
सोमवार , चैत्र २४, २०८१
भैरहवा, २५ चैत । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको वातावरण बनाउन निजी क्षेत्र सम्बद्ध चारवटा संस्थाहरुले माग गरेका छन् ।
नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेल, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा, लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एजाज आलम र नेपाल घरेलु तथा साना उद्योग महासंघ, लुम्बिनी प्रदेशका अध्यक्ष गणेश प्रसाद अधिकारीले सोमबार विज्ञप्ती जारी गर्दै विभिन्न बहानामा व्यवसायीलाई पटकपटक निराशा बनाउने काम भइरहेको गुनासो गरेका छन् । यस क्षेत्रको अर्थतन्त्रको मेरुदण्डको रूपमा स्थापना भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको गति देख्दा आम नागरिक, उद्योगी–व्यवसायी लगायत सबै पक्षमा निराशा छाएको उनीहरुको भनाइ छ ।
‘केही अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले नियमित यात्रु पाउँदापाउँदै पनि उडान कटौती गरेको विषय सुन्नमा आएको छ । यसको कारण के हो ? त्यस्ता उडानहरूलाई नियमित गर्न निजी क्षेत्रकातर्फबाट पनि हामी सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै विमानस्थल नियमित सञ्चालनको वातावरण बनाउन माग गर्दछौं,’विज्ञप्तीमा भनिएको छ ।
उडान कटौती गरिरहेको वायुसेवा कम्पनीहरूलाई पुनः फर्काउने वातावरण बनाउन भैरहवा हुँदै अन्तर्राष्ट्रिय उडानमा जाने यात्रुहरूको सुविधाका लागि आकर्षक प्याकेजसहितका सेवासुविधाको व्यवस्था मिलाउन र श्रमलगायतका कार्यालयहरूको स्थापना गर्न सरकार समक्ष चारवटा संस्थाहरुको माग छ ।
अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएसँगै सरकारकै आव्हानमा यसक्षेत्रका उद्योगी–व्यवसायीले अरबौं रुपैयाँ लगानी गरेर प्रतिफलको अपेक्षा गरेर बसिरहेका छन् । यो बीचमा विमानस्थल सञ्चालन हुने केही संकेतहरू देखिएपछि व्यवसायीहरू उत्साहित मात्र भएनन् बैंकबाट ऋण लिएर थप लगानी समेत गरेर बसेका छन्, ’विज्ञप्तीमा उल्लेख छ ।
विमानस्थल उद्घाटन भएको दुई वर्ष पुगिसकेको र दुई वर्षको अवधिमा सरकारले विमानस्थल सञ्चालनका लागि केही प्रयासहरू गरे पनि आधारभूत शर्तको रुपमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्बन्धित आवश्यक कार्यालयहरूको स्थापना गर्न निजी क्षेत्रले पटकपटक ध्यानाकर्षण गराउँदा पनि ती कार्यालयहरूको स्थापना हुन नसक्नुको कारणहरू के हो भन्दै निजी क्षेत्रले प्रश्न गरेका छन् ।
‘कुन अदृश्य शक्तिले यस क्षेत्रको समृद्धिको आधारको रुपमा स्थापना भएको विमानस्थल सञ्चालनमा अवरोध सिर्जना गरिरहेको छ ? त्यस्ता अवरोधहरूलाई छिचल्नका लागि निजी क्षेत्रकातर्फबाट सरकारलाई के कस्तो सहयोगको आवश्यकता पर्ने हो ? आम उद्योगी व्यवसायी तथा सर्वसाधारणकोतर्फबाट वर्तमान सरकारसमक्ष हामी यो प्रश्न सोध्न चाहन्छौं, ’विज्ञप्तीमा भनिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij