शनिवार , कार्तिक २१, २०८३
भैरहवा, २१ कार्तिक । लायन्स क्लब अफ भैरहवा लिगेसीको आयोजनामा शनिबारदेखि रुपन्देहीको भैरहवामा निःशुल्क मधुमेह परीक्षण शिविर सुरु भएको छ ।
सिद्धार्थनगर नगरपालिका–८, लुम्बिनी रोडस्थित लुम्बिनी डाइग्नोस्टिक एण्ड प्याथ ल्याब/अनमोल फार्मेसीमा सुरु भएको शिविर आगामी मंसिर १२ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रम संयोजक शैलेश उपाध्याय वत्सका अनुसार शिविर अवधिभर बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म निःशुल्क मधुमेह परीक्षणको व्यवस्था गरिएको छ ।
‘डायबिटिज अवेयरनेस मन्थ’ अन्तर्गत शिविर सञ्चालन गरिएको क्लबका संस्थापक अध्यक्ष रविकान्त उपाध्यायले बताउनुभयो ।
शिविरको शनिबार एक कार्यक्रमबीच शुभारम्भ गर्दै प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी, नेपालका डिष्ट्रिक्ट गभर्नर सन्दीप कसौधनले मधुमेहबारे सबैले जानकारी राख्न आवश्यक रहेको बताउनुभयो । उहाँले मधुमेहसम्बन्धी जनचेतना फैलाउन लायन्सले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै लायन्स क्लब अफ भैरहवा लिगेसीले गरेको कामको प्रशंसा गर्नुभयो ।
त्यस्तै फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर मीना पन्थीले मधुमेहले आँखा, मिर्गौला र मुटुमासमेत असर गर्न सक्ने भएकाले यससम्बन्धी जनचेतना अझ विस्तार गर्नुपर्ने बताउनुभयो । उहाँले लायन्स क्लब अफ भैरहवा लिगेसीलाई महिला क्लब स्थापना गर्न तथा महिला उद्यमशीलता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा क्लबका अध्यक्ष नारायण प्रसाद कोइरालाले हालै सम्पन्न दशैं महोत्सवबारे धारणा राख्दै महोत्सव आयोजना गरेर लायन्सको साखमा आँच पु¥याउने नभइ संस्थाको पहिचान र ब्राण्डिङलाई थप बलियो बनाउने काम गरेको बताउनुभयो । आर्थिक रूपमा महोत्सव कति सफल भयो भन्नेभन्दा पनि सामाजिक रूपमा आफूहरू सफल भएको उहाँको भनाइ थियो । लायन्सको लोगो र प्रतिष्ठामा आँच आउने कुनै पनि काम नगर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले सहयोग, साथ र सुझाव दिने लायन्स नेतृत्वप्रति आभार व्यक्त गर्नुभयो ।
क्लबका प्रथम उपाध्यक्ष गोविन्द उपाध्यायको सञ्चालनमा भएको कार्यक्रममा ग्याट लिडर संगम न्यौपाने, क्लबका संस्थापक अध्यक्ष रविकान्त उपाध्यायलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा पूर्व डिष्ट्रिक्ट गभर्नर अर्जुनमान सैंजु, निवर्तमान डिष्ट्रिक्ट गभर्नर बालाराम भट्टराई, डिष्ट्रिक्ट एडभाइजर राजेन्द्र थापालगायतको आतिथ्यता रहेको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
