
सोमवार , चैत्र २४, २०८१
भैरहवा, २५ चैत । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित तथा दिगो उडान सुचारु गर्न माग गरेको छ । विमानस्थलबाट नियमित उडान नभए कडा कदम चाल्न बाध्य हुने संघले चेतावनी दिएको छ ।
संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले सोमबार विज्ञप्ती जारी गर्दै पटकपटक ताकेता गर्दा पनि अन्तर्राष्ट्रिय उडानहरु स्थगित हुनुमा घोर आपत्ति र भत्र्सना गर्दै यथाशिघ्र यस विषयमा सरकारको ध्यान केन्द्रीत हुनुपर्ने बताएका छन् ।
‘पूर्वप्रधानमन्त्रीहरु र हालको उपप्रधान तथा अर्थमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री र यस क्षेत्रका माननीयहरुको सहभागीता समयसमयमा भएको अन्तरक्रिया कार्यक्रमहरुमा अन्तर्राष्ट्रिय उडान नरोकिने प्रतिवद्धता जनाउनु भएता पनि हाल नेपाल एअरलायन्सबोहक अरु सबै एयरलायन्सहरुले उडान स्थगित गरेको अवस्थामा सरकार मौन रहनुमा संघको गम्भिर ध्यानार्कषण भएको छ, ’विज्ञप्तीमा भनिएको छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई मध्यनजर गरी निजी क्षेत्रले समेत अरबौंको लगानी लगाएको अवस्थामा सरकारको कमजोर नीतिका कारण उद्योगी–व्यवसायीहरु धरासायी भएको अध्यक्ष आचार्यले बताए । सरकारसँग विभिन्न माध्यमबाट पटकपटक पूर्ण तथा दिगो सञ्चालनका लागि माग भएता पनि विमानस्थल सञ्चालन हुन नसक्नु यस क्षेत्रका लागि दुःखको कुरा भएको उनको भनाइ छ ।
‘राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकारको अरबौं लगानीमा सञ्चालित विमानस्थल, आजसम्म पनि पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन, ’विज्ञप्तीमा उल्लेख छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij