
आइतवार , चैत्र ८, २०७७
तिलोत्तमा, ८ चैत ।
फर्नेश आयल उद्योगमा प्रयोग गरिने कच्चा पदार्थ थोत्रा टायर तथा ट्यूव तस्करी हुँदै गरेको अवस्थामा ट्रकसहित जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।
भैरहवाको बेलहिया नाका हुँदै भारततर्फ तस्करी गर्नका लागि लैजाँदै गरिएको थोत्रा टायर तथा ट्यूव लोड गरिएको लु १ ख ४०११ नम्बरको ट्रकलाई प्रहरीले भैरहवाको बुद्धचोकबाट नियन्त्रणमा लिएको हो ।
उद्योगी व्यवसायीले थोत्रा टायर तथा ट्यूवको भारत तस्करी हुँदा फर्नेश आयल उत्पादन गर्ने उद्योग संकटमा पर्दै गएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका थिए । केही दिनअघि मात्रै रुपन्देही उद्योग संघको टोलीले रुपन्देही, नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै तस्करी रोक्न ध्यानाकर्षण गराएको थियो ।
रुपन्देहीमा रहेका दुईवटा उद्योगमध्ये एउटा पूर्ण रुपमा बन्द भएको छ घने अर्को बन्द हुने अवस्थामा पुगेको छ । जिल्लाको केरवानीमा रहेको स्पीड इनर्जी इण्डष्ट्रिज प्रा.लि. कच्चा पदार्थको अभावले बन्द हुने अवस्थामा पुगेको छ । सिक्टहनमा रहेको बाबा इनर्जी उद्योग भने फागुन लागेदेखि बन्द छ ।
उद्योगीले टायर तस्करी रोक्न ध्यानाकर्षण गराएपछि प्रहरीले नियन्त्रणका लागि सक्रियता देखाएको हो । आइतबार चालकसहित तस्करी गर्न लैजाँदै गरिएका थोत्रा टायर तथा ट्यूव बरामद गरिएको र यसबारेमा आवश्यक अनुसन्धानपछि थप कारवाहीको प्रक्रिया अगाडि बढाइने रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलले बताए । ‘तस्करी गर्न लैजाँदै गरिएको टायर तथा ट्यूव बोकेको ट्रक बुद्ध चोकबाट नियन्त्रणमा लिइएको छ, अव यसबारेमा थप अध्ययन र अनुसन्धानपछि आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाइनेछ’–उनले भने ।
स्पीड इनर्जी उद्योगका प्रबन्ध सञ्चालक अजयमान श्रेष्ठले तस्करी नियन्त्रण हुन नसक्दा स्वदेशी उद्योग बन्द हुने अवस्थामा पुगेको बेला प्रहरीले तस्करी गर्न लागिएको टायर तथा ट्यूव नियन्त्रणमा लिएकाले केही आशा पलाएको प्रतिक्रिया दिए ।
फर्नेश आयल उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ बेलहिया, विरगंज, विराटनगर, नवलपरासीको महेशपुर, कृष्णनगर लगायतका नाकाबाट तस्करी भइ भारत निकासी हुने गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij