२०८२, श्रावण २ गते

Jul 17 2025 | २०८२, श्रावण २ गते

‘उद्योगी–व्यवसायी र बैंकबीच सहकार्य आवश्यक’

शुक्रवार , चैत्र ६, २०७७

भैरहवा, ६ चैत । 
उद्योग व्यापार संगठन रुपन्देहीको आयोजनामा उद्योगी व्यवसायी र बैंकबीच सहकार्य आदानप्रदान सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम भैरहवामा सम्पन्न भएको छ । छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागी उद्योगी व्यवसायी तथा बैंकका प्रमुख तथा प्रतिनिधिहरुले बैंक र उद्योगी व्यवसायीबीच नङ र मासुको सम्बन्ध रहेकोले दुवै पक्षबीच सहकार्यको आवश्यकता रहेकामा जोड दिए । उनीहरुले उद्योग व्यवसाय सञ्चालन गर्ने विषय बैंकसंगै सम्बन्धित रहेको बताए ।

कार्यक्रममा बोल्दै उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले उद्योग स्थापना गर्दा बैंकिङको कुरा हुने र यो बैंकसंगै जोडिएको विषय भएको बताए । उनले मुलुकमा बैंक व्यवस्थित हुँदै गएकोले अब उद्योग व्यवसाय पनि व्यवस्थित हुँदै जानुपर्ने बताए । बैंकले गर्दा उद्योग व्यवसाय सञ्चालन गर्न सहज भएको उनले बताए । अध्यक्ष भण्डारीले लुम्बिनी प्रदेशमा ठूलो लगानी भित्रिदै गएकोले निजी क्षेत्र बैंकसंग मिलेर अगाडी बढ्नुपर्ने बताए । अब बैंक र उद्योगी व्यवसायीबीचको छलफललाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ । मुलुककै आर्थिक हबको रुपमा अगाडी बढिरहेको रुपन्देही जिल्लालाई थप आर्थिक चलायमान बनाउन निजी क्षेत्र र बैंकको भूमिका महत्वपूर्ण रहने उनले बताए । उद्योग व्यापार संगठन रुपन्देहीको आयोजनामा यही चैत ३१ गते सिद्धार्थ सडक खाना महोत्सव तथा बृहत सांस्कृतिक हुने भएकोले यसलाई सफल पार्न सबैको सहयोग आवश्यक रहेको उनले बताए । ‘यहाँका कार्यक्रम सफल हुनु सबैको गौरवको कुरा हो, ’भण्डारीले भने । 

नेपाल बैंकर्स संघ लुम्बिनी प्रदेशका अध्यक्ष तथा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड लुम्बिनी प्रदेशका प्रमुख रामराज उपाध्यायले बैंक तथा वित्तीय संस्था उद्योगी व्यवसायीको हितकारी संस्था भएको बताए । उनले बैंकलाई उद्योगी–व्यवसायी र उद्योगी–व्यवसायीलाई बैंक आवश्यक रहेको बताए । ‘केही समय बैंकको ब्याजदरबारे केही असहज परिस्थिति उत्पन्न भएको थियो, ’उनले भने । बैंकहरुले अब नगदरहित कारोबारलाई अगाडी बढाउँदै गएको उनले बताए । उनले यस क्षेत्रमा धेरै सम्भावना रहेको बताए । उद्योगी–व्यवसायी र बैंकबीचको छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने उनले बताए ।

उद्योग व्यापार संगठन रुपन्देहीका उद्योग उपाध्यक्ष रामचन्द्र रेग्मीले विगतमा बैंकको चर्को ब्याजदर भयो भनेर आन्दोलन भएको र अहिले भने ब्याज घटेको बताए । उनले स्वदेशमै उद्योग व्यवसाय सञ्चालन गर्न चाहने साना उद्योगी व्यवसायीलाई पनि कर्जाका बारेमा जानकारी दिन बैंकहरुले कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताए ।

कृषि विकास बैंक भैरहवा शाखा प्रबन्धक बाबुराम खत्रीले योजनाले चल्ने व्यवसाय सफल हुने बताए । उनले बैंक र उद्योगी व्यवसायीको उद्देश्य एउटै भए पनि दुरी रहेकोले दुरी कम गर्नुपर्ने बताए । उद्योगी व्यवसायीको सफलतामा बैंक खुशी हुने उनको भनाइ छ ।

नबिल बैंक लिमिटेड भैरहवा शाखा प्रबन्धक लिला प्रसाद ओझाले वित्तीय साक्षरता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए । उनले यो कार्यक्रममा सहकार्य गर्न नबिल बैंक तयार रहेको बताए ।

कामना सेवा विकास बैंक लिमिटेड भैरहवा कलस्टर प्रमुख तुल्सी आचार्यले बैंक र उद्योगी व्यवसायी संगसंगै अगाडी बढ्नुपर्ने बताए । उनले पैसा नभएर बैंकमा ऋण लिन आउने उद्योगी व्यवसायीलाई मालपोत कार्यालयमा जग्गा धितोबन्धक राख्न समस्या भएकोले यसको समाधानको लागि ध्यानाकर्षण गराउनुपर्ने बताए ।

महालक्ष्मी विकास बैंक लिमिटेड भैरहवा शाखा प्रबन्धक गौतम गुप्ताले मालपोत कार्यालयमा बार तोकेर काम गरिदा र पूर्ण रुपमा सञ्चालनमा नआउँदा ऋण लिन चाहने उद्योगी व्यवसायीलाई समस्या परेको बताए । 

उद्योग व्यापार संगठन रुपन्देहीका सल्लाहकार चन्द्रमणि अधिकारीले बैंकमा आम नागरिकको सहज पहुँच हुनुपर्ने बताए । उद्योग व्यापार संगठन रुपन्देहीका महासचिव अनिल कुमार ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।