२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

‘रोहिणीमा मधु घिमिरेले शिक्षा क्षेत्रलाई अघि बढाउन निर्वाह गरेको भूमिका प्रशंसनीय’

शुक्रवार , चैत्र २१, २०८१

भैरहवा, २२ चैत । रुपन्देहीको रोहिणी गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत मधु प्रसाद घिमिरेले गाउँपालिकाको शिक्षा क्षेत्रलाई अघि बढाउन निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । शिक्षा शाखा अधिकृत घिमिरेले शैक्षिक गुणस्तर सुधार्न धेरै नै मिहिनेत गरेको उनीहरुको भनाइ छ ।

रोहिणी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयले बिहीबार रोहिणी–३ स्थित धकधईमा आयोजना गरेको फेरी भेटौंला/विदाई कार्यक्रममा वक्ताहरुले घिमिरेले निर्वाह गरेको भूमिकाको जति नै प्रशंसा गरे पनि त्यो कमै हुने जिकिर गरे ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले करिब ३ वर्ष मधु घिमिरेसँग काम गर्ने मौका पाएको बताए । ‘उहाँको क्षमता र साहसको सम्मान गर्न चाहन्छु, ’उनले भने–‘उहाँले गाउँपालिकामा शिक्षा क्षेत्रलाई अघि बढाउन पुर्याएको योगदानको जति नै प्रशंसा गरे पनि कम हुन्छ ।’ अध्यक्ष यादवले घिमिरेले गरेको राम्रो कार्य भुल्न नसकिने बताए । ‘शिक्षाको अवस्थाबारे सधै चिन्तित भएको पाएँ, ’उनले भने–‘प्रधानाध्यापकहरुको जिम्मेवारी हेरफेर गरियो । उहाँले स्वागतयोग्य काम गर्नुभएको छ । ’ उनले अल्पमत र बहुमतको कुरा गर्नुभन्दा सबै मिलेर गाउँपालिकाको विकासमा अघि बढ्नुपर्नेमा जोड दिए । सही काममा सबैले साथ र सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ती हरिजनले शिक्षा शाखा अधिकृत मधु प्रसाद घिमिरेलाई रोहिणी गाउँपालिकाबाट विदाई गर्दा दुःख लागेको बताइन् । उनले भनिन्–‘ तिलोत्तमा नगरपालिकामा जाँदै हुनुहुन्छ । त्यहाँ पनि उत्कृष्ट कार्यसम्पादन गर्नुहुनेछ भन्नेमा विश्वस्त छौं ।’

प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरीले मधु घिमिरेको काम गर्ने शैली धेरै नै मन परेको बताए । ‘जनप्रतिनिधि र कर्मचारीबीच समन्वयकारी भूमिका हुनुपर्छ, ’उनले भने–‘सबैले नियमसंगत काम गर्नुपर्छ । कसैको कमीकमजोरी भए त्यो सुधार गर्नुपर्छ ।’ अनुभवी कर्मचारी घिमिरेले शिक्षा क्षेत्रमा गर्नुभएको काम सराहनीय भएको उनले बताए । 

शिक्षा शाखा अधिकृत घिमिरेले रोहिणीमा ४ वर्ष काम गरेको बताए । उनले कार्यालयमा सहज र ढुक्कसँग काम गर्ने वातावरण हुनुपर्नेमा जोड दिए । ‘कर्मचारी राम्रोसँग परिचालन गर्न नसकिए राम्रो नतिजा आउँदैन, ’उनले भने–‘कर्मचारी र राजनीतिलाई निश्चित धार र सीमामा राख्नुपर्छ । विधि भन्दा माथि कोही छैन । सबैले विधिको शासन मान्नुपर्छ ।’ समतामूलक समाज निर्माणका लागि शिक्षाको विकास आवश्यक रहेको उनको भनाइ छ । 

रोहिणी गाउँपालिकाका पूर्व प्रवक्ता तथा वडा नम्बर २ का पूर्ववडाअध्यक्ष सरोज कुमार पाण्डेयले जनताको सेवा गर्ने व्यक्तिको सम्मान हुनुपर्नेमा जोड दिए । उनले कर्मचारी र जनप्रतिनिधिबीच सहकार्य आवश्यक रहेको बताए । उनले भने–‘हामी सबै मिलेर रोहिणीको विकासमा लागौं ।’ पाण्डेले इमान्दार शिक्षा अधिकृत मधु घिमिरेले महत्वपूर्ण योगदान पुर्याएको र यसको जति प्रशंसा गरे पनि कमै हुने बताए ।

गाउँपालिकाका शाखा अधिकृत कर्ण कुमार क्षेत्रीले कर्तव्यनिष्ठ, लगनशील कर्मचारी अर्को पालिकामा जान लाग्नुभएको बताए । जनस्वास्थ्य निरीक्षक मधु पन्थले घिमिरेले तिलोत्तमामा अझ प्रभावकारी रुपमा कार्यसम्पादन गर्ने विश्वास व्यक्त गरिन् ।

IMG_1589.JPG

समाजसेवी हरिद्वार हरिजनले घिमिरेले शिक्षाको गुणस्तर सुधार्न धेरै मिहिनेत गरेको बताए । छिपागढ माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्र कुमार यादवले घिमिरेले शिक्षा क्षेत्रलाई अगाडि बढाउने महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रशासन सहायक नारायण ढुंगानाले घिमिरेबाट धेरै कुरा सिक्ने अवसर पाएको बताए । 

IMG_1676.JPG