२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

देवदहमा मंगल पुष्करिणी दह धार्मिक महोत्सव सुरु

बिहिवार , चैत्र २०, २०८१

देवदह, २१ चैत । रुपन्देहीको देवदहमा मंगल पुष्करिणी दह धार्मिक महोत्सव सुरु भएको छ । बिहीबार एक कार्यक्रमबीच दहमा महापरित्राण पाठ गरी महोत्सवको सुरूवात गरिएको हो । देवदह नगरपालिका–७ स्थित अन्तर्राष्ट्रिय भिक्षुणी विहारबाट मंगल पुष्करिणी दहसम्म कलश यात्रा गरी महोत्सवको औपचारिक सुरूवात गरिएको महोत्सव मूल आयोजक समिति संयोजक समेत रहेका देवदह–९ का वडाअध्यक्ष मोहन जिसीले जानकारी दिए ।

महोत्सवको पहिलो दिन सकल प्राणी जगतमा सुख, शान्ति, समृद्धिको कामना गर्दै भिक्षु महासंघबाट मंगलपुष्करिणी दहमा महापरित्राण पाठ गरिएको छ । अखिल नेपाल भिक्षु महासंघका पूर्व केन्द्रीय अध्यक्ष तथा अन्तर्राष्ट्रिय बौद्ध समाजका अध्यक्ष भिक्षु मैत्री महास्थवीरको नेतृत्वमा महापरित्राण पाठ गरिएको हो ।

महोत्सव उद्घाटन समारोहमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ, देवदहका निवर्तमान नगरप्रमुख हिरा बहादुर खत्री, अन्तर्राष्ट्रिय भिक्षुणी महासंघ तथा यशोधरा भिक्षुणी बिहारकी अध्यक्ष न्यानवती गुरुमा लगायतको उपस्थिति रहेको थियो ।

REK00352-min.JPG

कार्यक्रममा बोल्दै भिक्षु मैत्री महास्थवीरले बृहत्तर देवदह क्षेत्रको विकास आवश्यक रहेको बताए । ‘देवदह एउटा महत्वपूर्ण क्षेत्र हो, दहसँगै यहाँ रहेका अन्य बौद्धकालिन महत्वपूर्ण क्षेत्रको विकासले समग्र देवदहलाई समृद्ध बनाउने छ’ उनले भने । उनले देव दह, बैरिमाई, कन्यामाई, पाकरीसहित पण्डितपुर र रामग्रामलाई समेत समेटेर विकास गरिनुपर्ने विचार व्यक्त गरे ।

दह महोत्सव -min.JPG

महापरित्राण पाठको औपचारिक समारोह वडाअध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक मोहन जिसीको अध्यक्षता, प्रगति सामूदायिक वन उपभोक्ता समूहका अध्यक्ष दुर्गा बहादुर रानाको स्वागत तथा सञ्चारकर्मी कमला अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो । महोत्सवको कलश यात्रामा स्थानीय संघ–संस्था र आमा समूहले ब्यानरसहित संस्थागत प्रतिनिधित्व जनाएका छन् । भुपु सैनिक कल्याणकारी समाज, मगर संघ, उज्यालो लालटिन प्रतिष्ठान लगायत संघ–संस्थाले पानी, चिया लगायत वस्तु निःशुल्क वितरण गरेका छन् ।

महापरित्राण पाठ के हो ? किन गरिन्छ ?

बुद्धले आफ्ना अनुयायीलाई आशिर्वाद दिन र भयबाट रक्षा गर्न पाली भाषामा पाठ गरेका केही सूत्रहरूलाई परित्राण पाठ भनिन्छ । यो पाठ विश्वभरीका बौद्ध भिक्षुहरूले गर्ने एक सुपरिचित बौद्ध अभ्यास हो । विशेष गरी पाली भाषा प्रयोग गर्ने थेरवादी बौद्ध मुलुकहरूमा लोकप्रिय छ ।

परित्राण पाठ स्वयं तथागत गौतमबुद्धले विभिन्न समय र परिस्थितिमा पाठ गरेका सूत्रहरूको संकलन हो । यी सूत्रहरू बुद्धका आधारभूत शिक्षाबाट छनोट गरिएका हुन्छन् । जन्मदिन, गृहशान्ति, रोग निवारण, आपत–विपत, तथा अन्य धार्मिक अनुष्ठानहरूमा श्रद्धेय भिक्षुहरूले यो पाठ गराउने परम्परा रहेको छ ।

प्रारम्भमा यी सूत्रहरू करिब २ हजार वर्षअघि ताडपत्रमा लेखिएका थिए । पछि परिमार्जन गर्दै परित्राण पाठलाई पुस्तकका रूपमा संकलन गरियो । परित्राण पाठका अधिकांश सूत्रहरू सूत्र पिटक अन्तर्गतका अंगुत्तर निकाय, मज्झिम निकाय, दीघ निकाय, संयुक्त निकाय, तथा खुद्दक निकाय बाट लिइएका छन् । यस पाठले मानसिक सुदृढता बढाउने, नकारात्मक विचार हटाउने, दुर्भाग्य टार्ने, अस्वस्थता कम गर्ने र ग्रहदशाको दुष्प्रभावबाट जोगाउने विश्वास गरिन्छ । भिक्षुहरूले यो पाठ विशेष लयमा उच्चारण गर्ने प्रचलन छ ।

परित्राण पाठ गर्दा भिक्षुहरुले शुद्व उच्चारण र उपयुक्त लयमा पाठ गर्नुपर्ने हुन्छ । यसरी गरिएको सुत्रहरुको पाठबाट महान शक्तिहरुको संचार हुन्छ । ती शक्तिहरु भनेको बुद्ध, धर्म र संघ (तीन रत्न) हो । जसको समिश्रण नै बुद्ध धर्म हो । त्यसैले परित्राण पाठ गर्दा र सुन्दा मान्छेलाई ठूलो लाभ मिल्ने जनविश्वास छ ।

REK00183-min.JPG

शुक्रबारदेखि श्रीमद्भागवत महापुराण

बौद्ध परम्परा अनुसार बिहीबार महापरित्राण गरी सुरु गरिएको महोत्सवमा भोलिदेखि श्रीमद्भागवत महापुराण सुरु हुनेछ । शुक्रबार हिन्दू परम्पराअनुसार कलश यात्रा गरि श्रीमद् भागवद महायज्ञ सुरु गरिने आयोजकले जनाएको छ । ऐतिहासिक मंगलपुष्करिणी (देवदह) को प्रचार प्रसारसँगै देवदह–९ स्थित सन्दिप आधारभूत विद्याल र छाडा चौपाय व्यवस्थापनको लागि निर्मित गौशालालाई सहयोग जुटाउन महोत्सव आयोजना गरिएको जनाइएको छ ।

प्राचीन समयमा राजा तथा ऋषि–तपस्वीहरूले स्नान गर्ने देवदहमा सेता, राता, गुलाबी लगायतका विभिन्न रंगका कमल फुल्ने भएकाले बौद्ध धर्ममा यसलाई मङ्गलपुष्करिणी भनिएको बौद्ध अध्येताहरूको भनाइ छ । बौद्ध ग्रन्थहरूमा यसलाई ध्यान, शुद्धता र साधनाका लागि उपयुक्त स्थलका रूपमा वर्णन गरिएको बताइन्छ । बौद्धकालिन समयमा राज्याभिषेकका क्रममा देवदहमा स्नान गर्ने परम्परा रहेको समेत जानकारहरू बताउँछन् ।

देवदह नगरपालिका–९, घोडाहाको उत्तरतर्फ प्रगति सामुदायिक वनमा अवस्थित मङ्गलपुष्करिणी (देव दह) कै कारण यस क्षेत्रको नाम देवदह रहन गएको स्थानीय बताउँछन् । धार्मिक मान्यता अनुसार सत्य, धर्म, संघ र मंगल प्राप्त गर्ने पवित्रस्थल भएकाले समेत यसलाई मङ्गलपुष्करिणी भनिएको हो । बौद्ध धर्म ग्रन्थ त्रिपिटक र हिन्दू धर्मग्रन्थ वराह पुराणमा समेत देवदहको विशेष उल्लेख गरिएको छ । देवदह नगरपालिका वडा नम्बर ९ ले संयोजन गरिरहेको महोत्सवको संरक्षक देवदह नगरपालिका र सह–आयोजक प्रगति सामूदायिक वन रहेको छ ।