
मंगलवार , चैत्र १८, २०८१
अमृत गिरी
बुटवल, १९ चैत । दीपक बोहरालाई राप्रपा, एमाले र जसपा नेपालको तालमेलका साझा उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रिएर बहालवाला गृहमन्त्री समेत रहेका बालकृष्ण खाणलाई पराजित गरेका मुलुकका स्थापित नेताका रुपमा लिइन्छ । उनलाई यसक्षेत्रका विकासप्रेमी नेताका रुपमा चिनिन्छन् र उनकै नाममा कतिपय बस्तीको समेत नामाकरण भएको पाइन्छ ।
रुपन्देही जिल्लाको विकासको चर्चा गर्दा सबैभन्दा पहिलो पंक्तिमा आउने राजनीतिकर्मीको नाम हो दीपक बोहोरा । बुटवल–तानसेन सडक र भालुवाङ–प्यूठान सडकको ट्रयाक खोलेर पञ्चायत कालमा समाज सुधारक बडाहाकिमका रुपमा परिचित प्रतिमान चन्द बोहरा र नीमा बोहरोका माहिलो छोराको रुपमा प्रजातन्त्र स्थापनासँगै जन्मिएका दीपक बोहरालाई रुपन्देहीमा विकासको आधारभूत जग बसाउने नेताका रुपमा लिइन्छ ।
व्यवस्थित बस्ती, बस्तीमा सडक, खानेपानी, विद्युत्, सिंचाईदेखि शिक्षामा गुणस्तर सुधारलगायतका काममा बोहराले सिसिलाबद्ध काम गरेका छन् । भैरहवा–लुम्बिनी भूमिगत जलसिंचाइ आयोजना (भैलूभूज) को सुरुवात गर्दै तराईका अन्नभण्डारमा सिंचाईको प्रभावकारी व्यवस्थापन गर्ने नेताका रुपमा बोहरालाई लिइन्छ । उनी जे जति राजनीतिमा आबद्ध भए यसअवधिमा विकासका विभिन्न आयोजनाहरुलाई अगाडि बढाउने भूमिका निर्वाह गरे ।
अन्न भण्डारमा सिंचाई पुर्याउने भैलुभूजको सुरुवात
रुपन्देहीमा ४० हजार हेक्टर जमिन सिञ्चित गर्ने उद्देश्यले २०३३ सालमा डिप ट्यूबेल (भूमिगत सिंचाइ) निर्माण सुरु भएको थियो । त्यसलाई साकार पार्ने काममा बोहराको महत्वपूर्ण भूमिका छ । रुपन्देहीमा खासगरी भैरहवा, लुम्बिनी, मर्चवार, धकधईलगायतका क्षेत्रमा विश्व बैंकको अनुदान लिएर विभिन्न विकासका आयोजनाहरु अगाडि बढाउने काममा बोहरालगायतका नेताहरुको भूमिका रहेको छ । त्यसबेलमा विश्व बैंकले २ अर्ब ३९ करोड ९५ लाख रुपैयाँ ऋण अनुदानमा दुई दशक लगाएर एक सय ६९ वटा डिप ट्यूबेल निर्माण गरिएको थियो ।
सुरुमा भूमिगत जलस्रोतबाट ४० हजार हेक्टर जमिन सिँचाई गर्ने लक्ष्य राखिए पनि आयोजना सम्पन्न हुँदा २० हजार हेक्टर मात्रै सिँचाइ पुग्ने अवस्था आयो । यसलाई विस्तार गर्ने र थप सिँचाइका आयोजना स्थापना गर्ने काम अगाडि बढ्यो । रुपन्देहीमा ८३ हजार हेक्टर खेतीयोग्य जमिन छ । त्यसमध्ये सुरुमा २० हजार हेक्टर जमिन सिँचाइ डिप ट्यूबेलले भएकोमा अहिले घटेर १५ हजारमा सीमित भएको छ । खेतीयोग्य जमिनको संरक्षण गर्ने, सिँचाइ आयोजना विस्तार गर्ने, कृषिमा आधुनिकीकरण र व्यवसायीकरण गराउने कामलाई अहिलेको चुनावमार्फत प्रतिवद्धता गरिएको छ ।
विमानस्थल विस्तार, खानेपानी र सडक आयोजनामा अगुवाई
वि.सं. २०३६ सालको आम निर्वाचनमा रुपन्देही जिल्लाबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएसँगै उनको संसदीय राजनीति सुरु भएको हो । वि.सं. २०३८ असार २ गते सहायक पर्यटनमन्त्री बनेका बोहोराले लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धनमा विशेष योगदान दिएका छन् ।
भैरहवामा रहेको गौतमबुद्ध विमानस्थललाई व्यवस्थित गराउने र थप विस्तार गर्नेलगायतका काममा बोहोराले अगुवाई गरेका थिए । उनकै पहलमा घरेलु विमानस्थलको रुपमा रहेको भैरहवा विमानस्थललाई थप व्यवस्थित गर्ने काम भएको यहाँका अगुवाहरु स्मरण गर्छन् ।
बोहरा पञ्चायतकालमा पनि विकासप्रेमी नेताको रुपमा ख्यातिप्राप्त थिए । दरबार र जनताको रोजाइमा परिरहने बोहराकै व्यक्तिगत पहलमा शंकरनगर खानेपानी आयोजना, धकधई खानेपानी आयोजनामार्फत जिल्लामा खानेपानी आयोजनाहरुलाई व्यवस्थित र प्रभावकारी बनाउने काममा पनि बोहोराको अगुवाई भएको थियो । उनकै पहलमा रमवापुर–लुम्बिनी सडकको ट्रयाक, बनगाई–मर्चवार सडक विस्तारमा पहल, विभिन्न क्षेत्रमा शिक्षालयहरु पनि बोहराकै पहलमा भएको बताइन्छ ।
पञ्चायतकालमा नेपाली राजनीतिमा चर्चित धेरै नामहरुमध्ये बोहराले बुटवलको दीपनगरमा नयाँ बस्ती बसालेका थिए भनेर अहिले पनि चर्चा हुने गर्दछ । यसैले उक्त ठाउँलाई स्थानीयहरुले दीपककै नामबाट दीपकनगर राखेको पछि दीपनगर भएको बताइन्छ ।
जिल्लाको मर्चवारदेखि सालझन्डी, लुम्बिनीदेखि धकधई हुँदै देवदह–चरंगेसम्म, सेमलारदेखि चिल्हिया हुँदै भैरहवा–बेलहियासम्म बोहोराले बाटोघाटो, बिजुली, विद्यालय, खानेपानी, सिँचाई, स्वास्थ्यलगायतका भौतिक विकास र सामाजिक विकासका धेरै काममा बोहराले महत्वपूर्ण अगुवाइ गरेका थिए ।
आन्तरिक वाइपासका रणनीतिक सडकहरुको विस्तार
बुटवलको तामनगर सडक विस्तार, भैरहवाको पहिलो क्याम्पसको रुपमा रहेको सिद्धार्थ कलेज तथा हालको भैरहवा बहुमुखी क्याम्पसको सर्वाङ्गीण विकास, सिद्धार्थ रंगशाला, महेन्द्र सभागृहकोे निर्माण, आइसीपीको पहल, भीम अस्पतालको भौतिक पूर्वाधार र स्तरवृद्धिको लागि गरिएको योजनाबद्ध पहल, भैरहवामा अत्याधुनिक कृषि हाटबजार, भैरहवा–लुम्बिनी–तिलौराकोट सडकको स्तरोन्नति, बृहत्तर लुम्बिनी क्षेत्रको विकास जस्ता गौरवका आयोजना उनी सरकारमा छँदा वा संसदमा छँदा भएका प्रयासका केही उपलब्धी मानिन्छन् ।
पञ्चायतकाल र गणतन्त्रकाल दुवैमा उस्तै भूमिका
शासन व्यवस्था परिवर्तन भएसँगै आफूलाई पनि परिवर्तन गरेर नेपाल र नेपालीको चाहनाअनुसार २०७० सालमा दोस्रो संविधानसभाको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर २ बाट संविधान सभा सदस्यमा निर्वाचित भइ नेपालको संविधान २०७२ मा भूमिका समेत निर्वाह गरेका थिए । आपूर्ति मन्त्रालय २०७३, श्रम तथा रोजगार मन्त्रालय–२०७२, वन तथा भू–संरक्षण मन्त्रालय–२०६७ को मन्त्री बनेर अनुभव हासिल गरेका छन् ।
त्यस्तै पञ्चायत कालमा निर्माण तथा यातायात मन्त्रालय–२०४४, निमार्ण तथा यातायात मन्त्रालय–२०४३, राज्यमन्त्री : पर्यटन मन्त्रालय–२०४०, राज्यमन्त्री ः पर्यटन मन्त्रालय–२०३८, सहायक मन्त्री : पर्यटन मन्त्रालय–२०३८ मा रही जनपक्षीय काम गरेका थिए ।
२०७९ सालको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट तत्कालिन गृहमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई पराजित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ नेता बोहरा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । प्रतिनिधि सभा सदस्य बोहराको निधन भएको छ । वि.सं. २००७ सालमा जन्मिएका बोहराको मंगलबार बिहान १०:१५ बजे काठमाडौंस्थित ओम अस्पतालमा निधन भएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij