठूलो र महत्वपूर्ण संस्था भएर पनि जुनप्रकारको आशा र भरोसा जनतालाई दिनुपर्ने थियो र संस्थाका सदस्यहरुको जीवनस्तर उकासिनुपर्ने थियो सो अनुसार भएका जस्तो देखिएको छैन ।
पछिल्लो जनआन्दोलन २०६२÷०६३ पछि नेपालको पत्रकारिता क्षेत्रमा पनि राजनीति मौलाएको जस्तो देखिन थालेको प्रष्ट हुन्छ । पत्रकारहरुको हकहितका लागि भन्दै कुनै अमुक दलको शुभेच्छुक संस्थाका नाममा खोलिएका दलका भातृ संस्थाहरु जस्ता देखिनु, जसले जनतामा कुन खालको सूचना सम्प्रेषण गर्ने हुन् भन्ने कुरामा पनि शंका पैदा हुने गरेको देखिन्छ । यसरी खोलिएका संस्थाहरुले समग्र पत्रकारिता क्षेत्रलाई नै भागबण्डा गर्ने, विचारहरुलाई रोक लगाउने र स्वतन्त्रतापूर्वक लेख्ने वातावरणमा बाधा पुगेको त होइन भन्ने प्रश्नचिन्ह पनि खडा गर्छ । हरेक व्यक्तिले हाम्रो स्वतन्त्र विचार व्यक्त गर्न, कुनै पनि राजनैतिक दलका बारेमा विचार बनाउन, समर्थन गर्न र आफ्नो भोटको सदुपयोग गर्न पाउने अधिकार छ । तर, त्यसलाई संगठनकै रुपमा लैजाँदा त्यो पनि पत्रकारिता जस्तो संस्थालाई के त्यसबाट नागरिकले स्वतन्त्र, निष्पक्ष र सत्य समाचार पाउने आशा गर्न सक्छन् छ ? प्रश्नहरु उठिरहेको छ ।
दलहरुका भागबण्डा, गठबन्धनका आधारमा पत्रकारहरुको संगठनमा पनि त्यसको छाँया पारिरहँदा कस्तो नेतृत्व आउने र उसले कस्तो खालको विचार बनाउने हो भन्ने विषयमा शंका गर्ने अवस्था सिर्जना भएको अनुभुति हुन्छ । त्यसै त हाम्रो जस्तो अविकसित राष्ट्र जहाँ भ्रष्टाचार, बेथिति र अस्थिरताले सीमा नाघिसकेको अवस्थामा जनतालाई सुसुचित पार्नुपर्ने देशको चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्र पनि त्यसैअनुरुप आफूलाई प्रस्तुत गर्ने हो भने जनताको अवस्था कहिले सुधार हुने ? देश कहिले विकास हुने ? पछिल्लो समय त झन सामाजिक सञ्जालहरु, यूट्युबहरु चलाउने र क्यामेरा भिरेको भरमा आफूलाई पत्रकार सम्झने जमातको भिडभाड, जहाँ पायो त्यही क्यामेरा तेस्र्रयाउने, अनावश्यक प्रश्नहरु वर्षाउने, सानासाना कुरालाई पनि अनावश्यक पब्लिसिटी बनाउने कार्यले गर्दा आम नागरिकमा पत्रकारहरुप्रतिको धारणा गलत हुन गएको देखिन्छ । पत्रकार आचारसंहिता, नेपालको संविधान, सञ्चार नीतिहरुको पनि ज्ञान नभएका केही व्यक्तिहरुको प्रवेश, विज्ञापनका नाममा केही व्यक्तिहरुले आतंकित पार्ने लगायतले गर्दा नेपालको पत्रकारिता क्षेत्रलाई जुन सम्मान हुनुपर्ने थियो त्यो भएको अनुभुति गर्न पाइएको छैन । यो समस्या समाधानका लागि पत्रकारिता क्षेत्रमा भएको बेथितिविरुद्ध क्रियाशील व्यक्तिहरुले पनि जोडदार रुपमा आवाज उठाउनुपर्छ ।
समग्रमा भन्नुपर्दा नेपालको पत्रकारिता क्षेत्रमा जुन उद्देश्य, नेपालको संविधान, सञ्चार नीति, विज्ञापन प्रसारण तथा प्रकाशन नीतिहरु, नेपाल पत्रकार महासंघले तोकेका मापदण्डहरु, आचारसंहिताहरुको अध्ययन गर्ने, जनताको आवश्यकता के हो ? भूमिका के हो ? अधिकार के हो ? जस्ता कुराहरुका साथै देशविदेशका समाचारहरु सत्यतथ्य र निष्पक्षका साथ पस्कने, खोजमूलक पत्रकारिता, फोटो पत्रकारिताहरुलाई महत्वका साथ अगाडी बढाउने गरी कार्य गर्ने र यस क्षेत्रका आउन चाहने र भइरहेकाहरुको लागि बेलाबेलामा अभिमुखीकरण कार्यक्रमहरु, उचित नियमन गर्ने हो भने साँच्चै नेपालको पत्रकारिताको भविष्य उज्जवल रहेको देखिन्छ । सबैले सम्मान गर्न सक्ने अपनत्व गर्ने सक्ने र दलीय राजनीतिबाट स्वतन्त्र संगठनको रुपमा स्थापित गर्न सकिएको खण्डमा अवश्य पनि यो क्षेत्र अहिले भन्दा अझै बढी मर्यादित र सम्मानित पेशा हुने कुरामा सबै विश्वस्त हुनेथिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij