२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नागरिकता विधेयक र महिला अधिकारबारे कानून संशोधन र प्रभावकारी कार्यान्वयनमा जोड

आइतवार , फाल्गुण २५, २०८१

बुटवल, २५ फागुन । ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपालमा नागरिकता समस्या, ऐन संशोधन र समाधान विषयक नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ । मानवअधिकार तथा शान्ति समाज रुपन्देहीको आयोजनामा सम्पन्न कार्यक्रममा सहभागीहरुले महिला अधिकार, नागरिकता विधेयक र संशोधन, श्रमिक महिलाको अवस्था, राजनीतिक सहभागीता तथा अधिकारका विषयमा चर्चा गरेका थिए । 

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा प्रमुख सचेतक जमुना ढकालले राजनीतिमा महिलाहरूले भोग्नुपरेको विभेदबारे प्रकाश पार्दै महिलाहरूलाई अझै पनि स्वतन्त्र रूपमा आफ्ना मुद्दा उठाउन कठिन भइरहेको बताइन् । सांसद् ढकालले महिला हकअधिकारका विषयमा खुलेर बहस हुनुपर्नेमा जोड दिइन् । संसदमा उठाइएका महिला सम्बन्धी विषयलाई सरकारले गम्भीर रूपमा नलिने प्रवृत्तिले महिलाको हकहित जोगिन नसकेको सांसद ढकालको भनाइ थियो ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका पूर्व सभापति गोविन्द खनालले महिलाका हकअधिकारलाई बलियो बनाउन कानूनी सुधार आवश्यक रहेको बताए । खनालले संयुक्त राष्ट्र संघका विभिन्न सन्धिहरूमा उल्लेखित महिला अधिकारहरू पूर्ण रूपमा कार्यान्वयन गर्न नेपालले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका थिए । 

राष्ट्रिय मानव अधिकार आयोगका प्रदेश प्रमुख हरि ज्ञवालीले मानव अधिकारको प्रत्याभूति सरकारको पहिलो प्राथमिकता हुनुपर्ने उल्लेख गर्दै उठाइएका विषयहरूलाई निरन्तर रूपमा सरकार समक्ष प्रस्तुत गर्दै परिणाममुखी काम गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा वरिष्ठ पत्रकार डा.बालकृष्ण चापागाईंले महिला अधिकार, नागरिकता विधेयक, श्रमिक महिलाको सुरक्षा, तथा लैंगिक समानताको विषयलाई अझै सशक्त रूपमा उठाउनुपर्ने आवश्यकतामा जोड दिए । 
शान्ति समाज रुपन्देहीका पूर्व सभापति तथा पत्रकार हरिष ढकालले सरकार कानून बनाउने मात्र नभइ प्रभावकारी कार्यान्वयनमा पनि जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए । ‘नेपालमा महिला अधिकार सम्बन्धी विभिन्न कानूनी व्यवस्था छन् । तर जब तिनको प्रभावकारी कार्यान्वयन हुँदैन, तब महिलाहरूको अवस्था झन् कमजोर बन्दै जान्छ, ’ढकालले भने ।

कार्यक्रममा महिला अधिकारकर्मी रिता सेन, समाजसेवी विष्णु भण्डारी लगायतले महिलाको राजनीतिक, सामाजिक, आर्थिक अधिकार सुनिश्चित गर्न सरकार, नागरिक समाज, र सरोकारवालाहरू एकसाथ लाग्नुपर्ने बताए । 

सभापति अर्जुन ज्ञवालीले महिला अधिकार ः मानव अधिकार तथा ‘नेपाल नागरिकता, दोस्रो संसोधन विधेयक–२०८१’ शिर्षकमा शान्ति समाजको अवधारणापत्र प्रस्तुत गरेका थिए  । अबको मुख्य विषय यही भएको सभापति ज्ञवालिले बताए । उपसभापति कृष्ण पाण्डेको सञ्चालनमा भएको सो कार्यक्रममा समाजसेवी, महिला अधिकारकर्मी, राजनीतिकर्मी, पत्रकार तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू गरी ४८ जनाको उपस्थिति थियो ।