
सोमवार , फाल्गुण २६, २०८१
बुटवल, २६ फागुन । रुपन्देहीका अधिकांश शैक्षिक संस्थाहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन नदिन तादाबन्दी लगायतका गतिविधि गरिएको भन्दै अनेरास्ववियु रुपन्देहीले ध्यानाकर्षण गराएको छ । त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरे पनि सोअनुसार निर्वाचन प्रक्रिया अगाडि नबढेको भन्दै निर्णय कार्यान्वयनमा गम्भीर हुन विद्यार्थी संगठनहरुलाई अनेरास्ववियुले आग्रह गरेको छ।
रुपन्देहीमा निर्वाचन प्रक्रिया अघि बढेका क्याम्पसहरुमा समेत विभिन्न संगठनहरुले निर्वाचन भाँड्ने मनसायले अराजक गतिविधि गरेको अनेरास्ववियु रुपन्देहीका अध्यक्ष भरत अर्यालले बताए । अनेरास्ववियुले सोमबार एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘जिल्लाका विभिन्न क्याम्पसमा प्रक्रिया समेत अगाडि बढेको अवस्थामा विभिन्न समूहले बिना कारण अलोकतान्त्रिक ढंगले रुपन्देहीका भैरहवा बहुमुखी क्याम्पस, बुटवल बहमुखी क्याम्पस, सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा निर्वाचन भाँड्ने मनसायले गरेका अराजक गतिविधिप्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ ।’
विज्ञप्तीमा भनिएको छ, ‘नेपाली विद्यार्थीहरुको संघर्ष र बलिदानीबाट विद्यार्थीहरुको हकअधिकारका लागि स्थापित स्ववियू संस्थालाईं निर्वाचनको माध्यमबाट निरन्तरता दिनका लागि सम्पूर्ण न्यायप्रेमी विद्यार्थीहरुलाई निर्वाचन प्रक्रियामा सहभागी हुनका लागि हार्दिक अपिल गर्दछौं ।’ रुपन्देहीका १७ वटा शैक्षिक संस्थामध्ये ९ वटामा निर्वाचन प्रक्रिया अघि बढेका छन् । निर्वाचन प्रक्रिया अगाडि बढेका अधिकांश क्याम्पसहरुमा विवाद उत्पन्न भएका छन् ।
‘अनेरास्ववियु लोकतन्त्रलाई श्विास गर्ने भएकाले जसरी भए पनि निर्वाचन हुनुपर्छ भन्ने हाम्रो माग हो ’अध्यक्ष अर्यालले भने–‘जीत र हारको सवाल भन्दा पनि विद्यार्थीको अधिकारका लागि स्ववियु निर्वाचन हुनैपर्छ भन्ने हो।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij