२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

महिलाप्रति विश्वास बढाउने वातावरण महिलाले नै बनाउनुपर्छ

शनिवार , बैशाख ६, २०८२

लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालको द्वितीय भाईस डिष्ट्रिक गभर्नरमा अत्याधिक मतका साथ जिताउनुहुने सम्पूर्ण लायन्स क्लबहरुलाई धन्यवाद दिन चाहन्छु । यहाँहरुको अमूल्य मतले मलाई यो स्थानमा पुर्याएको छ ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालको संस्थागत उम्मेदवारको रुपमा मलाई अघि बढाउने सम्पूर्ण टीमप्रति हार्दिक आभार एवं कृतज्ञता व्यक्त गर्दछु । हाम्रो पक्षमा निर्वाचनको नतिजा आएको छ । मसहित हाम्रो टीमलाई जिताउन लाग्नुहुने सम्पूर्ण महानुभावहरुप्रति आभार व्यक्त गर्दछु । विगत १९ वर्षदेखि लायन्सको यात्रामा छु । लायन्स भनेकै सेवा गर्नु हो । सेवा हाम्रो काम हो । निर्वाचनमा उम्मेदवार भइसकेपछि धेरै कुराको अनुभव भयो । धेरै कुरा जान्ने अवसर पाइयो । वास्तवमा सत्यकै जीत हुन्छ । आफ्नो कर्मबाट म सन्तुष्ट छु ।

महिला आफ्नै खुट्टामा उभिन सक्छन् । मैले अनुभव गरेको एउटा कुरा के हो भने महिलाको खुट्टा महिला नै तान्ने प्रयास गर्नुहुँदो रहेछ । महिलाले महिलालाई नै अगाडि बढ्न नदिने प्रवृत्ति राम्रो होइन् । यो कुरा सबैलाई भन्न खोजेको होइन । जसले यो गर्नुहुन्छ, उहाँहरुमा सुधारको आवश्यकता छ । महिलाले म पनि नेतृत्वमा जानुपर्छ भन्ने सोच राखेर अघि बढ्नुपर्छ । आफैप्रति आत्मविश्वास छैन भने अगाडि बढ्न सकिदैन ।

म अरुको सहयोग बिना अगाडि बढ्न सकिदैन भन्ने सोच भयो भने अरुले पत्याउने अवस्था हुँदैन । महिलाप्रति विश्वास बढाउने वातावरण स्वयं महिलाले नै गर्नुपर्छ । हामी कुनै व्यक्ति भन्दा पनि संस्थाको मान्छे बन्नुपर्छ । यो २१ औं शताब्दीमा पनि महिला चुलोचुकौमा मात्र सीमित हुनुपर्छ भन्ने सोच परिवर्तन हुन सकेको छैन । किन नेतृत्वमा महिला चाहियो ? पुरुष भए पनि हुन्छ भन्ने सोच राखियो भने महिलाहरु कसरी नेतृत्वमा आउन सक्छन् ? कसरी अगाडि बढ्न सक्छन् ? स्वाभिमानमा बाँच्ने र आत्मनिर्भर महिला अगाडि बढ्छन् । नेतृत्व लिने नेतृत्वकर्ताले सबैसँग सहकार्य गर्न सक्ने हुनुपर्छ ।

मेरो भनाइ के हो भने घमण्ड टिक्दैन । पैसा र शक्तिको घमण्ड कहिल्यै गर्नुहुँदैन । समाजमा केही गर्न नसक्ने अनि मसँग पैसा र शक्ति छ भनेर हुन्छ ? २२ वर्ष शिक्षण पेशामा आबद्ध भए । राष्ट्रिय शिक्षा पुरस्कार पनि पाएँ । विभिन्न संघ–संस्थाहरुको नेतृत्व गरेको छु । म ढुंगा फोरेर यहाँसम्म आएको हुँ । 

(लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपाल (वर्ष २०२५'०२६) को लागि द्वितीय भाईस डिष्ट्रिक गभर्नरमा निर्वाचित मीना पन्थीसँग गरिएको कुराकानीमा आधारित)