
आइतवार , फाल्गुण २५, २०८१
रुपन्देही। पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किदा उनले अनौठो स्वागत पाए। प्रजातन्त्र दिवसको अवसरमा पोखराबाट ‘अर्थपूर्ण’ भिडियो सन्देश जारी गरेपछि एकाएक चर्चामा आएका शाहका समर्थन र स्वागतमा राजावादीहरु स्वागतबोर्ड लिएर काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको गेटबाहिर उभिएका थिए।
आइतबार काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजावादीहरुले कडा सुरक्षालाई चुनौती दिदै जुलुससहित निर्मल निवास पुर्याएका थिए। १६ वर्षअघि औपचारिक रुपमा गद्दी त्याग्न बाध्य भएका पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको असर पारेर फागुन ७ गते देशको अवस्था दयनीय बन्दै गएको भन्दै आफ्नो पक्षमा उभिन सर्वसाधारणसँग आह्वान गरेका थिए। त्यसको केहीदिनपछि पोखरास्थित पुरानो विमानस्थलबाट समिट एयरको १८ सिटे चार्टर्ड विमानमार्फत अपराह्न ४ बजे काठमाडौं ओर्लिएका पूर्वराजा शाहलाई उनका समर्थकहरुले तामझामसहित स्वागत गरेका हुन्।
अपराह्न ४ बजेतिर विमानस्थलमा ओर्लिएर पूर्वराजा शाह बाहिर निस्किएपछि प्रहरीलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको थियो। विमानस्थलको मुख्य गेटबाट अगाडि निस्किने वित्तिकै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका कमल थापा लगायतले उनलाई त्यहीँ भेटेर स्वागत गरेका थिए। प्रहरीले गृहमा गरेको रिपोर्टिङ अनुसार आइतबारको प्रदर्शनमा सबै ठाउँ गरी कम्तीमा १५ हजार प्रदर्शनकारी सहभागी थिए।
काठमाडौंको तिनकुनेदेखि विमानस्थलसम्म र गौशालादेखि विमानस्थलसम्मको क्षेत्रमा ज्ञानेन्द्र शाहका पक्षमा भएको प्रदर्शनको संकेत के हो? राजा आउ देश बचाउ भन्ने नारा र सत्ताशीन प्रधानमन्त्री र नेताहरुका विरुद्धमा सडकमा उत्रिएको भीडले के सन्देश दिएको छ? अहिले नेपाली राजनीतिमा मुख्य चर्चाको विषय यही हो।
आखिरमा राजतन्त्र र राजसंस्था हटाएर गणतन्त्र प्राप्तिको १६ वर्षपछि जनताले किन राजतन्त्र वा राजसंस्थाको खोजी गरिरहेका छन्? विगतमा ज्ञानेन्द्रकै नाम लिएर देश छोड भन्नेसम्मका नारा लगाउनेहरुले आज बहालवाला प्रधानमन्त्रीका विरुद्धमा त्यही आवाज किन उठाइरहेका छन्? किन विश्वमै उन्नत मानिएको लोकतन्त्र/गणतन्त्रको विकल्पका रुपमा राजसंस्थाकै माग भइरहेको छ?
अग्रज पत्रकार कपिल काफ्ले सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्: 'यो असन्तुष्टि केका लागि ? यो जनसमुदाय राजतन्त्रका लागि होइन, गणतन्त्रका ठेकेदार नेता र दलहरुले गरेका भ्रष्टाचार विरुध्द हो, न्यायतन्त्रका लागि हो । बिच्छीले टोक्यो भनेर सर्प पाल्न सकिन्न ! इमानदार कुकुर पाल्ने हो, देशको पाले छान्ने हो ! लोकतन्त्रभित्रका इमानदार नेताहरु एकजुट भएर सडकमा आउने बेला भयो, ढिला नगरौ !'
सामाजिक सञ्जाल र काठमाडौंमा देखिएको प्रदर्शनको सन्देश स्पष्ट छ: दलहरुको दलगत राजनीतिको खिचातानी र जालझेल अनि अर्थतन्त्रमा देखिएको चरम निराशाबाट जनता आजित भइसके। त्यससँगै शिथिल अर्थतन्त्रको उत्थान, रोजगारी सिर्जना, महँगी र भ्रष्टाचार नियन्त्रण, सहकारी प्रकरण छानबिन आदिमा कदम नचाली संसदीय अंकगणितमा रमाउनु र आलोचकहरुलाई नियन्त्रण गर्न खोज्नु जस्ता कारण जनता दलीय चलखेलबाट आजित भइसकेको देखिन्छ।
दलहरुले चुनाबी घोषणापत्र र सरकार निर्माणका क्रममा सुशासनको चर्को नारा लगाए पनि भ्रष्टाचार न्यूनीकरण, महँगी नियन्त्रण लगायत जनपक्षीय काम गर्न सकिरहेका छैनन्। भूटानी शरणार्थी प्रकरण मात्रै होइन, सहकारी प्रकरण, गिरिबन्धु टी स्टेट, सुनकाण्ड लगायत प्रकरणहरुमाथि निष्पक्ष छानबीन भएको देखिदैन।
दलका प्रमुख नेताहरुले आफूहरुमाथि लागेका आरोपको छानबिन गर्ने गरी मार्गप्रशस्त नगर्ने र लोकजनमा भ्रमपूर्ण अतिरञ्जना सिर्जना गर्ने बदनियतका साथ लोकरिझ्याइँलाई नै निरन्तरता दिने गरिरहँदा जनतामा चरम निराशा बढिरहेको देखिन्छ। देशभित्र बढ्दो चरम बेरोजगारी र विदेशिने युवाहरुको बढ्दो संख्याले यो व्यवस्था नै गलत हो कि भन्ने भाष्य स्थापित गर्न खोजिरहेको छ।
यही अवस्थामा राजसंस्था फिर्ता आउने तत्काल सम्भावना नदेखिएपनि आगामी निर्वाचनसम्ममा भने जनताले विकल्पको खोजी गर्न खोजिरहेका छन् भन्ने पूर्वसंकेत देखाउँछ। लेखक तथा विश्लेषक दिल निसानी मगर लेख्छन्: 'हिजो जनता मूर्ति चोर्नेहरूसँग रिसाएका थिए। आज जनता पशुपतिनाथको जलहरी गायब पार्नेहरूसँग रिसाएका छन्। हिजो ज्ञानेन्द्र शाहलाई गैँडाको खाक बेचेको आरोप लगाउनेहरूले पनि आज क्विन्टलका क्विन्टल सुन तस्करी गरेको जनताले देखेका छन्। जनताले यो पनि देखेका छन्—बर्दी लगाएको प्रहरी कुट्न पारस शाह नै हुनु पर्दैन रहेछ।
हिजो जनतामाथि सैन्य संकटकाल थियो, आज जनतामाथि आर्थिक संकटकाल छ। लाखौँ युवाहरू विदेशीको हरुवा-चरुवा हुनु परेको छ। हली प्रथा नेपालमा अन्त्य भयो, तर रोमानियाका खेत बारीहरुमा सुरु भएको छ। दास प्रथा नेपालबाट हट्यो, तर कुवेतका भिलाहरूमा ‘केयर गिभर’को नाममा हजारौँ नेपाली चेलीहरू बन्धक बनेका छन्। यही कुरा बुझेर राजावादीहरू चलमलाइरहेका छन्। तर मलाई विश्वास छ, दरबारको पर्खाल भित्र हैन झुपडीमा बस्ने नेपाल आमाको कोखबाट पनि जन्मिन सक्छन् ली क्वान यु, महाथिर मोहम्मद, शिन्जो आबे, र मोहम्मद बिन राशिद अल मकतुमहरू। यही भिरपाखाहरुमा पनि हुर्किन सक्छन् फिडेल क्यास्ट्रो, मार्टिन लुथर किङ जूनियर, ए.पी.जे. अब्दुल कलाम, हो चि मिन्ह, र ह्युगो चाभेजहरू।'
यो प्रदर्शनको अगुवाइ गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंदेल काठमाडौं तिनकुनेदेखि विमानस्थलतर्फ गरिएको प्रदर्शनको तस्वीर पोष्ट गर्दै भन्छन्: 'तस्वीर आफैँ बोल्छ: ढिलो नगरौँ ! कसैले कसैलाई निषेध नगर्ने मौलिक व्यवस्था निर्माण गरौं !! अन्यथा नसच्चिनेले सक्किन तयार हुनुपर्छ।'
उनले आइतबार बेलुका हिमालय टिभीमा दिएको अन्तरवार्तामा यो प्रदर्शन राप्रपाको अगुवाइमा देशको अवस्था बदल्न चाहनेहरुले व्यवस्था परिवर्तनका लागि गरेको समर्थनको संकेत भएको बताउँछन्। उनी प्रदर्शनलाई अनेक विदेशी शक्तिहरु र परिचालित शक्तिबाट सञ्चालित भएको भन्ने आरोपको खण्डन गर्छन्।
उनी अनलाइनखबरलाई दिएको एक अन्तरवार्तामा भन्छन्: 'हिजो राम्रो भएन भनेर अहिले नराम्रो गरिरहने छुट दलहरुलाई छैन। २०४६ सालको परिवर्तनले प्रजातन्त्र, २०६३ ले लोकतन्त्र, गणतन्त्र आयो। राजाको डेढ वर्षे पत्यक्ष शासनबाहेक अहिलेकै ठूला दल कांग्रेस–एमाले सत्तामा रहे। नेता पनि तिनै केही अनुहारको शासन रह्यो। यो बीचमा हामीभन्दा कमजोर देशहरुले प्रगति गरे। चीन र भारतको दाँजोमा हामी कहाँ छौं ? उनीहरुसँग प्रत्यक्ष सम्भावना उजागर गर्दा हामी किन कमजोर ? भुटान समेतले गर्दा हामीले नगर्नुपर्ने कारण के छ ? त्यसैले हिजो राजसंस्थाको पालामा राम्रो थियो भनेर जस्ताको त्यस्तै फर्किनुपर्छ भनेका छैनौं। हामीले देशलाई जीवनकालमै बनेको, अघि बढेको देखेर मर्ने हो भने सबैका बीचमा अब नवीन समझदारी हुनुपर्छ।'
लिंदेल आन्दोलनबाट जसरी राजतन्त्र हटाएको थियो त्यसरी नै अहिलेको व्यवस्था हटाउनसक्ने चेतावनी दिन्छन्।
यता, आफ्नाविरुद्धमा काठमाडौंमा नाराबाजी भइरहँदा सुदुरपश्चिम प्रदेशमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह लोकतान्त्रिक व्यवस्था बमोजिम राजनीतिमा आउने भए स्वागत गर्न तयार रहेको बताएका छन्।
आइतबार सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वराजा शाहको नामै लिएर लोकतान्त्रिक व्यवस्थामा अराजनीतिक र समाज भाड्ने गतिविधि उचित नहुने बताए । राजनीतिमा आए स्वागत गर्न भने तयार रहेको उनको भनाइ छ।
‘अहिले संविधान नमान्ने, लोकतन्त्र नमान्ने, कानुन नमान्ने, प्रणाली नमान्ने, अनौठो प्रवृत्ति देखा पर्न थालेको छ । ६ फागुनको साँझ पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन सुनेर छक्क लाग्यो,’ ओलीले भने, ‘संविधानको पनि कुरा गर्नु हुन्न, कानुनको कुरा गर्नु हुन्न, लोकतन्त्र, प्रणालीको कुरा गर्नु हुन्न, प्रक्रियाको कुरा गर्नु हुन्न मलाई साथ दिनुहोस् म आउँछु देश बचाउँछु। देश के भएको छ ?’
ओलीले भने-'राजनीतिमा आउनुहोस् हामी स्वागत गर्छौं ? तर, अराजनीतिमा की अराजनीतिमा आउने ? राजनीतिमा आउने भए यू आर वेलकम, उम्मेदवारका रूपमा साथ माग्नुभएको हो भने ठीक छ । के मा साथ माग्नुभएको हो प्रष्ट बुझिएन।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij