
आइतवार , फाल्गुण २५, २०८१
भैरहवा, २५ फागुन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित साई ग्लोबल एकेडेमीले ४२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । शनिबार एकेडेमीले भैरहवामा एक समारोहकाबीच वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।
समारोहको उद्घाटन गर्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले छोराछोरीले नाम कमाए अभिभावक, समाज, नगर र देशको नाम अगाडि बढ्ने बताए । उनले अभिभावकले आफ्ना सन्तानलाई उनीहरुको रोजाइ अनुसारको विषय पढ्न दिनुपर्ने बताए । उनले भने–‘बालबालिकालाई गाली होइन, सम्झाउनुपर्छ ।’
त्यस्तै नगर उपप्रमुख उमा अधिकारीले सिद्धार्थनगरको शिक्षा अब्बल रहेको बताइन् । ‘हामी आफ्नै ठाउँको शिक्षाको किन विश्वास गर्दैनौ ? उनले भनिन्–‘आफ्नो ठाउँको विश्वास आफै गर्नुपर्छ । अभिभावकले यहाँको शैक्षिक संस्थाप्रति विश्वास गर्नुपर्छ । ’ उनले निजी विद्यालयको शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पन्थीले प्रयाप्त शैक्षिक गुणस्तर राम्रो हुँदाहुँदै अध्ययनका लागि भैरहवा बाहिर पठाए यस क्षेत्रकै विकासमा अवरोध पुग्ने बताए ।
कार्यक्रममा पार्थिवेन्द्र उपाध्याय, राजु शर्मा ढकाल, महेश भुर्तेल, डा. पिताम्बर तिवारी, विद्यालयका अभिभावक तथा लुम्बिनी प्रेस क्लबका सचिव शशि पन्थी लगायतको आतिथ्यता थियो ।
साई ग्लोबल एकेडेमीका अध्यक्ष दिनेश मान अमात्यको अध्यक्षता, प्रबन्ध निर्देशक मोती प्रसाद पौडेलको स्वागत तथा शिक्षक प्रकाश ज्ञवाली र शिक्षिका अनिसा खातुनको सञ्चालनमा कार्यक्रम भएको थियो । कार्यक्रममा प्राचार्य लक्ष्मण ज्ञवालीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । विज्ञान तथा प्रविधिको विकास, शैक्षिक तथा मनोवैज्ञानिक तालिम, बीबीए, एमबीए लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने विद्यालयको आगामी योजना रहेको प्राचार्य ज्ञवालीले बताए ।
वार्षिकोत्सवको अवसरमा विज्ञान प्रदर्शनी महोत्सव, साँस्कृतिक कार्यक्रम, गायन तथा नृत्य प्रस्तुती रहेको थियो । कार्यक्रममा अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी, पत्रकार, शुभचिन्तक लगायतको उपस्थिति थियो । कार्यक्रममा विद्यार्थीहरुलाई पुरस्कार वितरण एवं सम्मान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij