
मंगलवार , बैशाख २, २०८२
भैरहवा, २ वैशाख । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले भारतीय पर्यटकलाई फोकस गर्न पर्यटन व्यवसायीलाई आग्रह गरेका छन् । उनले विश्वमा सबैभन्दा धेरै भारतीय र चिनियाँ पर्यटकले खर्च गर्ने गरेको बताए ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीको आयोजनामा सोमबार भैरहवामा भएको सिद्धार्थ सडक खाना महोत्सवको उद्घाटन गर्दै मेयर खाँले वार्षिक १०–२० लाख भारतीय पर्यटक नेपाल ल्याउन सकिए त्यो नेपालका लागि प्रयाप्त हुने बताए । ‘म सुरक्षा निकायलाई के भन्न चाहन्छु तपाईहरु भारतीय पर्यटकलाई दुःख नदिनुस् । एक ठाउँमा चेक गर्नुस् । त्यसपछि पूरा प्रदेशभरी चेक नगर्नुस्,’उनले भने–‘यदी तपाईहरुलाई कुनै अवैध सामान गाडीमा ल्याएको शंका छ भने चेकजाँच गर्न तपाई खुल्ला हुनुहुन्छ । तर, बेलहियादेखि परासीसम्म जाँदा ८ ठाउँमा, लुम्बिनीसम्म ५ ठाउँमा र बुटवलसम्म ३ ठाउँमा चेकजाँच गर्नुहुन्छ भने विकास कहिल्यै हुँदैन । केही मान्छेलाई दुई–चार पैसा आउँछ । तर, देशको विकास हुँदैन ।’
उनले लुम्बिनीको विकास देशको विकाससित जोडिएको बताए । मेयर खाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि अब काठमाडौं गएर पहल थालिने बताए । उनले नगरबासीको साथ र सहयोगका कारण सिद्धार्थनगर नगरपालिका उत्कृष्ट नगरपालिका बन्न सफल भएको बताए । उनले नयाँ वर्ष २०८२ सबैका लागि राम्रो होस् भन्दै कामना गरे ।
त्यस्तै नगर उपप्रमुख उमा अधिकारीले सडक खाना महोत्सव सञ्चालनका लागि सिद्धार्थनगर नगरपालिकाले साथ र सहयोग गर्दै आएको र आगामी दिनमा पनि गरिरहने बताइन् । उनले मर्यादित र व्यवस्थित पर्यटकीय हब बनाउन आवश्यकता रहेको बताइन् । ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि पहल गर्दै आएका छौं, उनले भनिन्–‘प्रदेश र केन्द्र सरकारका प्रतिनिधिले जुन रुपमा आवाज उठाउनुपर्ने हो,त्यो हुन सकेको छैन ।’
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले आर्थिक क्रियाकलापहरुलाई उर्जा दिने अभिप्रायले सडक खाना महोत्सवको आयोजना गरिएको बताए । ‘महोत्सव दैनिक जीवनमा खुसी भर्ने अवसर हो, उनले भने–‘समयसमयमा यस्ता कार्यक्रम हुनुपर्छ ।’
होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष राम प्रसाद पोखरेलले महोत्सवले अर्थतन्त्रमा एउटा ईट्टा थप्ने काम गर्ने विश्वास व्यक्त गरे । अहिले उद्योगी–व्यवसायीको अवस्था नाजुक छ, ’उनले भने–‘आर्थिक समृद्धिमा केही भए पनि टेवा पुग्छ भन्ने उद्देश्यले सडक खाना महोत्सव आयोजना गरेका हौं ।’
होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा पर्यटन विकास परिषद्का सदस्य राजेश महोत्राले पर्यटन प्रवद्र्धन गर्ने खालका कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने बताए । उनले मास्टरप्लान बनाएर अघि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । अर्को वर्ष सिद्धार्थनगर नगरपालिकाको आयोजनामा सडक खाना महोत्सव हुनुपर्ने उनले सुझाव दिए ।
सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले पर्यटन प्रवद्र्धन, स्थानीय कला, संस्कृतिको जर्गेना र बजारलाई चलायमान गराउने उद्देश्यले सडक खाना महोत्सवको आयोजना गरिएको बताए । उनले पर्यटकको बसाई लम्ब्याउन धेरै काम गर्न बाँकी रहेको बताए । भैरहवा मण्डप बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।
सिद्धार्थनगर नगरपालिका–६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तवले संस्कृति, रितिरिवाज र धर्मको संरक्षण गर्नुपर्ने बताए । उनले व्यवसायीहरु आर्थिक मन्दीको चपेटामा परेको बताए । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष दर्पण श्रेष्ठले खुल्ला सीमा नाका व्यवस्थित गर्नुपर्ने बताए । उनले अहिले सडक खाना महोत्सव सञ्चालन गरिएको रंगशाला रोडमा रात्रीकालीन बजार सञ्चालन गर्न सकिने बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष दिलिप कुमार कान्दुले सडक खाना महोत्सवले एकै ठाउँमा भेला भएर खुसी साटासाट गर्ने अवसर दिनुका साथै अर्थतन्त्र चलायमान बनाउन पनि सहयोग गर्ने बताए । लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझीले आर्थिक गतिविधि गुल्जार बनाउन यस्ता महोत्सव मासिक रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले पर्यटक रोक्न योजना बनाउनुपर्ने बताए ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष राम प्रसाद पोख्रेलको अध्यक्षता, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँको प्रमुख आतिथ्यता, संगठनका वरिष्ठ उपाध्यक्ष लिलाधर भट्टराईको स्वागत, मदिरा व्यवसायी संघ भैरहवाका संस्थापक अध्यक्ष केशवराज ज्ञवालीको धन्यवाद ज्ञापन तथा संगठनका महासचिव बाल बहादुर घिमिरे (सुनिल) को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
महोत्सवको सह–आयोजकमा सिद्धार्थनगर नगरपालिका, मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देही, संरक्षकमा चेम्बर अफ कमर्स रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही), होटल व्यवसायी महासंघ, नेपाल र होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेश तथा प्रवद्र्धकमा उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद् लुम्बिनी प्रदेश, नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप, काठमाडौं र पर्यटन डिभिजन कार्यालय रुपन्देही रहेका थिए ।
त्यस्तै सहयोगी संस्थामा लुम्बिनी प्रेस क्लब, नाट्टा लुम्बिनी प्रदेश, सोट्टो लुम्बिनी प्रदेश, सिद्धार्थ होटल एशोसियसन (सान) र आस्था महिला उद्यमी संघ र संस्थागत सल्लाहकारमा सिद्धार्थ सञ्जाल, रुपन्देही र सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही रहेका थिए । कार्यक्रमको मुख्य प्रायोजकमा यग्रोथाई फुड्स प्रा.लि. र सह–प्रायोजकमा गोरखा ब्रुअरी प्रा.लि. काठमाडौं रहेका थिए ।
महोत्सवमा करिब ५० हजार दर्शकको उपस्थिति र झण्डै १ करोड बराबरको कारोबार भएको होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका महासचिव बाल बहादुर घिमिरे (सुनिल) ले बताए । महासचिव घिमिरेका अनुसार महोत्सवमा ८० वटा स्टल राखिएका थिए ।
कार्यक्रममा कलाकारहरु बैकुण्ठ महत, मन्जु भट्टराई लगायत कलाकारको प्रस्तुति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij