
शनिवार , चैत्र १५, २०८१
देशको भौगोलिक अवस्था, क्षेत्रफलका आधारमा हेर्ने हो भने नेपाल जलस्रोतको दोस्रो धनी देश मानिन्छ । जलस्रोतको क्षेत्रमा नेपालले नयाँ सोच र उर्जाका साथ काम गरेमा विद्युत उत्पादन र नेपाली पर्यटन तथा यहाँको जनताको जीवनस्तर उकास्नका लागि महत्वपूर्ण कडी सावित हुने थियो । नेपाल दक्षिण एसियाको पानिको खम्बा समेत भनिने गरिन्छ । नदी, खोलाहरुको संख्या र यसले समेटेको क्षेत्रलाई हेर्दा विद्युत उत्पादनका साथ साथै कृषि क्षेत्र सिंचाइमा समेत यसको महत्वपूर्ण भूमिका रहेको देखिन्छ । जल नै जीवन हो, जीवन नै जल हो भने जस्तै हाम्रो देश नेपालमा यसको उपयोगिताकाबारेमा धेरै चर्चाहरु हुनुपर्ने देखिन्छ ।
जलबाट नै उत्पादन हुने विद्युत नेपालको व्यापार घाटा कम गराउने एउटा महत्वपूर्ण उत्पादन समेत सावित हुन सक्छ । राणा प्रधानमन्त्री चन्द्र शमशेरले एसियाकै पहिलो अथवा पुरानोमध्येको एक जलविद्युत परियोजना मानिएको फर्पिङ्ग लघु जलविद्युत परियोजना सञ्चालन गरेको अवस्थामा यसले काठमाडांै उपत्यका र राणा अनि राजपरिवारका घरमा विद्युत लाइन उपलब्ध गरेको थियो । विद्युत उत्पादनको क्षेत्रमा सबैभन्दा पुरानो संस्था भएर त्यसको उत्पादनको प्रचुर सम्भावना भएर पनि नेपालमा यसको प्रयाप्तता हुन सकिरहेको छैन भने यसले गर्दा नेपालका समग्र विकासका क्षेत्रहरु, उद्योग, कृषि र पर्यटनमा समेत ठूलो क्षति पुगेको देखिन्छ ।
नेपालमा भएका विभिन्न ठूला नदीहरु गण्डकी, कोशी, कर्णाली, महाकाली, सेती, राप्ती, मस्र्याङदी, बागमती लगायत यसका सहायक नदीहरु सवै नेपालभरी मानव शरिरमा रक्त नशा सरी बगेको छन्, सिंचित गराएका छन्, यसबाट हामीले कति फाइदा लिने वा उपयोग गर्ने भन्ने हामी नेपाली र देशको नेतृत्वकर्ता वा योजनाकर्ताहरुको हातमा छ । नदी जीवन मात्र नभएर बहुउपयोगी पनि छ । त्यसमा पनि नेपालका करिबकरिब सबै नदीहरुलाई विश्वले नै महत्वपूर्ण स्थान दिने गरेको छ ।
विद्युत उत्पादन, कृषि क्षेत्र सिंचाई, धार्मिक तथा अन्य पर्यटनको क्षेत्रलाई पनि समेटेर नेपालमा ठूलो विकासको सम्भावना छ । तर, सम्भावना नै सम्भावना बोकेको यस जलविद्युतको क्षेत्रमा राजनैतिक खिचातानी, स्वार्थ समूहको हालीमुहालीले गर्दा हामी लोडसेडिङको नियति व्यहोर्न बाध्य भएका छौं । छोटो या लामो समयको लागि दैनिकजसो विद्युत अवरोध हुने, कहिले बढी पावर कहिले कम पावर, एकैनासको विद्युत न त उद्योगको क्षेत्रमा न त घरायसी क्षेत्रमा, यस्तो खालको बिडम्बना मात्र हामीले कहिलेसम्म व्यहोर्नुपर्ने हो ? अनियमित विद्युत आपूर्तिका कारण घरायसी उपकरणहरुदेखि लिएर उद्योगहरुका समेत मेसिनहरु बिग्रने गरेको पाइन्छ ।
होटल व्यवसायीहरुमा पनि यसको पीडादायी अवस्था छ, आगन्तुकहरुले दुःख समेत भोगेका अवस्था छ, ठूलाठूला होटलहरु, अस्पताल वा लिफ्ट सञ्चालन भएका क्षेत्रहरुमा बीचबीचमा विद्युत अवरोध हुँदा लिफ्ट बीचमा रोकिन्छ र त्यसको असर सिधै लिफ्टमा बसेका सेवाग्राही वा पर्यटकहरुमा पर्छ । विद्युत महसुल तिर्न कहिलेकाही ढिला भयो भने लाइन काट्नु अघि एकपटक सम्बन्धित ग्राहकलाई जानकारी गराए सहज हुन्छ । एक्कासी लान काट्दा दुर्घटनाको जोखिम हुन सक्छ । मानौ कुनै भवन वा होटलको लाइन पूर्वसूचना बिना काटिरहेको अवस्थामा कसैले लिफ्टको प्रयोग गरिरहेको छ भने त्यो मानिस बीचमै रोकिन्छ । त्यो व्यक्ति पर्यटक भएको अवस्थामा यसले कस्तो सन्देश जान्छ भन्नेतर्फ पनि नेपाल विद्युत प्राधिकरणले सोच्नुपर्ने अवस्था छ ।
यस्तो अवस्थामा हामीले कस्तो सन्देश दिइरहेका छौं भन्ने सोच्नुपर्छ । त्यसै गरी विभिन्न ठूला ठूला इभेन्टहरु बीचबीचमा रोकिन पुग्छ कारण विद्युत अवरोध देखिन्छ । यस्तो बिडम्बना हामीसँग किन भइरहेको छ ? के हामीसँग विद्युत उत्पादनको लागि पानी कम भएको हो त ? त्यस्तो त अवश्य होइन होला, यो त नियतवश भएको जस्तो देखिन्छ । कहिलेकाही त यतिसम्म पनि हुने गर्छ कि आँखा झिमिक्क गर्दा जस्तो एक सेकेण्डका लागि समेत विद्युत कटौती गरिएको पाइन्छ, भने कहिले बिना सूचना लामो समय पनि कटौती गरेको देखिन्छ । यसबारेमा विद्युत प्राधिकरणमा सूचना माग गर्दा कि त फोन उठ्दैन । फोन उठिहालेमा माथिबाट नै कटआउट भएको हामीलाई थाहा छैन जस्तो गैरजिम्मेवारी भएर प्रस्तुत हुन्छन् त्यहाँका केही कर्मचारीहरु । आखिर लोडसेडिङ कहिलेसम्म हुने, विद्युतको पावर एकै नासले कहिले आउने ? नेपालको हरेक घरघरमा विद्युत कहिले पुग्ने ? के सधै यसै गरी चल्छ र ? यसले देशको अर्थतन्त्रदेखि लिएर सामान्य जनजीवनलाई समेत अफ्ठ्यारो पार्दैन र ? उद्योगहरु बन्द हुने अवस्थामा आउँदैन र ? यदी हामीले विद्युत उत्पादनलाई पहिलो प्राथमिकता दिने हो भने नेपालले आफ्नो उत्पादन भएको विद्युतलाई भारत, बंगलादेश लगायतका देशहरुमा विक्री गरी मनग्य आम्दानी गर्न सक्ने हुन्छ भने देशको व्यापार घाटा समेत केही कमी हुने देखिन्छ ।
त्यस्तै देशका उद्योगहरुलाई सहुलियत रुपमा विद्युत आपूर्ति चौबिसै घण्टा निरन्तर गरेको खण्डमा उद्योगीको हौसला बढ्छ र उत्पादन समेत वृद्धि हुने थियो । विद्युतीय यातायातका साधनहरुलाई सहुलियत रुपमा खरीद गरी त्यसको प्रयोग गर्ने हौसला र अवसर दिएमा वर्षेनी इन्धनमा हुने अरबौं रुपैया खर्च बचतमा परिणत हुनेथियो, विद्युत उत्पादनका लागि बनाइएका जलाशयहरुमा डुंगा, स्टिमरहरु सञ्चालन गरी पर्यटन वृद्धिको अवसरहरु सृजना गर्न सकिन्थ्यो ।
विद्युत उत्पादनपछिको पानीलाई सिंचाईको लागि प्रयोग गर्ने वा ठाउँ हेरेर पुनः विद्युत उत्पादनमा नै प्रयोग गर्न सकेको खण्डमा हामीले जलस्रोतको धनी देशमा पनि अन्धकारमा बस्नुपर्ने अवस्था आउने थिएन र त्यसले आर्थिक आम्दानी गर्नुका साथै वैदेशिक परनिर्भरतालाई समेत न्यून गर्ने थियो भन्ने लाग्छ । एउटै नदीबाट पनि सहज रुपमा विद्युत उत्पादनको लागि प्रवल सम्भावना छ र सम्भव पनि छ भन्ने कुरा कास्की र पर्वतको सिमाना भइ बग्ने मोदी खोलालाई उदाहरणको रुपमा लिन सकिन्छ । यो मोदी खोलामा ६ भन्दा बढी साना–ठूला जलविद्युत आयोजनाहरु सञ्चालनमा हुनुका साथै खोलाको वरी पछिका खेतबारी सिंचाई समेत भएर त्यहाँको कृषि उत्पादनमा समेत ठूलो टेवा पुगेको देख्न सकिन्छ । त्यस्तै नेपालको कालिगण्डकी नदी जुन धार्मिक रुपमा समेत अति पवित्र मानिन्छ भने ठूलो मात्रामा जलस्रोत समेत रहेका छ । यो नदीबाट विद्युत उत्पादनको सँगसँगै हामीले जलसयर गराई यसको धार्मिक महत्व बुझाउन सकेमा यसले पर्यटनको क्षेत्रमा समेत ठूलो योगदान दिने कुरामा कुनै संकोच रहँदैन ।
अन्त्यमा, नेपाल सानो देश भएर पनि प्राकृतिक सुन्दरता, जलस्रोत र वनजंगल प्रयाप्त भएको देश हो । यहाँ सम्भावना नै सम्भावना समेत छ, देशको जनसंख्याका हिसावले पनि करिबकरिब ३ करोड मात्र रहेको । त्यसैले यस क्षेत्रलाई विकासको पथमा अगाडी बढाउन धेरै ठूलो र महत्वपूर्ण कामहरु केही गर्नु नै पर्दैन । मात्र सरकारले सही कार्ययोजना र त्यसको कार्यान्वयन पक्षको सबलीकरण, उचित नीति र कार्यविधि, ऐनहरु बनाई दलीय राजनीतिबाट विकास निर्माणलाई टाढा राखी गुणस्तरीय कार्यलाई प्राथमिकता दिइ दण्ड र पुरस्कारको समेत उचित प्रबन्ध गर्न सकेको अवस्थामा साँच्चै छोटो समयमा यस देशले काँचुली फर्ने सक्छ । हिमालको सुन्दरता, पहाडको मनमोहक दृष्य, तराईको समथर भु–भाग तीनै क्षेत्र एक–अर्काको परिपूरकको रुपमा रहेको र एकको उत्पादन अर्को ठाउँमा एक क्षेत्रमा भएका विकास अर्को क्षेत्रका लागि उदाहरणीय रुपमा प्रस्तुत गर्न सकेको अवस्थामा मात्र हामीले समृद्ध नेपाल देख्न सक्छौ । नदी र खोला नालाबाट विद्युत उर्जा उत्पादन र कृषि उत्पादन, जंगलबाट जडीबुटीहरुको संकलन तथा संरक्षण, हिमालहरु र नदीसँगै महत्व बोकेका मठ–मन्दिरहरु र मनमोहक पहाडी दृष्यहरुले पर्यटकलाई लक्षित गरियो भने यो देश विश्वमा आफ्नो छुटै पहिचान बनाउन सक्ने कुरामा कसैको पनि दुईमत देखिदैन ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij