
शनिवार , चैत्र ७, २०७७
बुटवल, ७ चैत ।
रुपन्देहीको मानव स्वास्थ्य र पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित रुपन्देहीमा साईक्लिङ कार्यक्रम गरिएको छ । बुटवल युनाईटेड साईक्लिङ क्लबको आयोजनामा शनिबार सचेतनामुलक साईक्लिङ कार्यक्रम गरिएको हो ।
सैनामैनास्थित न्यु दुर्गा नर्सरीबाट सुरु भएको साईकल र्याली सैनामैना नगरको धार्मिक पर्यटनस्थल परोर्हा बोलबम धाम, मुर्गिया लुम्बिनी गेट, दुर्गा मन्दिरसहित बुटवलका नगरका धार्मिक स्थलहहरुको भ्रमण गरेका थिए ।
कार्यक्रमको एक समारोहकाबीच लुम्बिनी प्रदेशसभा सदस्य कमला विकले उद्घाटन गर्दै मानव स्वास्थ्यसंगै वातावरण संरक्षणका हिसाबमा साईक्लिङ महत्वपूर्ण हुने बताइन् । युवाहरुको अगुवाइमा समाजका विकृति र विसंगतिविरुद्ध लाग्नुपर्ने सुझाव दिदै सचेतना जगाउने गरी कार्यक्रमलाई निरन्तर अघि बढाउनुपर्ने बताइन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष स्वस्तिक श्रेष्ठले वातावरण संरक्षणसंगै साईक्लिङबाट पर्यटन प्रवर्द्धनका लागि सरकारको चासो बढाउन सुझाव दिए ।
बुद्घ जन्मस्थल लुम्बिनीमा पर्यटकको बसाई लम्ब्याउन साईक्लिङ प्याकेज एक उत्तम विकल्प भएको भन्दै यसतर्फ सरोकारवाला निकायहरुको ध्यान जानुपर्ने उनले बताए । प्रदेशमा निर्माण भइरहेका पूर्वाधार विकासलाई साईकलमैत्री बनाउन संस्थागत रुपमा पहल थालेको भए पनि सरकारबाट यसतर्फ विशेष चासो नदिनु दुःखद भएको उनले बताए । कार्यक्रममा सैनामैना खेलकुद विकास समितिका सदस्य तथा दलित उत्थान संघका अध्यक्ष सुरज बराल, स्वास्थ्यकर्मी रिता साही, क्लबका अध्यक्ष उत्तम श्रेष्ठ, सचिव राजु तिवारी, कार्यक्रम संयोजक रबिलाल सुवेदीले स्वास्थ्य र पर्यटनको क्षेत्रमा रुपन्देहीका युवाहरुको अभियानलाई सबैको साथ रहेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij