२०८२, भाद्र ९ गते

Aug 25 2025 | २०८२, भाद्र ९ गते

फुटबलमा महिला खेलाडीको आकर्षण बढ्दो, पढाईसँगै भविष्यको चिन्ता यथावत

बुधवार , फाल्गुण २१, २०८१

  • 982
    Shares
  • 982
    Shares
  • बुटवल, २१ फागुन । १६ वर्षिय रुपन्देहीको बुटवलकी कृति पराजुली । राष्ट्रपति रनिङ्ग शिल्डमा ४ वटा गोल्ड मेडल प्राप्त गर्न सफल कृति फुटबलमा पनि उत्तिकै अब्बल छिन् । कालिका मानवज्ञान माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा कृतिले पढाईसँगै खेलकुदलाई पनि उत्तिकै रुचीका साथ अघि बढाउदै आएकी छन् । एथेलेटिक्स् र फुटबललाई आफ्नो प्रिय खेल मान्ने कृतिलाई दोस्रो हुन लेखेकै छैन भन्नेहरु पनि छन् । पढाईसँगै खेलकुदलाई पनि उत्तिकै महत्व दिएर निरन्तर अघि बढिरहेकी कृतिले आफूले खेलकुद क्षेत्रमा लाग्न प्रयाप्त प्रोत्साहन भने नपाएको गुनासो गर्छिन् । 

    छात्रातर्फ दोस्रो मेयर कप उपाधी हासिल गर्न सफल टीमकी ९ नम्बर जर्सि खेलाडी कृति भन्छिन्–‘सबैले पढपढ मात्रै भन्छन्, खेल्ने वातावरण नै छैन । बुटवलको चारपाला खेलमैदानमा हालै सम्पन्न दोस्रो मेयर कप छात्र/छात्रा अन्तरविद्यालय फुटबल प्रतियोगितामा कालिका माविको छात्रा टीमले उपाधि चुमेको थियो । आफ्नो टीमलाई जिताउन भरपुर योगदान गरेकी कृतिले निजी विद्यालयका विद्यार्थीहरुलाई जस्तो सुविधा सामूदायिक बिद्यालयका विद्यार्थीहरुलाई नहुने बताउँछिन् । 

    kriti.jpeg

    ४ खेलमा ५ गोल गरेर आफूलाई हाई स्कोररको उपाधि विजेता समेत बनाएकी कृति भन्छिन्–बोर्डिङ्ग स्कूलको प्रशिक्षण, खानपान, आवतजावत लगायतका गतिविधिहरु बाहिरबाट हेर्दा निकै लोभलाग्दो र सुविधाजनक देखिन्छ । तर, भित्र कस्तो छ थाहा छैन, हाम्रो गतिविधि भने उनीहरुको जस्तो आकर्षक देखिदैन, प्रोत्साहित गर्ने खालको वातावरण हामीले महसुस गर्नै पाइँदैन । उनले थपिन्–निजी विद्यालयका छात्राहरुले जस्तो प्रोत्साहन पाउने हो भने हामी थप उत्साहका साथ खेलेर उपलब्धी हासिल गर्न सक्छौं ।’

    kriti-1.JPG

    त्यस्तै कान्ति माविमा कक्षा ९ मा अध्ययनरत छात्रा प्रिया गौतम खेलकुदका लागि छात्रहरुको तुलनामा छात्राहरुलाई प्रोत्साहन नभएको बताउँछिन् । उनले भनिन्—हाम्रो समाजमा महिलाहरुले सक्दैनन्, महिलाहरु खेल्नु हुँदैन, अवसर छैन, भोली बिहेवारी भएपछि सबै छोड्नुपर्छ, कुनै काम लाग्दैन भन्दै हतोत्साहित गर्ने गरिन्छ । परिवार र आफन्तले पनि ध्यान दिएर पढ्नुपर्छ, डाक्टर ईन्जिनियर बन्नुपर्छ खेलकुदमा लागेर केही फाइदा छैन, बेकारमा पढाई बिगार्ने मात्रै हो, खुरुखुरु राम्रोसित पढ अरु कुरामा ध्यान नदेउ भन्ने जस्ता कुराहरु सुनाउँछन् । उनले थपिन्–उता विद्यालयमा प्रयाप्त खेलकुद मैदान, खेलकुदका सामाग्री, खेलकुदका शिक्षक लगायतको पनि अभाव छ ।  शिक्षकहरु पनि पढपढ मात्रै भन्नुहुन्छ । पढेर राम्रो नम्बर ल्याएमा मात्र भविष्यमा केही गर्न सकिन्छ भन्ने मान्यता छ हाम्रो समाजमा, तैपनि हामी आफ्नै प्रयासमा खेलकुद क्षेत्रमा पनि सक्रिय सहभागी हुन्छौं, सके जित्छौं नसके अनुभव र अनुभुतिहरु हासिल गर्छौं । ’

    कृति कालिका टीमबाट फरवार्ड प्लेयरका रुपमा र प्रिया कान्ति टिमबाट मिड फिल्डरका रुपमा खेलेका थिए । खेलकुदप्रति अगाध रुची भएका कृति र प्रियाको अनुभव र अनुभुति लगभग उस्तै छ । दुवैजना समाज, परिवार र विद्यालयबाट प्रयाप्त प्रोत्साहन र वातावरण मिल्ने हो भने खेलकुद क्षेत्रमा केही गरेर देखाउने आँट राख्छन । दुवैजनाको एउटै स्वर छ—अवसर पाएर मात्रै भएन खेलकुदका लागि आवश्यक पुर्वाधार र पूर्व अभ्यासका साथै पूर्वतयारीको लागि विद्यालयले उचित वातावरण पनि निर्माण गर्नुपर्छ ।

    खेलकुदलाई समाजको देशको र मानव जीवनको अंगको रुपमा मान्ने सोचको अभाव रहेको कान्ति माविका खेल शिक्षक महेश खनालको भनाइ छ । छात्रा खेलाडीको संख्यामा वृद्धि गर्न विशेष नीति तथा कार्यक्रम निर्माण गर्ने, विद्यालयस्तरमै छात्राहरूका लागि छुट्टै खेलमैदान तथा प्रशिक्षणस्थल निर्माण गर्ने, छात्रा फुटबल खेलाडीलाई छात्रवृत्ति तथा अन्य सहायता प्रदान गर्ने, छात्राहरूलाई प्रेरित गर्न महिला प्रशिक्षक बढाउने, समाजमा छात्राहरूको खेलकुद सहभागीता बढाउने उद्देश्यले क्याम्प, सेमिनार र कार्यक्रम सञ्चालन गर्नेुका साथै स्वयं विद्यार्थीहरुमा खेल खेल्छु भन्ने मानसिकता लिएमा खेललाई रोजगारीका रुपमा पनि लिन सकिने शिक्षक खनालको भनाइ छ ।

    कान्ति, कालिका, नविन, नवरत्न लगायत सरकारी विद्यालयमा पनि आंशिक खेल शिक्षकको व्यवस्था गर्ने तथा प्रशिक्षकहरुमार्फत तालिम दिदै आएको भए पनि त्यो प्रयाप्त छैन । प्रयाप्त खेल मैदान नहुनु, विधागत रुपमा प्रयाप्त शिक्षकहरु नहुनु, तैपनि विद्यालय, परिवार र समाजलाई सम्झाउने, बुझाउने गर्दै निरन्तर खेलाडीहरुलाई आत्मबल बढाएर खेल खेलाउने प्रयास भइरहेको महेशको भनाइ छ । उनले भने—एउटै खेल शिक्षकले सबै खेल हेर्नुपर्ने अवस्था छ । छात्र र छात्राको पनि फरक खेल शिक्षक हुनु आवश्यक छ । 

    त्यस्तै फुटबल खेल भनेपछि हुरुक्कै हुने अर्कीे खेलाडी हुन नमिता भुसाल । गार्गी एकेडमीमा कक्षा ९ मा अध्ययनरत १५ वर्षिया नमिता पनि पढाई सँगसँगै खेलकुदलाई पनि उत्तिकै महत्व दिनुपर्ने बताउछिन् ।

    मानसिक र शारीरिक रुपमा तन्दुरुस्त रहन खेलकुदले महत्वपूर्ण भुमिका खेल्ने भएकोले खेलकुदप्रति रुची बढ्दै गएको बताउने नमिताले विद्यालय र परिवारबाट प्रयाप्त सहयोग आवश्यक पर्ने बताउँछिन् । बुटवल उपमहानगरपालिका–११ देवीनगर घर भएकी खेलाडी नमिताले शिक्षक समिर अधिकारीको प्रेरणाले खेल क्षेत्रमा आएको बताइन ।

    गार्गीमा ४ जना धावक समेत रहेको बताउँदै प्रशिक्षक समिरले धावकलाई नै फुटबल खेलाडी बनाउनुपरेको बताउँछन् । उनले भने-‘छात्रहरुको तुलनामा छात्राहरुले खेल छिटो सिक्ने र खेलप्रति रुची राख्ने हुँदा उपलब्धी छिटो हुन्छ । ’ तर, छात्र खेलाडीहरुलाई भने खेल क्षेत्रमा टिकाउन गाहे भएको उनको भनाइ छ । गार्गीका धावकहरुमा नमिता भुसालसहित भूमिका मगराती, प्रवेशिका खनाल, अनुष्का पल्ली दिपिका कार्की पनि छात्राहरुलाई छात्रहरुलाई जस्तो प्रोत्साहन गर्नुपर्नेमा उनले जोड दिए ।

    कालिका मा.वि.की अर्की होनहार खेलाडी हुन् सिर्जना कठायत । टीम क्याप्टेन समेत रहेकी जर्सी नम्बर १० का खेलाडी कठायत लगायतको पहलमा फुटबल टीम बनाउन सफल भएका थिए । शिक्षक–शिक्षिकाले फाइनल परीक्षा नजिककै आएकाले खेलमा सहभागी हुनुपर्दैन, सहभागी नहुँदा पनि केही फरक पर्दैन तर, पढाई बिगार्न हुँदैन भनेको कुरा अहिले पनि कानमा गुन्जिरहेको छ । उनले भनिन्-‘यसप्रकारको कठिन घडीमा पनि ज्यानको बाजी लगाएर फुटबल प्रतियोगितामा सहभागी भइ आफ्नो विद्यालयलाई प्रथम बनाएका छौं । ’

    कालिका मानवज्ञान माविका खेल शिक्षक हरिश ओलीका अनुसार विद्यालय, अभिभावक, शिक्षक सबैले आफ्नो ठाउँबाट खेलकुदमा छात्राहरुको उपस्थिति र विकास बढाउन भूमिका खेल्नुपर्ने बताउँछन् । खेलकुदमा छात्राहरुले प्रोत्साहन पाउने खालका कार्यक्रमहरु र गतिविधिहरु सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । 

    IMG_2828.JPG

    टिममा नियति देवकोटा, रोशनी सारु, सभ्यता थापा, अनुपा जिसी, मुस्कान चौधरी (गोलकिपर) वर्षा थापा, प्रस्था कार्की, जस्मिन श्रेष्ठ, एलिसा भण्डारी र सन्ध्या पुनमगरको पनि कुरा अनुसार उस्तै अनुभव र उस्तै अनुभुति छ । उनीहरु भन्छन-नयाँ सोचका साथमा हामी पुरानो जर्सी लागाएर खेलमा आएका हौं । तर, पनि जितेर छाडियो यो नै गौरवको कुरा हो । प्रशिक्षण केन्द्रको अभाव, खेलमैदानको कमी लगायत समस्या रहेको उनीहरुको भनाइ छ । प्रतियोगितामा कालिकाका सृजना कडायत सर्वोत्कृष्ट खेलाडी, मुस्कान चौधरी उत्कृष्ट गोलकिपर, प्रस्था खनाल उत्कृष्ट डिफेन्स उपाधिसहित ५० हजार राशीको पुस्कार समेत जित्न सफल भएका थिए । 

    1st team.JPG

    IMG_2974.JPG