२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बेमौसमी वर्षाले रूपन्देहीमा साढे ७ करोडको काँचो ईट्टा नष्ट

मंगलवार , बैशाख ९, २०८२

भैरहवा, ९ वैशाख । अघिल्लो हप्ता परेको बेमौसमी वर्षाले रुपन्देही जिल्लामा २ करोड ५० लाख गोटा बढी काँचो ईट्टा नष्ट भएको छ । पकाउनका लागि तयारी अवस्थामा राखेका बेला तीन दिनसम्म पानी परेपछि काँचो ईट्टा नष्ट भएको हो । यसबाट उद्योगीलाई साढे ७ करोड रुपैयाँ बढीको क्षति पुगेको लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, रुपन्देहीले जनाएको छ । 

रुपन्देहीमा सञ्चालित २६ उद्योगले पकाउन तयार पारेको सबै काँचो ईट्टा कामै नलाग्ने गरी नष्ट भएको संघका अध्यक्ष अजय कुमार गुप्ताले बताए । अध्यक्ष गुप्ताले पछिल्लो समय उद्योग पूर्ण क्षमतामा सञ्चालन नभएको अवस्थामा वर्षाले काँचो ईट्टामा क्षति पुर्याउँदा झन समस्या थपिएको बताए । काँचो ईंटाको बीमा नहुने र सरकारले पनि क्षतिपूर्ति नदिने भएकाले प्रत्येक वर्ष उद्योगी–व्यवसायी समस्यामा पर्दै आएको उनको भनाइ छ । 

‘ईट्टा उद्योग पूर्ण रुपमा चार–पाँच महिना मात्रै सञ्चालनमा आउँछन् । वर्षाको समयमा बन्द हुन्छन्, ’उनले भने,–त्यसैमाथि वर्षाले पकाउन तयार पारिएको काँचो ईट्टा नष्ट गरेपछि उद्योगीमा चिन्ता थपिएको छ । खुल्ला आकाशमुनी सञ्चालन हुने उद्योग भएका कारण पटकपटक सरकारसँग बीमाको बारेमा आवाज उठाउँदै आएका छौं । तर, सरकारले हाम्रो आवाज सुनेको छैन ।’ 

माटो र भस्कटमा सरकारैपिच्छे चर्को कर लिनु र कोइलाको मूल्य बढ्दा उद्योगी मारमा रहेको उनले बताए । अध्यक्ष गुप्ताका अनुसार एउटा काँचो ईट्टा तयार गर्न ३ रुपैयाँ भन्दा बढी लागत पर्छ ।
संघका महासचिव दीपक पौडेलले आर्थिक संकटमा रहेका उद्योगमा वर्षाले वर्षेनी थप क्षति पुर्याउँदै आएको बताए । उनले ईट्टा नष्ट हुँदा उत्पादन पनि घटेको बताए । ‘आर्थिक मन्दी छदैछ, त्यसमाथि माटो पनि समस्या छ, ’उनले भने–‘५२ वटा उद्योगमा २६ वटा उद्योगले मात्र उत्पादन गरिरहेका छन् ।’

ईट्टा उद्योगी डोलराज पाण्डे बेमौसमी वर्षाका कारण आफ्ना दुई उद्योगमा मात्रै करिब १९ लाख काँचो ईट्टा नष्ट गरेको जानकारी दिए । उनले ईट्टा उद्योग पछिल्लो समय झन संकटमा परिरहेको जनाए । उद्योग बचाउन सरकारले ध्यान दिने हो भने थप उद्योग बन्द हुने अवस्था आउने उनले बताए । बेमौसमी वर्षाले ठूलो नोक्सान भएको पाण्डेले बताए । ‘सरकारले उद्योगमैत्री नीति बनाएको छैन, उद्योग चलाउनुभन्दा नचलाउनु बेस भन्ने  सोच बनाउँदैछौं, ’उनले भने । सरकारले काँचो ईट्टाको बीमाको व्यवस्था गर्नुपर्ने उनले माग गरे ।

पछिल्लो समय रुपन्देहीमा ईंटा उद्योग धमाधम बन्द भइरहेका छन् । एक दशक अघिसम्म ५२ ईट्टा उद्योग रहेको यो जिल्लामा हाल २६ वटा मात्रै सञ्चालित छन् । बाँकी उद्योग बन्द भइसकेका छन् । जिल्लामा सञ्चालित ईट्टा उद्योगमा करिब १० अर्ब लगानी छ ।