
आइतवार , चैत्र २३, २०८१
भैरहवा, २४ चैत । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सहज रुपमा फोहरमैला व्यवस्थापन गर्दै आएको छ । जिल्लाका विभिन्न पालिकामा फोहर व्यवस्थापन टाउको दुखाईको विषय बनिरहेका बेला तिलोत्तमा नगरपालिकाले भने विभिन्न तरिकाले व्यवस्थापन गर्दै आएको छ ।
घर तथा उद्योग प्रतिष्ठानबाटै कुहिने र नकुहिने फोहर छुट्टाएर संकलन गर्दै आएको नगरपालिकाले नगरबाट संकलित फोहरबाट मोहर कमाउँदै आएको छ । ‘ग्रीन तिलोत्तमा, क्लिन तिलोत्तमा’ को नारा दिएर फोहर मैला व्यवस्थापन गर्दै आएको नगरपालिकाले फोहोर व्यवस्थापनमा देशमै उत्कृष्ट उदाहरण प्रस्तुत गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए । फोहरमैला व्यवस्थापनमा तिलोत्तमाले असल अभ्यास प्रयोग गरेको छ, प्रमुख प्रशासकीय अधिकृत अर्यालले भने–‘नगरपालिकाले निजी क्षेत्रसँग साझेदारी गरेर कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै रुपमा व्यवस्थापन गर्दै आएका छौ ।’
तिलोत्तमाले फोहरमैला व्यवस्थापनमा गरेको कामलाई कतिपय नगरपालिका सिकाईका लागि अध्ययन गर्न समेत आउने गरेका छन्, अर्यालले भने–‘यसले स्थानीय तहको सक्रियता र नवीन सोचको महत्वलाई उजागर समेत गरेको छ ।’
तिलोत्तमा नगरपालिकाले फोहोर व्यवस्थापनमा आधुनिक प्रविधि र सहकार्यको प्रयोग गर्दै आएको छ । नगरपालिकाले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम नेपाल र वास स्वास्थ्य सहकारी संस्थासँग सहकार्य गर्दै फोहोर संकलन, प्रशोधन र पुनः प्रयोगमा ध्यान दिएको नगरप्रमुख रामकृष्ण खाणले जानकारी दिए ।
नगरपालिकाले कुहिने फोहोरबाट जैविक मल उत्पादन गर्ने गरेको छ भने र नकुहिने फोहोरलाई पुनः प्रयोगयोग्य सामग्रीमा परिणत गर्दै राजस्व संकलन समेत गर्दै काम गर्दै आएको छ । नगरपालिकाले अत्याधुनिक मेसिनरी औजारको प्रयोग गरेर फोहोर प्रशोधन केन्द्र सञ्चालन गर्दै आएको जनाएको छ । कुहिने फोहरबाट प्राङगारिक मल बनाउँदै आएको नगरपालिकाले नकुहिने फोहरबाट व्रिगेट (दाउरा) तथा कवाड सामग्रीलाई विक्री गर्दै आएको नगरपालिकाले जनाएको छ ।
१७ वटा वडा रहेको नगरपालिकामा तीन तहमा विभाजन गरी फोहोरको व्यवस्थापन गर्दै आएको छ । नगरपालिकाले वडा नम्बर १, ३, ४, ५ र ६ को फोहर सुन्दर नेपालसँग सहकार्य गरेर व्यवस्थापन गर्दै आएको नगरपालिकाले जनाएको छ ।
वडा नम्बर २ को फोहोर स्थानीय उपभोक्ता समितिले व्यवस्थापन गर्दै आएको छ भने वडा नम्बर ७ देखि १७ सम्मको फोहरको व्यवस्थापन जनसहभागीता वास स्वास्थ्य सहकारी संस्थाले गर्दै आएको छ । नगरपालिकाले उपभोक्ताको घर, कार्यालय, कलकारखाना, होटल, अस्पतालबाट निस्कने फोहोरले नगरपालिकाले आर्थिक ऐन कार्यविधि तयार पारी मूल्य निर्धारण गरेर फोहोरको व्यवस्थापन गर्दै आएको तिलोतमा नगरपालिकाको वातावरण शाखा हरियाली प्रवद्र्धन अधिकृत गोरखनाथ खनालले जानकारी दिए ।
खनालले तिलोत्तमा नगरपालिकाबाट दैनिक २० टन फोहोर संकलन हुने गरेको बताए । सरसफाईको लागि मात्रै १ सय २० जनाले रोजगारी पाएको नगरपालिकाले जनाएको छ । यसरी गाउँ, टोल, सहकारी र निजी संस्था मिलेर नगरलाई स्वच्छ र समृद्ध बनाउन सकिन्छ भन्ने उदाहरण बनेको नगरपालिकाले जनाएको छ । १७ वटा वडा रहेको तिलोत्तमा नगरपालिकाले सरसफाई श्रृंखला चलाउँदै आएको छ । महिनाको १ र १५ गते वडावडामा सरसफाई अभियान चलाई नागरिकलाई फोहर व्यवस्थापनमा सचेत बनाउँदै आएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij