
बिहिवार , चैत्र ६, २०८१
लक्ष्मण ज्ञवाली सिद्धार्थनगर क्षेत्रको शैक्षिक क्षेत्रमा नौलो नाम होइन । विगत केही महिनादेखि रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ बसडिलियास्थित साई ग्लोबल एकेडेमीको प्राचार्यमा नियुक्त ज्ञवाली विगत २२ वर्षदेखि यस क्षेत्रका विभिन्न शैक्षिक संस्थाहरुमा आबद्ध भइ अध्यापन गराउँदै आइरहेका छन् । वि.सं. २०३६ सालमा पाल्पाको भुवनपोखरीमा जन्मिएर रैनादेवी छहराबाट एसएलसी, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाबाट प्रवीणता प्रमाणपत्र तह, भैरहवा बहुमुखी क्याम्पसबाट स्नातक, त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट स्नातकोत्तर तह र खुल्ला विश्वविद्यालयबाट एमफिल तहको शिक्षा हासिल गरेका ज्ञवाली शिक्षा क्षेत्रमा क्रियाशील छन् । प्रस्तुत छ प्राचार्य ज्ञवालीसँग साई ग्लोबल एकेडेमी र वर्तमान शैक्षिक अवस्थाबारे गरिएको कुराकानीको सम्पादित अशं:
तपाई अहिले साई ग्लोबल एकेडेमीको प्राचार्य हुनुहुन्छ । यो कस्तो शैक्षिक संस्था हो ?
साई ग्लोबल एकेडेमी सिद्धार्थनगर क्षेत्रको प्रतिष्ठित, गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको र गरिमामय इतिहास बोकेको अग्रणी शैक्षिक संस्था हो । विद्यालय तहमा ९५०, दश जोड दुईमा ९० र स्नातक तह अन्तर्गत वाणिज्य संकाय ( बीबीएसमा २५० विद्यार्थीले अध्ययन गरिरहेको यो शैक्षिक संस्था वि.सं. २०३८ सालमा सिद्धार्थ विश्वज्योति स्कूलको नामबाट सुरु भएको थियो । यस क्षेत्रका शिक्षाप्रेमीहरुको पहलमा वि.सं. २०६५ सालदेखि कलेज सञ्चालन भएको थियो । अहिले साई ग्लोबल एकेडेमीलाई जिल्लाकै उत्कृष्ट र नमूना कलेज बनाउने योजनाका साथ हामी अगाडि बढिरहेका छौं ।
तपाई शैक्षिक क्षेत्रमा कहिलेदेखि र कसरी आउनुभयो ?
म आजभन्दा २२ वर्षअघि सि.बि. पब्लिक बोर्डिङ्ग स्कूलबाट अध्यापन पेशा सुरु गरेको हुँ । रोजगारीका क्रममा शिक्षा क्षेत्रमा प्रवेश गरियो । मुनलाईट बोर्डिङ्ग स्कूल, लुम्बिनी इन्जिनियरिङ्ग कलेज, रुपन्देही क्याम्पस हुँदै साई ग्लोबल एकेडेमीमा पूर्ण रुपमा आबद्ध भएको छु । हुन त साई ग्लोबल कलेजमा विगत १० वर्षदेखि अध्यापन गराउँदै आएको भए पनि प्राचार्यको जिम्मेवारीमा पूर्णकालीन भएको भने चार महिना मात्रै भएको छ ।
विद्यार्थी र अभिभावकले साई ग्लोबल एकेडेमीलाई नै किन रोज्ने त ?
आजको साई ग्लोबल एकेडेमीको रोडम्याप भनेको प्रविधिमैत्री बनाउने, विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने, कोर्स मात्रै रटाएर घोकन्ते विद्या भन्दा पनि रचनात्मक शिक्षा, व्यवहारिक विषयवस्तुमा पनि पोख्त बनाउने, कविता, नाटक, निबन्ध जस्ता अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै केन्द्रीत गरी विद्यार्थीको सर्वाङ्गिण विकास गर्ने हाम्रो उद्देश्य रहेको छ ।
बजारमा अहिले निजी क्षेत्रमा अध्यापनमा संलग्न शिक्षकलाई हेर्ने दृष्टिकोण फरक छ । म निजी तथा संस्थागत विद्यालयमा पढाउँछु भनेर गौरव गर्ने खालका शिक्षक उत्पादन गर्नु पनि हाम्रो लक्ष्य छ । परीक्षा दिएर बसेका विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा संलग्न गराई उत्कृष्ट बनाउने हामीले सोच अघि सारेका छौं । विद्यार्थीलाई ट्युशनको बोझ थप्ने प्रवृत्ति छ, त्यसलाई पनि निरुत्साहित गर्ने हाम्रो लक्ष्य छ । जसले गर्दा यो शैक्षिक प्रतिष्ठान जिल्लाकै उत्कृष्ट बन्ने हाम्रो विश्वास छ । त्यसैकारणले विद्यार्थी अभिभावकहरुसँग हाम्रो निकट सम्बन्ध रहनेछ । उहाँहरुको रोजाईमा साई ग्लोबल एकेडेमी पर्ने निश्चित छ
सामूदायिक शैक्षिक संस्थाप्रतिको आकर्षण बढ्दो छ, यसले निजी क्षेत्रलाई के कस्तो असर पार्ला ?
त्यस्तो पनि होइन । खाली छात्रवृत्तिमा सामूदायिक विद्यालयमा अध्ययन गरेको विद्यार्थीलाई मात्र दिने गरिएका कारण उच्च शिक्षा अध्ययन गर्न सरकारी नै रोज्ने प्रवृत्ति थियो । तर, पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले त्यो व्यवस्था खारेज गरिदिनुभयो । राज्यले शिक्षामा विभेद गरी दुईथरी व्यवस्था गर्नु अनुचित थियो, त्यसलाई खारेज गर्ने पूर्वमन्त्रीलाई धन्यवाद दिन चाहन्छु । राज्यले सरकारी विद्यालयहरुमा ठूलो लगानी गरेको छ । तलबदेखि विद्यालयहरुको पूर्वाधार विकासमा राज्यको लगानी ठूलो छ । निजीको तुलनामा सरकारीमा जति राज्यको लगानी छ, त्यसको तुलनामा बरु प्रतिफल कम छ । निजी क्षेत्रका विद्यालयहरुलाई आकर्षणको केन्द्र बनाउन प्रविधिमैत्री बनाउन आवश्यक छ । औपचारिकसँगै अतिरिक्त क्रियाकलाप सञ्चालन गरी व्यवहारिक बनाउन, सर्वाङ्गिण विकास बनाउन र मागअनुसारको जनशक्ति तयार गर्न शैक्षिक संस्थाले ध्यान दिनुपर्छ । साथै शिक्षकको गुणस्तरमा पनि प्रश्न उठ्न भएन । यति भयो भने निजी विद्यालयप्रतिको विश्वास र आकर्षण अरु बढ्छ ।
उच्च शिक्षाको लागि विद्यार्थी पलायन हुने क्रम बढ्दो छ । यो चुनौतिको सामना कसरी गर्ने ?
यसका लागि स्थानीय तहको कुनै भूमिका छैन । यो त सरकार चलाउने र नीति निर्माण गर्ने तहमा रहेका राजनीतिक दलको जिम्मेवारी हो नि । किनकी देशको अवस्था उकास्न, देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न, देशमै बसेर केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढाउन, जलश्रोत र पर्यटन क्षेत्रको विकास गर्न सक्नुपर्छ । देश सिस्टममा चल्नुपर्यो । विकास र समृद्धि आउनुपर्यो । खै त राज्य सञ्चालकहरुले यसमा ध्यान दिएको ? राजनीतिक दलहरुको पनि यसप्रति चासो र चिन्ता हुनुपर्छ । स्वरोजगार हुने सीपमूलक, प्रविधिमैत्री र दक्ष जनशक्ति उत्पादन गर्ने खालको शिक्षा आजको आवश्यकता हो । यसमा केन्द्रीत गरी राज्यको नीति बनाउनुपर्यो ।
साई ग्लोबल एकेडेमी नै किन रोज्ने ?
प्रतिष्पर्धाको माहौल, क्वालिफाईड मेनेजमेण्टमा दक्ष शिक्षकहरुद्वारा अध्यापन गराइने, विद्यालय शिक्षादेखि उच्च शिक्षासम्म एउटै ठाउँबाट उपलब्ध हुने, विज्ञान तथा ब्यवस्थापन दुवै संकायमा ऐच्छिक विषयहरु पढ्न सकिने, पूर्ण रुपमा विद्यार्थी केन्द्रीत सिकाइ विधि र पारिवारिक माहौल छ यो एकेडेमीमा । यस क्षेत्रको उत्कृष्ट शैक्षिक गृह हो यो । स्थापनाकालदेखि नगर, जिल्ला तथा छिमेकी जिल्लाका अधिकांश अभिभावक तथा शुभचिन्तकहरुको निरन्तर साथ र सहयोगको परिणाम आजको साई ग्लोबल एकेडेमी हो । आफ्नै घरदैलोमा उत्कृष्ट पढाइ हुने भएकाले विद्यालय तहदेखि उच्च शिक्षाको लागि बाहिर जान आवश्यक छैन ।
अन्तिममा केही भन्नुहुन्छ कि ?
वर्तमान अवस्थामा योजनाहरु सफलतापूर्वक अघि बढ्नुमा व्यवस्थापन समिति, अध्यक्ष दिनेश मान अमात्य, प्रबन्ध निर्देशक मोती प्रसाद शर्मा पौडेललगायत व्यवस्थापन समिति, शिक्षक–कर्मचारी साथीहरु, विद्यार्थी, अभिभावक, छिमेकी र अन्य सरोकारवालाहरु सबैको रचनात्मक तथा सकारात्मक सहयोगप्रति धन्यवाद दिन चाहन्छु । साथै सिद्धार्थनगर क्षेत्रको उत्कृष्ट शैक्षिक गृह बनाउन सहयोग गर्ने सबैमा आभार प्रकट गर्न चाहन्छु ।
प्रस्तुति : कुलमणि ज्ञवाली
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij