२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

आज तानसेनमा सडक खाना महोत्सव

बिहिवार , चैत्र २०, २०८१

पाल्पा, २१ चैत । पाल्पाको सदरमुकाम तानसेनमा बिहीबार (आज) सडक खाना महोत्सव हुँदैछ । ‘सडकमै खाउ, सडकमै रमाऔं, स्थानीय खानालाई प्रोत्साहन गरी सरस्वती मन्दिर जीर्णाेद्वारमा टेवा पुर्याऔं’ भन्ने नाराका साथ तानसेन नगरपालिका वडा नम्बर ६ को भिमसेन टोलमा भिमसेन टोल खाना महोत्सव आयोजना हुन लागेको हो । भिमसेन टोल विकास संस्था १ महिला उपसमिति तानसेन ६, पाल्पाको आयोजनामा सडक खाना महोत्सवमा हुन लागेको हो ।

संस्थाका अध्यक्ष पुतलीदेबी शाक्यले स्थानीय एवम् रैथाने खाना, कला, संस्कृति प्रवद्र्धन र संरक्षण गर्ने उद्देश्यले महोत्सवको आयोजना हुन गइरहेको र तयारी पूरा भएको जनाइन् । तानसेन–६ का वडाध्यक्ष सागरमान महर्जनले खाना महोत्सवले स्थानीय खानाका परिकार एवं कला–संस्कृतिको प्रवद्र्धन गर्न मद्दत पुग्ने र ३० भन्दा बढी स्टलहरु हुने जनाए ।

महोत्सवमा महिलाहरुले उत्पादन गरेको कुटीर तथा घरेलु उद्योगबाट बनेका सामग्रीहरु पनि विक्रीवितरण तथा प्रदर्शनी गरिनेछ । खाना महोत्सवमा जंक खानेकुरा पूर्ण रूपमा निषेधित गरिएको महर्जनले बताए । महोत्सवमा स्थानीय खानेकुराको प्रदर्शनी तथा विक्रीसँगै स्थानीय भजन, चुड्का लगायतका स्थानीय कलाकारहरूको विशेष प्रस्तुतिको साँस्कृतिक कार्यक्रम रहनेछ । त्यस्तै प्रत्येक फूड स्टलमा खानेकुराको मूल्यसूची राखिने आयोजकले बताएका छन् ।

भिमसेन टोल विकास संस्थाका अध्यक्ष प्रकाशनाथ गंगाोलले टोल विकास संस्थाका महिलाहरूले सरस्वती मन्दिरको जिर्णोद्वार गर्ने उद्देश्यले खाना महोत्सव गर्न लागेको बताउँदै सहभागी हुन सबैलाई आग्रह गरे ।

तानसेन नगरपालिकाका महिलाहरूलाई उद्यमशील बनाउन, नेवारी र मगर लगायतका खानेकुराहरूको प्रचारका लागि कार्यक्रम आयोजना गर्न लागिएको जनाउँदै महोत्सवमा स्थानीय र मुस्लिम खानालाई प्रोत्साहन गर्ने योजना समेत रहेको उनले बताए । खाना महोत्सव दिउँसो १ बजेदेखि रातीसम्म नारायण टोलदेखि भिमसेन टोलसम्म सडकमा हुनेछ ।