
मंगलवार , चैत्र २५, २०८१
भैरहवा, २६ चैत । नयाँ वर्ष २०८२ को अवसरमा रुपन्देहीको भैरहवामा सडक खाना महोत्सव हुने भएको छ । ‘सडकमा जाऊँ, सडकमै खाऊँ, सडकमै रमाऊँ’ भन्ने नाराकासाथ होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीको आयोजनामा नयाँ वर्ष २०८२ को स्वागत गर्दै सिद्धार्थ सडक खाना महोत्सव–२०८१ हुने भएको हो ।
२०८१ चैत ३१ गते आइतबार सिद्धार्थनगर नगरपालिका–३ स्थित रंगशाला रोडमा आइतबार साँझ ५ देखि राती १२ बजेसम्म महोत्सव सञ्चालन हुने होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठनका अध्यक्ष राम प्रसाद पोखरेलले बताए । विगतका वर्षहरुझै यस वर्ष पनि महोत्सवलाई निरन्तरता दिएको उनले बताए । पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने, यस क्षेत्रको पहिचान तथा साँस्कृतिक परम्पराको विकास गर्ने र समग्रमा यस क्षेत्रको विकासमा सहयोग पुर्याउने उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको उनले बताए । आर्थिक मन्दीका कारण थला परेको पर्यटन व्यवसायले थोरै भए पनि राहत पाउने र बजार चलायमान गर्न महोत्सवले सहयोग पुर्याउने उनले विश्वास व्यक्त गरे ।
महोत्सवमा १०१ वटा स्टल राखिने र ५० हजार दर्शकको उपस्थिति हुने अपेक्षा गरिएको संगठनका महासचिव बाल बहादुर घिमिरे (सुनिल) ले बताए । कार्यक्रममा करिब १ करोड बराबरको कारोबार हुने आयोजकको अनुमान छ । ‘महोत्सवमा स्थानीय कला, संस्कृति, विद्यालय नृत्य, स्थानीय कलाकारहरुबाट प्रस्तुती तथा डिजेसहित भव्य साँस्कृतिक कार्यक्रम हुनेछ, ’महासचिव घिमिरेले भने । त्यस्तै स्थानीय खानाका परिकार पनि उपलब्ध हुने उनले बताए ।
महोत्सव सफल पार्न विभिन्न समितिहरु बनाइएको संगठनका निवर्तमान अध्यक्ष पिताम्बर न्यौपाने (विष्णु) ले बताए । महोत्सवको सह–आयोजकमा सिद्धार्थनगर नगरपालिका, मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देही, संरक्षकमा चेम्बर अफ कमर्स रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही), होटल व्यवसायी महासंघ, नेपाल र होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेश तथा प्रवद्र्धकमा उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद् लुम्बिनी प्रदेश, नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप, काठमाडौं र पर्यटन डिभिजन कार्यालय रुपन्देही रहेका छन् ।
त्यस्तै सहयोगी संस्थामा लुम्बिनी प्रेस क्लब, नाट्टा लुम्बिनी प्रदेश, सोट्टो लुम्बिनी प्रदेश, सिद्धार्थ होटल एशोसियसन (सान) र आस्था महिला उद्यमी संघ रहेका छन् । संस्थागत सल्लाहकारमा सिद्धार्थ सञ्जाल, रुपन्देही र सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही रहेका छन् ।
कार्यक्रमको मुख्य प्रायोजकमा यग्रोथाई फुड्स प्रा.लि. र सह–प्रायोजकमा गोरखा ब्रुअरी प्रा.लि. काठमाडौं रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij