
शनिवार , चैत्र २२, २०८१
भैरहवा, २३ चैत । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुन नसकेको र फेरी अन्तर्राष्ट्रिय उडान बन्द भएको भन्दै उद्योगी–व्यवसायी तथा स्थानीयबासीले आक्रोश व्यक्त गरेका छन् । उनीहरुले सरकारले विमानस्थल नियमित सञ्चालन हुन्छ भनेर निरन्तर आश्वासन दिए पनि त्यो आश्वासनमै सीमित भएको गुनासो गरे ।
सिद्धार्थ सञ्जाल, रुपन्देहीले शुक्रबार भैरहवामा आयोजना गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानका लागि विभिन्न संघ–संस्थासँग सल्लाह–सुझाव बैठकमा उनीहरुले विमानस्थल सञ्चालन नगर्ने भए किन निर्माण भएको भन्दै प्रश्न गरे ।
कार्यक्रममा सिद्धार्थ सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीले जनताले तिरेको करको पैसाबाट निर्माण भएको विमानस्थल सञ्चालन गर्नुपर्ने बताए । ‘प्रधानमन्त्री, पर्यटनमन्त्री, मुख्यमन्त्रीलाई अल्टिमेटमसहित ज्ञापनपत्र बुझायौं । उहाँरुले जसरी पनि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन्छ भन्ने आश्वासन पनि दिनुभयो उनले भने–‘तर, व्यवहारमा कार्यान्वयन हुन सकेन ।’ अध्यक्ष ज्ञवालीले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मर्मतको काम भइरहेको बेला मात्र भैरहवाबाट अन्तर्राष्ट्रिय गरिएको जस्तो देखिएको बताए । विमानस्थल उद्घाटन भएको झण्डै ३ वर्ष हुन लाग्दा पनि नियमित रुपमा अन्तर्राष्ट्रिय उडान हुन नसकेको र यसप्रति सरकार गम्भिर नभएको उनको भनाइ छ ।
सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले विमानस्थल सञ्चालन नहुँदा होटल तथा पर्यटन क्षेत्रमा लगानी गरेका व्यवसायीहरुको लगानी डुब्ने अवस्थामा पुगेको बताए । उनले पर्यटनबाटै समृद्धि र रोजगारी सिर्जना हुने भनेर सरकारले भनिरहे पनि विमानस्थल सञ्चालनमा ध्यान दिन नसकेको बताए । ‘यो विमानस्थल हाम्रो र हाम्रो सन्ततिको भविष्य हो, विमानस्थल चल्छ भनेर आश्वासन मात्र दिइयो, अब चकलेट बाँड्ने काम नगरौं, ’उनले भने ।
नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेलले श्रम गन्तव्यका लागि कम्तीमा पनि नारायण पश्चिमका नागरिकले भैरहवा विमानस्थल प्रयोग गर्ने गरी निर्णय हुन सके श्रम, स्वास्थ्य, मेनपावर लगायत कार्यालय स्वतः आउने बताए । उनले विमानस्थल सञ्चालनका लागि स्थानीय पालिकाले अपनत्व लिएर छलफल चलाउनुका साथै प्रचारात्मक कार्यक्रम चलाउनुपर्ने बताए । ‘लुम्बिनीकै कारणले यो विमानस्थल बनेको हो, ’उनले भने–‘लुम्बिनी विकास कोषले यसको प्रचारप्रसारको लागि काम गर्न सकेको छैन । खै त कोषले लबिङ गरेको ?’ विमानस्थल सञ्चालनका लागि सबैले दबाब दिनुपर्ने उनको भनाइ छ ।
चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष दर्पण श्रेष्ठले विमानस्थल केही समय आफ्नो उद्योग–व्यवसायलाई दिने समय आन्दोलनमा दिनुपर्ने समय आएको बताए । उनले विमानस्थल नियमित रुपमा सञ्चालन भए मुलुकको अर्थतन्त्रमा समेत सुधार हुने बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष दिलिप कुमार कान्दुले विमानस्थलमा सरकारीस्तरबाट भएको लगानी भन्दा निजी क्षेत्रले विमानस्थल चल्छ भनेर निजी क्षेत्रले बढी लगानी गरेको बताए । उनले यस क्षेत्रको विकासका लागि विमानस्थल पूर्ण रुपमा सञ्चालन हुनुपर्ने बताए ।
भैरहवा मर्निङवाक ग्रुपका अध्यक्ष विजय गोविन्द श्रेष्ठले विमानस्थल सञ्चालन अर्थमन्त्री विष्णु पौडेलले विमानस्थल चल्छ भनेको केही दिनपछि उडान बन्द भएको बताए । सामाजिक अगुवा मनोज कुमार रिजालले विमानस्थल चले रुपन्देहीलाई मात्र नभइ मुलुकलाई फाइदा पुग्ने बताए । उनले विमानस्थल सञ्चालनका लागि विभिन्न रचनात्मक ढंगले दबाबमूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
सक्षम सहारा बहुउद्देश्यीय महिला समूहकी अध्यक्ष शान्ता कंडेलले विमानस्थल सञ्चालनको लागि सिद्धार्थ सञ्जालले धेरै संघर्ष गरेको बताइन् । लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले विमानस्थल सञ्चालनका लागि राजनीतिक नेतृत्व र सरकारको इच्छाशक्ति आवश्यक रहेको बताए ।
सिद्धार्थ सञ्जालका सल्लाहकार बाबुराम के.सी.ले विमानस्थल चलायमान हुँदा मुलुकको विकास हुने भए पनि सरकारले झुटो आश्वासन दिएकोले सशक्त आन्दालेन गर्नुपर्ने बताए । पत्रकार सुदीप भण्डारीले लुम्बिनी र गौतमबुद्ध विमानस्थलको सँगसँगै प्रचार गर्नुपर्नेमा जोड दिए । उनले भैरहवाले नेतृत्व गर्ने गरी प्रदेशस्तरीय संयन्त्र बनाउन सुझाव दिए ।
लुम्बिनी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष रुमाखर गौतमले सिद्धार्थ सञ्जालले गर्ने आन्दोलनका कार्यक्रमप्रति आफूले नेतृत्व गरेको संस्थाको ऐक्यवद्धता रहेको बताए । नमुना एकीकृत विकास परिषद् रुपन्देहीकी अध्यक्ष सीता भट्टराईले राजनीतिक आस्था भन्दा माथि उठेर विमानस्थल सञ्चालनका लागि आवाज उठाउनुपर्ने बताइन् । सिद्धार्थ उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य रचना क्षेत्रीले हिम्मत नहारी दबाबमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइन् ।
जेसीआई सिद्धार्थ, नेपाल वर्ष २०२५ का अध्यक्ष अर्जुन कुंवरले विमानस्थलमा स्वागत नभइ अब नेता र मन्त्रीको विरोध गर्ने बेला भएको बताए । सिद्धार्थ सञ्जालका उपाध्यक्ष संजय बजिमयले केन्द्रीकृत मानसिकताका कारण गौतमबुद्ध विमानस्थल चल्न नदिइएको बताए ।
सञ्जालका महासचिव मधु प्रसाद पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij