
आइतवार , फाल्गुण २५, २०८१
भैरहवा, २५ फागुन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले चित्रगुप्त युवा सेवा समिति सिद्धार्थनगर सामाजिक कार्यमा अग्रसर रहेको बताएकी छन् । उनले समितिले निस्वार्थ भावले काम गरेको भन्दै प्रशंसा गरेकी छन् ।
श्री चित्रगुप्त युवा सेवा समिति र चित्रांस युथ क्लब सिद्धार्थनगरले शनिबार सिद्धार्थनगर–६ स्थित श्री चित्रगुप्त मन्दिरमा आयोजना गरेको ‘चित्रांस होली मिलन समारोह–२०८१’ मा बोल्दै उपप्रमुख अधिकारीले यस्तो बताएकी हुन् । यहाँहरु सामाजिक कार्यमा अग्रसर हुनुहुन्छ, उनले भनिन्–‘नितान्त सामाजिक भावका साथ अगाडि बढियो भने विकास हुन्छ ।’
उनले युवाहरुको सहभागीता आवश्यक रहेको र युवाहरु राजनीतिमा आउनुपर्नेमा जोड दिइन् । उनले चित्रगुप्त मन्दिरको विकासमा सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् । उनले २०७९ सालको स्थानीय तह निर्वाचनमा वडा नम्बर ६ बाट आफूले राम्रो मत पाएको भन्दै सम्पूर्ण मतदातालाई धन्यवाद समेत दिइन् । ‘सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ बाट मलाई राम्रो मत आयो, यहाँहरुको अमूल्य मतले मलाई नगर उपप्रमुखको जिम्मेवारीमा पुर्याएको छ । यहाँको विकासको कामलाई अघि बढाउनु मेरो दायित्व हो । चित्रगुप्त मन्दिरमा आउँदा ‘पोजिटिभ वाइभ्स’ आएको अनुभुति भएको छ।’
उपप्रमुख अधिकारीले होली पर्वले सामाजिक एकताको भावना बढाउने उल्लेख गरिन् ।
त्यस्तै सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तवले होली पर्व मेलमिलापको पर्व भएको बताए । उनले यो पर्वको अवसरमा एकआपसमा केही तिक्तता रहे त्यसलाई मनबाट हटाएर अघि बढ्नुपर्ने बताए ।
श्री चित्रगुप्त युवा सेवा समिति सिद्धार्थनगरका संस्थापक अध्यक्ष समेत रहेका श्रीवास्तवले चित्रगुप्त मन्दिरमा केही निर्माण कार्य बाँकी रहेको र यसमा नगरपालिकाको सहयोग आवश्यक रहेको बताए । श्री चित्रगुप्त युवा सेवा समिति सिद्धार्थनगरका कार्यबाहक अध्यक्ष दिपक मल्लिकले समितिले विगत २ दशकदेखि होली मिलन समारोह गर्दै आएको बताए । ‘होली पर्व अन्यायमाथि न्यायको जीत, असत्यमाथि सत्यको जीत हो’उनले भने–‘यो पर्वमा रंगमार्फत रिग, राग र नकारात्मक विचार हटाउनुपर्छ ।’
समितिका पूर्व उपाध्यक्ष आनन्द कर्णले होली पर्वमा रिस, राग हटाएर अगाडि बढ्नुपर्नेमा जोड दिए । चित्रांस युथ क्लबका अध्यक्ष सौरभ लाभले आगामी दिनमा पनि होली मिलनसँगै सामाजिक कार्यलाई निरन्तरता दिने बताए ।
चित्रगुप्त युवा सेवा समितिका कार्यबाहक अध्यक्ष दिपक मल्लिकको अध्यक्षता, कार्यसमिति सदस्य धिरज कुमार मल्लिकको स्वागत तथा सचिव विवेकानन्द मल्लिकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा समितिका संस्थापक अध्यक्ष तथा सिद्धार्थनगर–२ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तवलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा समितिका पूर्व सह–सचिव धिरज कर्णले भजन प्रस्तुति गरेका थिए । त्यस्तै कार्यक्रममा बालबालिकाहरुले नृत्य प्रस्तुत गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij