
बुधवार , बैशाख १०, २०८२
भैरहवा, १० वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता तथा प्रतिनिधि सभा सदस्य विराज भक्त श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान हुन नसकेकोप्रति चिन्ता र चासो व्यक्त गरेका छन् ।
सिद्धार्थ सञ्जाज, रुपन्देहीसँगको भेटघाट तथा छलफलमा सांसद् श्रेष्ठले आफूले यसबारे तत्काल अर्थ समितिमा कुरा राख्ने बताए । ‘विमानस्थललाई चलायमान बनाउनैपर्छ, यति ठूलो लगानीमा निर्माण भएको यो विमानस्थल सरकारले चलाउन सकेको छैन, हामी मुकदर्शक भएर हेर्न सक्दनौं, ’उनले भने ।
सिद्धार्थ सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीले सरकारको इच्छाशक्ति नभएको कारण विमानस्थल नियमित सञ्चालन हुन नसकेको बताए । ‘मन्त्रीपरिषद्ले गरेका निर्णयहरु नै कार्यान्यवन भएका छैनन्, ’उनले भने ।
पूर्व युवा तथा खेलकुद मन्त्री समेत रहेका श्रेष्ठले विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारीसँग समेत विमानस्थलको अवस्थाबारे जानकारी लिनुभएको रास्वपा सिद्धार्थनगरका निवर्तमान सभापति तथा क्षेत्र नम्बर ३ का क्षेत्रीय सदस्य सुमन न्यौपानेले बताए ।
सो अवसरमा चेम्बर अफ कमर्स, रुपन्देहीकी महासचिव लक्ष्मी अधिकारी, रास्वपा युवा नेता गणेश पौडेल, रुपन्देही जिल्ला उपसचिव ज्ञानेन्द्र पाण्डे, क्षेत्रीय सदस्य तिलोत्तमा नगर सभापति रुस्तम कंडेल, सिद्धार्थनगर सभापति पर्शुराम पराजुली, नगर कोषाध्यक्ष कृष्ण प्रसाद भण्डारी, सिद्धार्थनगर–९ का सभापति ओम राज पन्त, ८ का सभापति भरत कार्की, डोल प्रसाद भण्डारी लगायतको उपस्थिति थियो ।
छलफलमा सहभागीहरुले विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि संसद्मा जोडदार रुपमा आवाज उठाउन सांसद् श्रेष्ठलाई आग्रह गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij