२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

खेलकुदलाई पर्यटनसँग जोड्न जरुरी : मुख्यमन्त्री आचार्य

शनिवार , बैशाख ६, २०८२

रुपन्देही, ६ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गरेका छन् । इण्डो नेपाल क्लब च्याम्पियनसीप–२०८२ अन्तर्गत प्रतियोगिता सुरु गरिएको हो । उद्घाटन कार्यक्रममा मुख्यमन्त्री आचार्यले खेल पर्यटनको विकासप्रति खुशी व्यक्त गर्दै खेलकुदलाई पर्यटनसँग जोड्न जरुरी रहेको धारणा राखे ।

‘खेल हेर्नका लागि विदेशी पर्यटकलाई धेरै दिन राख्न सकिने अवस्था छ’ उनले भने–‘प्रदेश सरकारले खेल पर्यटनको विकासका लागि ध्यान दिनेछ ।’ उनले खेल पूर्वाधारको विकास, खेलाडीहरूमा क्षमता अभिवृद्धि र प्रतिष्पर्धाको वातावरण निर्माणमा प्रदेश सरकारले भूमिका बढाएको पनि स्पष्ट पारे । सबैप्रकारका खेलकुदलाई समान रूपमा अघि बढाउने नीति सरकारले लिएको उनले जानकारी दिए । प्रदेशमा भलिबल खेलाडी उत्पादन गर्न तथा राष्ट्रियस्तरमा पहिचान स्थापित गर्न मणिमुकुन्द भलिबल क्लब सफल भएकोमा पनि उनले खुशी व्यक्त गरे ।

वैशाख ६ गते शनिबार (आज) देखि सुरु भएको प्रतियोगिता १३ गतेसम्म सञ्चालन हुनेछ । यो प्रतियोगिता साँझ ६ बजेदेखि राति १० बजेसम्म चल्नेछ । प्रतियोगितामा नेपाल, भारत र इरानका खेलाडीहरूको सहभागीता रहेको छ । प्रतियोगितामा ३ विभागीय र एक भारतीय टोलीसहित ९ वटा क्लब सहभागी छन् ।

प्रतियोगितामा सहभागी टोलीहरूमा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, गण्डकी भलिबल संघ, कोशी प्रदेश भलिबल संघ, गलकोट भलिबल क्लब बागलुङ, मणिमुकुन्द भलिबल क्लब, सुदूरपश्चिम खेलकुद परिषद् र भारत गुजरातको साग भलिबल एकेडेमी रहेका छन् ।

प्रतियोगिताको विजेता टीमले ३ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले २ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो स्थान हासिल गर्ने टीमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै, सान्त्वना स्थान प्राप्त गर्ने टीमलाई ६६ हजार ६ सय ६६ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका अन्य ८ विधामा पनि नगद पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले जानकारी दिए ।

बेष्ट प्लेयरलाई १५ हजार रुपैयाँसहित कप र प्रमाणपत्र प्रदान गरिनेछ । बेष्ट सटर र बेष्ट ब्लकरलाई पनि १० हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ ।