२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

कहिले हट्ला गुईठाको प्रयोग ? यस्ता छन् बेेफाइदा

बिहिवार , चैत्र ६, २०८१

भैरहवा, ७ चैत । रुपन्देहीको ग्रामीण क्षेत्रका अधिंकाश स्थानमा खाना पकाउनका लागि गोबरको गुईठा प्रयोग गर्ने गरिएको छ । जिल्लाका सबैजसो पालिकाका ग्रामीण क्षेत्रका कतिपय नागरिकले अहिले पनि खाना पकाउने ईन्धनको रुपमा गोवरको गुईठाको प्रयोग गर्ने गरेका छन् । 

ग्यासको मूल्य महंगो हुनु तथा दाउराको अभाव भएका कारण खाना पकाउनका लागि गुईठाको प्रयोग गर्ने गरिएको सियारी गाउँपालिका–५ की सुनिता यादव बताउँछिन् । ‘तराईका अधिकांश क्षेत्रमा वनजंगल नहुने तथा भएका ठाउँमा पनि सहज रुपमा दाउरा पाइँदैन, त्यसैले खाना पकाउनका लागि गुईठा बनाउने गर्दछौ’ यादवले भनिन–‘ग्यास एकातर्फ महंगो छ भने अर्कोतर्फ ग्यासमा पकाएको खाना आगोमा पकाएको जस्तो मीठो पनि हुदैन् ।’ ‘ग्यास किन्ने आर्थिक हैसियत नहुनेहरुका लागि गुईठा नै सबैभन्दा उत्तम विकल्प हो’, उनले भनिन । 

यादवले आफ्नो आर्थिक अवस्था पनि कमजोर रहेको गुनासो गरिन । ‘घरको आर्थिक अवस्था पनि कमजोर छ, साहुकोमा दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएकी छु, उनले भनिन्–‘गोबरको गुईठा पनि अधियामा बनाउँदै छु, तयार भएपछि आधा साहुलाई दिन्छु आधा मैले लग्छु ।’

वर्षायामपछि गोबरको दाउरा बनाउन सुरु गर्ने उनीहरुले फागू पूर्णिमापछि बाल्न सुरु गर्ने बताएका छन् । तराईमा दाउरा उपलब्ध नहुने ठाउँमा दाउराको विकल्पको रुपमा गुईठाको प्रयोग गर्ने गरिएको उनको भनाइ छ । गाईभैसी पाल्ने अधिकांशले गोबर जम्मा पारेर पराल र भुसको मिश्रण गरी विभिन्न आकारमा गुईठा बनाउने गर्छन् ।

घरको गोठको भित्तामा समथर जमिनमा गुईठाको टाड बनाएर राख्ने गर्दछन् । उनीहरुले साना, ठूला, गोला, चेप्टा, चिरपट दाउराको जस्ता आकार दिएर गुईठा बनाउने गर्दछन् । जुन सुकिसकेपछि बाल्नका लागि तयार गरिन्छ । वर्षायाम सकिएपछि गुईठा बनाउन सुरु गरी फागुन पूर्णिमा अगाडिसम्म बनाउने सियारी–५ कै फुलमति यादवको भनाइ छ । 

उनीहरुले परापुर्वक कालदेखि चल्दै आएको र प्रयोग गर्दै आएकाले आफूहरुले पनि गुईठाको प्रयोग गर्दै आएको बताउँछन् । गुईठाले स्वास्थ्यमा असर गर्नेबारे सचेत भए पनि गुईठामा पकाएको खाना स्वादिलो हुने भन्दै त्यसमै पकाउने गरको स्थानीय जानकारहरु बताउँछन् । 

गुईठाको प्रयोग गर्दा स्वास्थ्यमा भने गम्भिर असर पुग्ने चिकित्सकहरु बताउँछन् । लुम्बिनी नेत्रालय भैरहवाका प्रमुख अस्पताल निर्देशक डा. सन्तोष सुवेदीले गुईठाको धुवाँले आखामा गम्भिर असर गर्ने बताए । उनले लामो समय धुवाँमा बसेर खाना पकाउदा आँखामा क्यान्सर हुने जोखिम बढेर जाने बताए । उनका अनुसार आँखाका साथसाथै फोक्सोमा समेत गम्भिर असर पुग्ने हुँदा गुईठाको प्रयोगलाई निरुत्साहित गर्न जरुरी छ । 

यस्ता छन् गुइठाको प्रयोगका बेफाइदा

गोबरको गुईठा जलाउँदा विभिन्न खालका बेफाइदाहरू रहेका छन्, जसले वातावरण, स्वास्थ्य र दीर्घकालीन स्रोत व्यवस्थापनमा समेत असर पर्न सक्छ । यी बेफाइदाहरू निम्न प्रकारका छन् । 

धुवाँ र वायु प्रदूषण 

गुईठा जलाउँदा निस्किने धुवाँले वायुमण्डलमा कार्बन मोनोअक्साइड, मिथेन जस्ता हानिकारक ग्यासको मात्रा बढी मात्रामा उत्पादन गर्ने गर्दछ । यसले घरभित्र र बाहिर वायु प्रदूषणको कारण बनाउँछ ।

स्वास्थ्य समस्याहरू 

प्रदूषणका कारण श्वासप्रश्वासका समस्या (दम, फोक्सोको रोग) उत्पन्न हुन्छ । विशेष गरी महिला र बच्चाहरू धेरै प्रभावित हुन सक्छन्, किनभने खाना पकाउँदा उनीहरु ग्यासको प्रत्यक्ष सम्पर्कमा रहने सम्भावना बढी हुन्छ ।

अत्यन्त कम उर्जा दक्षता 

गोबरको गुईठाले पर्याप्त ताप उर्जा प्रदान गर्दैन, जसले खाना पकाउन र अन्य कार्यहरूमा समयको खपत बढाउँछ ।

माटोको उर्वराशक्ति ह्रास 

गोबर माटोको उर्वराशक्ति बढाउने महत्वपूर्ण स्रोत हो । गुईठा बनाउँदा यसलाई जलाइन्छ, जसले माटोको पोषण शक्ति कमजोर बनाउँछ ।

दीर्घकालीन स्रोतको प्रयोगमा असन्तुलन 

गोबरलाई गुईठा बनाउन प्रयोग गरिँदा जैविक स्रोतहरूको प्रयोग दीर्घकालीन रूपमा असन्तुलित हुन सक्छ । त्यसैले यसको प्रयोगलाई निरुत्साहित गर्न जरुरी छ । गोबरको गुईठाको विकल्पका रूपमा स्वच्छ ऊर्जा स्रोतहरू (जस्तै, बायोग्यास, सौर्य उर्जा) प्रभावकारी हुन सक्छन् ।